कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा दरबार पुनर्निर्माण अति सुस्त 

काममा कुनै प्रगति नभएको र तोकिएको म्यादभित्र सम्पन्न गर्ने अवस्थासमेत नदेखिएको भन्दै ठेकेदारसँग स्पष्टीकरण माग

(गोरखा) — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोरखा दरबार पुनर्निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरी ठेकेदार कम्पनी पचली भैरव/शिभा जेभीलाई सम्झौताअनुसार काम अन्त्य गर्नु नपर्नाको उचित कारण भए १५ दिनभित्र स्वयं उपस्थित भई लिखित रूपमा जानकारी गराउन भनेको हो ।

गोरखा दरबार पुनर्निर्माण अति सुस्त 

पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा पनि काममा कुनै प्रगति नभएको र तोकिएको म्यादभित्र सम्पन्न गर्ने अवस्थासमेत नदेखिएको सूचनामा उल्लेख छ । मन्त्रालयले चित्तबुझ्दो स्पष्टीकरण नदिए नियमानुसार करार सम्झौता अन्त्यको कारबाही अगाडि बढाउने जनाएको छ । ठेकेदार कम्पनीले सम्झौताका सर्तअनुसार काम नगरेको पुरातत्त्व विभागले जनाएको छ । ०७४ कात्तिक २९ मा भएको सम्झौतामा ०७६ मंसिर मसान्तभित्र चारतले दरबार बनाउनुपर्ने उल्लेख छ । म्याद सकिँदासम्म भुइँतलाकै काम सकिएको छैन । ०७६ पुस ४ मा पहिलो पटक ६ महिनाको म्याद थप गरिएको थियो ।


समग्रमा ३५ प्रतिशत काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसाल बताउँछन् । ‘भुइँतलाको चारैतिर वाल उठाउने काम लगभग सकिएको छ,’ उनले भने । उनका अनुसार माघ १ बाट काम रोकिएको छ । ‘माघे संक्रान्ति मनाउन गएका कामदार नआएकाले काम रोकिएको छ,’ उनले भने ।


ठेकेदारले काममा निकै ढिलासुस्ती गरेको उनको भनाइ छ । ‘पटक–पटक सचेत गराएका छौं, विभागका प्रतिनिधिसहित बैठक बसेर पनि काममा गति दिनुपर्‍यो भन्यौं,’ उनले भने, ‘तर फिल्डमा काम हुन सकेन, यो तरिकाले थपिएको जेठ मसान्तभित्र पनि काम नसकिने भयो ।’ ठेकेदार कम्पनीले विभागलाई मात्र दोष दिएर पन्छन खोजेको पुरातत्त्व विभागकी अधिकृत मञ्जुसिंह भण्डारीले बताइन् । ‘बीचमा डिजाइनमा केही हेरफेर भएकै हो, त्यो समयबाहेक काम गरेको भए पनि असार मसान्तसम्म पहिलो तलाको काम सकिनुपर्थ्यो, काममा ढिलासुस्ती छ,’ उनले भनिन् ।


मूल दरबार पुनर्निर्माणलाई पूर्णता दिन नसक्दा अन्य संरचना पुनर्निर्माणमा समेत ढिलाइ भएको उनले बताइन् । रंगमहल, कालिका मन्दिर र शीतलपाटीको काम सुरु गर्न नसकिएको उनको भनाइ छ । ‘गोरखा कालिका दरबार पुनर्निर्माण हुने कि नहुने अध्ययनकै क्रममा छ,’ उनले भनिन्, ‘मूल दरबारको काम नसकिँदा अरू सम्पदा पुनर्निर्माणमा पनि असर परेको छ ।’

प्रकाशित : माघ ११, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?