कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहादीमा औद्योगिक ग्राम

(पर्वत) — बिहादी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । प्रदेश सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत ग्राम स्थापना हुन लागेको हो । संघीय मन्त्रिपरिषद्ले ग्राम स्थापनाका लागि स्वीकृति दिइसकेको छ । 

बिहादीमा औद्योगिक ग्राम

औद्योगिक ग्रामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९२ लाख रकम विनियोजन र गाउँपालिकासँग सम्झौता गरेको छ । प्रस्ताव अनुसारको रकम प्राप्त भइसकेकाले छिटै कार्यक्रम सुरु गरिने गाउँपालिकाले जनाएको छ । औद्योगिक ग्राम सञ्चालनका लागि करिब ९० रोपनीभन्दा बढी जग्गा छनोट भइसकेको छ । ‘संघ र प्रदेश सरकारको नीतिअनुसार प्रस्ताव मागेपछि हामीले पेस गरेका थियौं,’ गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले भने, ‘पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाउँदै छौं । बजेट पनि आइसकेको छ ।’


औद्योगिक ग्रामका लागि साबिकको रानीपानी र बर्राचौर गाविसको सिमानामा पर्याप्त सार्वजनिक जमिन छ । कालीगण्डकी लोकमार्गसँग जोडिएको हुनाले यातायातलगायत सबै पूर्वाधार सहजै उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । तत्कालका लागि उद्योग, व्यवसाय सञ्चालन गर्न मिल्ने गरी जग्गा सम्याउने, घेराबारा लगाउने, सडक, पानी र विद्युत् लगायतका पूर्वाधार विकास गर्ने योजना छ । ‘आवश्यकताअनुसार अरु जग्गा थप्न सकिन्छ,’ अध्यक्ष भुषालले भने ।


औद्योगिक ग्राम सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ अनुदान दिने गरी कार्यविधि तयार भएको जनाएको छ । थप रकम गाउँपालिकाले लगानी गर्नेगरी परियोजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए ।


‘औद्योगिक ग्रामको मोडल यकिन भइसकेको छैन,’ उनले भने, ‘अन्यत्र जसरी नै अघि बढ्ने हो ।’ औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चापदार्थ, अर्धप्रशोधित कच्चापदार्थ वा खेर गएको वस्तु प्रयोग र प्रशोधन गर्ने उद्योग सञ्चालन हुनेछ । कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया, कफी, फलफूल र जडीबुटी लगायत वस्तु प्रयोग तथा प्रशोधन गर्ने उत्पादनमूलक उद्योग स्थापना गर्ने गाउँपालिकाको उद्देश्य छ ।


प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उद्योग तथा काठ, बेतबाँसबाट बन्ने फर्निचर उत्पादन गरिने उद्योग सञ्चालन गर्न सकिनेछ । त्यस्तै सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माणसँग सम्बन्धित उद्योग, बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिने जनाइएको छ । औद्योगिक ग्राम सञ्चालन हुने भएपछि स्थानीय युवा पनि उत्साहित छन् । स्थानीय हेमनाथ पराजुलीले भने, ‘व्यवसाय गर्न चाहने युवाले अब पूर्वाधारका कारण समस्या झेल्न नपर्ने अपेक्षा छ ।’

प्रकाशित : माघ ११, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?