कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मनाङमा मान्छे कमै छन्’

आश गुरुङ

लमजुङ — कहिले बाक्लो त कहिले पातलो हिउँ परिरहेको छ । स्थानीयको आवतजावत छैन । मनाङमा आजभोलिको दृश्य हो यो । ‘धेरै जना चिसो छल्न सहरबजार झरेर पनि होला,’ माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङलोप्साङ गुरुङले भने, ‘मनाङमा मान्छे कमै छन् ।’ उनका अनुसार हिमपातले माथिल्लो मनाङ पूरै छोपिएको छ । हिउँ नपरेको कुनै ठाउँ छैन । 

‘मनाङमा मान्छे कमै छन्’

हिमपातले सडक, पदमार्ग र घर सबै छोपिएको छ, चिसो बढेको छ । ‘हिउँ कतैकतै दुई फिटसम्म जमेको देख्छु । एक फिट त जताततै छ,’ उनले भने । यसअघिकै हिउँ पग्लिनसकेको अवस्थामा बिहीबार हिउँ थपिएको उनले बताए ।सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजी क्षत्रीका अनुसार मंसिर २७, २८ र २९ गते परेको हिउँ पग्लिन नपाउँदै साताअघि हिमपात भयो । यसअघि पुस १७ र १८ गते हिमपात भएको थियो । उनले भने, ‘हिमपातपछि गस्ती, पीटी र परेड लगायत रोकिएको छ ।’


प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बिहीबार बिहानैबाट परेको हिमपातले जनजीवन कष्टपूर्ण बनाएको छ । चिसोले कार्यालयको काम सम्पादनमा समेत समस्या परेको उनले बताए । ‘तल्लो मनाङको दानक्युदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । कहीं निस्कनै सकिएको छैन’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार हिमपातपछि पर्यटकलाई गन्तव्यमा नजान भनिएको छ । ‘पर्यटक छिटफुट आइरहेका थिए । हिउँ परेपछि गन्तव्यमा जाने कुरा भएन,’ उनले भने ।


चामेमा टेलिफोन अवरुद्ध

हिमपातका कारण मनाङ सदरमुकाम चामेमा टेलिफोन तथा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवासमेत अवरुद्ध भएपछि सरकारी तथा गैररकारी कार्यालयका कामकाज ठप्प छन् । चामेमा सातायता टेलिफोन अवरुद्ध भएको सशस्त्र प्रहरीका डीएसपी क्षत्रीले बताए । ‘हिमपातको समय दुर्घटना हुन सक्छ । टेलिफोन सेवा अवरुद्ध हुँदा समस्या भएको छ,’ उनले भने ।


प्रजिअ पौडेलले सञ्चार अवरुद्ध भएपछि सबै कार्यालयको कामकाज ठप्प भएको बताए । ‘फोन, इन्टरनेट र फ्याक्स छैन । बाहिरी सूचना र समाचार हेर्न पाएका छैनौं । यहाँबाट पठाउनुपर्ने कतिपय सूचना यतिकै छन् । इन्टरनेट नहुँदा सफ्टवेयरबाट काम गर्ने कार्यालय समस्यामा परेका छन्,’ उनले भने । नेपाल टेलिकम मनाङ शाखाका प्रमुख ङिमाङिटु लामाका अनुसार तल्लो मनाङ क्षेत्रस्थित रिपिटर टावर हिमपातले पुरिएको छ । सोलार हिउँले पुरिएपछि समस्या आएको छ । माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही ठाउँमा स्याटलाइटबाट सेवा प्रदान गरिएको उनले बताए ।

प्रकाशित : माघ ३, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?