कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारभित्रै कैदी–बन्दीलाई योग

आश गुरुङ

लमजुङ — कारागारका कैदी महेन्द्र गुरुङ साबिकभन्दा चाँडै उठे । शौचालय गएर हातमुख धोएपछि उनी राति ओछ्याउने म्याट लिएर बाहिर निस्कए । राजन पोखरेल बिहानै केही राम्रा लुगा लगाएर चिरिच्याट्ट परेर निस्किए । उनीहरु एकबिहानै कारागारको प्रांगणमा जम्मा भए । महेन्द्र र राजनमात्रै होइन, कारागारमा रहेका ७४ जना कैदी बन्दी पालैपालो गरी र कोही एकसाथ बाहिर निस्किए । 

कारागारभित्रै कैदी–बन्दीलाई योग

त्रिपाल बिछ्याएर सबैजना भेला भएर आ–आफ्ना ठाउँमा बसे । बाहुनडाँडास्थित पानी नुनखानी आयुर्वेद औषधालयका वैद्य निरीक्षक सुनिल तिवारीले जे भन्दै गए, कैदी बन्दीले त्यस्तै गरिरहे । यो क्रम करिब ४५ मिनेट चल्यो । कैदी बन्दीसँगै सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, स्वास्थ्य कार्यालयका अधिकृत अमर दवाडीलगायत सरकारी अधिकारीले योग गरे ।


महेन्द्रका अनुसार कारागारको चौघेरोभित्र दौडिने, खेल्ने ठाउँ फराकिलो नहुँदा शरीरलाई समस्या थियो । हिजो आफूले गरेको गल्ती मनमा झलझली आइरहन्थ्यो । ‘म पूरै समय योगमा बसेँ । शरीरमा केही फुर्ती आयो । केही आनन्दको महसुस भयो,’ उनले भने । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार कारागारका कैदी बन्दीलाई शारीरिक तथा मानसिक समस्याबाट छुटकारा दिलाउन शारीरिक व्यायाम चाहिने बताए । ‘योग पनि एउटा व्यायाम हो । यसले तनमन दुवैलाई फाइदा गर्छ ।’


कारागारका जेलर विष्णुप्रसाद पौडेलका अनुसार कारागारमा ७४ पुरुष र ८ महिला गरी ८२ जना कैदीबन्दी छन् । क्षमता ३५ जनाको हो । ‘यहाँ सबैजना एकैचोटी निस्कँदा हिँड्नसमेत गाह्रो पर्छ । व्यवस्थित गरेर व्यायाम गराउँदा सहज हुने योगले सिकाएको छ,’ उनले भने । उनका अनुसार महिला कैदीबन्दीले भने योगामा सहभागिता जनाएनन् ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले शरीर र मन दुवै स्वस्थ राख्न योग आवश्यक रहेको बताए । ‘योगले मानिसलाई शारीरिक र मानसिक दुवै फाइदा गर्छ । स्वस्थ्य शरीर र शुद्ध मनका लागि योगा आवश्यक छ,’ राष्ट्रिय योग दिवस जिल्ला समारोह समितिका संयोजकसमेत रहेका उनले भने । लमजुङ योग एवं प्राकृतिक चिकित्सा प्रशिक्षण केन्द्रका निर्देशक तेजनारायण अधिकारीले मानसिक शान्तिको लागि योग आवश्यक रहेको बताए । पतञ्जली योग समितिका अध्यक्ष अंगराज घिमिरेले योग प्राचीन परम्परा भएको बताए । ‘खानपान र शारीरिक व्यायाम नगर्दा मानव शरीरमा आक्रमण गर्ने कतिपय रोग तथा समस्या योगले समाधान गर्न सकेको छ,’ उनले दाबी गरे ।

प्रकाशित : माघ २, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?