कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीत गाउँदै, पीरमर्का पोख्दै

माघीमा थारु समुदायले वर्षभरिको कामको समीक्षा, योजना र आर्थिक कारोबारको छिनोफानो गर्छन्
नवीन पौडेल

(नवलपुर) — नवलपुरको थारू समुदायमा माघी पर्वको रौनक छाएको छ । थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने यो पर्वमा कामका लागि घर बाहिर गएका फर्किने गरेका छन् । परिवारका सदस्य र आफन्तबीच भेटघाट गरी रमाइलो गर्ने गरिएको छ । 

माघीका अवसरमा आफ्ना संस्कृतिबारे जानकारी दिन जिल्लाभर माघी महोत्सव तथा संस्कृति आदानप्रदानका कार्यक्रम हुन थालेको छ । माघीमा पहिले पहिले गाउँको मुखिया चुन्ने प्रचलन थियो । मुखिया चुनेपछि उसले चौकीदार र गाउँमा कसले के गर्ने भन्ने जिम्मेवारी दिन्थ्यो ।


अहिले त्यो परम्परा हटेको भए पनि माघीमा थारु समुदायले वर्षदिनभरिको कामको समीक्षा, योजना र आर्थिक कारोबारको छिनोफानो गर्छन् । अघिल्लो दिन मछवारीको दिन माछा मारेर माघे संक्रान्तिको दिनमा दिदीबहिनी, आफन्त र गाउँका अगुवा बोलाएर गीत गाउँदै पीरमर्का पोख्ने र रमाइलो गर्ने प्रचलन छ ।


केही वर्ष अघिसम्म आफ्नो पर्व तथा भेषभूषाबारे पत्तो नै नभएका थारू समुदायका युवा अहिले भने माघी पर्वको संरक्षण तथा मौलिक संस्कृतिको जगेर्नामा जुटेका छन् । पूर्वी नवलपरासीको अमलटारीमा थारु होमस्टे स्थापना गरिएको छ, जहाँबाट हराउँदै गएको थारू संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र मौलिक संस्कृतिमा युवाको आकर्षण बढाउने काम गरिएको छ । होमस्टेमा आउने पाहुनालाई थारू नाच, संस्कार र भेषभूषा प्रदर्शन गरेर आकर्षित गर्न थालिएको छ ।


होमस्टेका व्यवस्थापक धनिराम महतोलाई हराउँदै गएको थारु संस्कृति र माघीको परम्परागत मूल्यमान्यता केही वर्ष अघिसम्म राम्ररी थाहा थिएन । तर अहिले पुराना पुस्ताबाट नयाँ पुस्तालाई तालिम तथा सँस्कृति रक्षाका लागि अग्रसर बनाएपछि भाषा र संस्कृतिबारे बल्ल ज्ञान भएको छ । ‘धेरै युवालाई मातृभाषा बोल्न समेत आउने थिएन, पर्व पनि रमाइलोका लागि मात्र मनाउने प्रचलन थियो,’ उनले भने, ‘अहिले आफ्नो मौलिक संस्कृति हेर्न पर्यटक आउन थालेपछि सबै युवाले पर्वको महत्व बुझ्न थालेका छन् ।’

प्रकाशित : माघ १, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

पाङदुरे जोगाउँदै कुमाल

हरिराम उप्रेती

(गोरखा) — सडकमा जाल खेल्दै र बाटो देखाउँदै थिए, भलराम कुमाल । उनलाई पछ्याउँदै थियो, पाङदुरे नाच समूह । गोरखा–१२ रानीटारको कुमाल सुधार समाजले पृथ्वी जयन्तीको अवसरमा गोरखा सदरमुकाममा गरेको कार्यक्रमको दृश्य हो यो ।

‘माछा मार्ने हाम्रो पुर्ख्यौली पेशा हो,’ भलरामले थपे, ‘जाल हान्दै आफ्नो पहिचान देखाउन खोजेको पाङदुरे पुरानो नाच हो ।’ कुमाल सुधार समाजले लोप हुन लागेको पाङदुरे नाच जोगाउन कार्यक्रम गर्दै आएका छन् । जिल्लामा हुने सभासमारोहमा नाच प्रस्तुत गर्छन् । गाउँको पूजा तथा शुभ कार्यमा त उनीहरूलाई नसम्झिई सुखै छैन । ‘बाबुबाजेकै पालादेखिको नाच हो,’ भलरामले भने, ‘हाम्रो यो संस्कृति हराएको छैन ।’

सेतो कमिज, स्टकोट, जामा र टाउकोमा पगरी गुथेर भारतेको भूमिकामा थिए सीताराम कुमाल । चोली र गउनमा सजिएका दुई युवतीले मारुनीको भूमिका निर्वाह गरे । ‘दुई मारुनी अनिवार्य चाहिन्छ,’ सीतारामले भने, ‘बीचमा नाच्नेलाई भारते भन्छन्, दायाँबायाँ नाच्ने मारुनी हुन् ।’ घन्टौं फन्को मार्दा पनि सीतारामले थकानको महसुस गरेनन् । बरु सिक्दै गरेको मारुनीलाई हौसला थपे ।

मादल र गीतको तालमा आफू पनि नाच्ने र मारुनीको पनि लय मिलाउन तल्लीन देखिन्थे । मारुनीका भूमिकामा थिए दीपा र सुशीला कुमाल । उनीहरूलाई पाका पुस्ताले मारुनी नाच्न सिकाएका हुन् । गउन र चोलो लगार सजिएका मारुनीको रेखदेखमा खटिएकी थिइन्, हरिमाया कुमाल । पटुकी, नौगेडी माला पनि लगाउनुपर्ने उनले बताइन् । नाच प्रस्तुत गर्ने समूहले कुमाल समुदायको पहिचान झल्कने पोसाक लगाउने गरेको उनले सुनाइन् । ‘कहिलेकाहीँ नाच्दानाच्दै लुगा बिग्रन सक्छ, मिलाउने मान्छे चाहियो,’ उनले भनिन्, ‘म गीत पनि भन्छु, मारुनी पनि सिंगार्छु ।’ सानो उमेर छँदा मारुनी नाचेको हरिमायालाई अझै हेक्का छ । ‘नाच्दानाच्दै गीत भन्न पनि जानेँ,’ उनले भनिन्, ‘अहिले बुढेसकाल पनि लायो, नाच्न सुहाएन, गीत भन्छु ।’ गाउँका वयस्क उमेर समूहका युवायुवतीलाई पाङदुरे नाच्न सिकाउने उनले बताइन् ।

मादलको ताल काट्दै र पाङदुरे नाच्दै गरेका भारते र मारुनीलाई मानबहादुर कुमालले हौसला थप्दै थिए । अन्य समयमा भारतेको भूमिकामा पनि देखिने मानबहादुर आइतबार भने मादल बजाउँदै मारुनीको बीचमा छिरेर अघिपछि गर्दै नाचे । ‘गाउँका हामी दुई/तीन जना भारतेको भूमिका पनि निर्वाह गर्न सक्ने खालका छौँ,’ उनले भने, ‘यो नाचमा सबैभन्दा ठूलो भूमिका भारतेकै हुन्छ ।’ गीत बुझेर ८ वटा तालमा नाच्नुपर्ने उनले बताए । ‘आफू मात्र नाचेर भएर मारुनीलाई पनि हेर्नुपर्‍यो,’ उनले थपे, ‘फेरि यो झ्याउरे तालमा जस्तो नाच्न पनि मिल्दैन ।’ मादल र झ्याली अनिवार्य चाहिने गरेको उनले बताए । गीत भने जति जनाले गाउन पनि मिल्ने उनले बताए ।

पाङदुरे नाच्दा गाउने गीत कुमाल भाषाकै हुने टोपबहादुर कुमालले बताए । यसरी गाउँदै हिँड्दा भाषा संरक्षणमा पनि सघाएको उनले बताए । ‘देवीदेवता पुकारेर गीत सुरु हुन्छ,’ उनले भने, ‘हामी कुमाल जातिकै भाषामा गीत भन्छौँ, यो गाउन सके हाम्रो भाषामा पोख्त भइन्छ ।’ गाउँमा हुने शुभकार्य पूजा, व्रतबन्ध तथा सार्वजनिक कार्यक्रममा उक्त नाच प्रस्तुत गर्दै आएका छन् । नाच प्रस्तुत गरेबापत गच्छेअनुसार दक्षिणा पनि दिने उनले बताए । ‘नयाँ पुस्ता पनि यसतर्फ आकर्षित भएका छन्,’ उनले भने ।

प्रकाशित : माघ १, २०७६ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×