काँप्दै पढ्छन् विद्यार्थी

क्व्होलासोंथर गाउँपालिका–४ स्थित कमा प्राविको जीर्ण भवनमा ढोका ह्वांगै छन् । टिनको छानोमुनि विद्यार्थी एकसरो लुगाले जाडो कटाइरहेछन् ।
आश गुरुङ

लमजुङ — जाडो महिना । झ्यालढोका खुल्लै । एकसरो लुगामा दिनभरि टिनको छानोमुनि । लमजुङ हिमाल र मिदिमखोलाबाट आउने सिरेटो सोझै कक्षामा पस्छ । लुगलुग काँप्दै पढ्छन् विद्यार्थी । केहीका स्कुल पोसाक च्यातिएका छन् ।

ZenTravel

अझ आकाशबाट पानी बर्सिंदा टिनको ओतमा बसेका बालबालिका निथ्रुक्क भिजेर घर पुग्छन् । घरबाट आएपछि अपराह्न ४ बजेसम्म पानीबाहेक केही खान पाउँदैनन् । स्कुल छुट्टी भएपछि उकालो बाटो हस्याङ–फस्याङ गर्दै घरतिर लाग्छन् ।

क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा पर्छ कमागाउँ । बेंसीसहरबाट भुजुङसम्म जिप र मोटरसाइकल चल्छ । भुजुङबाट साँढे २ घण्टामा पुगिन्छ कमागाउँ । मोटरबाटो पुगेको छैन । कमा आधारभूत (प्रावि) विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । बाँकी कक्षा पढ्न २ घण्टा लगाएर पसगाउँ वा भुजुङ पुग्नुपर्ने बाध्यता छ । भुजुङमा सानो कक्षाका बालबालिका राख्ने छात्रावास नहुँदा २२ विद्यार्थीलाई पसगाउँको छात्रावासमा राखेर ५ देखि १० कक्षासम्म पढाइएको छ । कमा प्राविमा २० विद्यार्थी छन् । जाडोको समय बालबालिकालाई निकै समस्या परेको कार्यालय सहयोगी पूर्णकुमारी गुरुङले बताइन् । उनका अनुसार स्कुलमा खाजाको व्यवस्था नहुँदा बालबालिका कहिलेकाहीँ पढ्नै आउँदैनन् ।

प्रधानाध्यापक पशुपति सदायका अनुसार पढ्न कक्षाकोठाको व्यवस्था छ । तर, ४ वटा कोठा जीर्ण छन् । २०४५ सालमै बनेका कक्षाकोठा र फर्निचरका भरमा पढाउनुपरेको उनले बताए । सदायका अनुसार विद्यालयको भौतिक संरचना कमजोर छ । विद्यार्थीको प्रश्नपत्र हातले लेखेर दिनुपर्ने अवस्था छ । ‘फोटोकपी मेसिन छैन । न कम्प्युटर छ । गाउँको स्कुलमा गयो, यता पढाइ छुट्ने । निकै समस्या छ,’ उनले भने । कक्षाकोठामा ढोका छैनन् ।

विद्यालयमा गेट छैन । ‘कहिलेकाहीँ त गाइभैंसी र गोरु आँगनमै आइदिन्छन् । बालबच्चालाई हानिदेला भन्ने डर,’ उनले भने । कमा प्राविमा २ जनाको दरबन्दी छ । तीमध्ये बाल विकास केन्द्रीय सहयोगी कार्यकर्ता फूलमाया मिजार सुत्केरी बिदामा छन् । शिक्षक कम हुँदा पठनपाठनमा समस्या परेको सदायले बताए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष टेकबहादुर गुरुङका अनुसार केही वर्षअघि बनेको भवनको पिँढीमा भूकम्पले क्षति पुर्‍याएको छ । त्यस्तै ठाउँमा राखेर पठनपाठन गराउनुपरेको उनले सुनाए ।

विद्यालय सहयोगी पूर्णकुमारी गुरुङले कक्षाकोठाअनुसार शिक्षक नहुँदा आफैंले पढाउनुपरेको गुनासो गरिन् । ‘पढाउँदै गर्दा बालबच्चा काँपिरहेको देख्छु । बाबुनानीलाई हेर्दा आफैंलाई जाडो हुन्छ,’ उनले भनिन्, ‘न विद्यालयको भौतिक संरचना राम्रो छ । न बालबालिकाले सहजै पढ्न पाएका छन् ।’

प्रकाशित : पुस २८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एउटै शाखामा २ जना हाकिम

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ३, खुदीस्थित खुदी स्वास्थ्य चौकीका प्रमुख परमेश्वर पिया स्थानीय तह गठनपछि २०७४ असारमा बेंसीसहर नगरपालिकाको स्वास्थ्य शाखामा काज सरुवा भएर आए ।

उनले स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी सम्हाले। स्वास्थ्य कार्यालयमा कार्यरत मनोजसिंह बोहराले समायोजनमा बेंसीसहर नगरपालिका रोजे। उनी दशैंताका नगरपालिकाको स्वास्थ्य शाखा संयोजक भएर आए। समायोजनमा सुन्दरबजार नगरपालिकामा पर्‍यो। नरोजेको नगरपालिकामा पठाएको भन्दै उनले बेंसीसहर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको कुर्सी छोडेका छैनन्। नगरपालिकाको वेबसाइटमा स्वास्थ्य शाखा संयोजकमा पियाकै नाम छ।

दुवैजना जनस्वास्थ्य अधिकृत (सातौं तह) का कर्मचारी हुन्। सुन्दरबजार नगरपालिकामा समायोजन भएका पियाले स्वास्थ्य कार्यालयमा रहेको पत्र बुझेका छैनन्। ‘समायोजनमा मैले बेंसीसहर रोजेको हुा। मलाई सुन्दरबजार पठाएपछि गुनासो भरेको छु। बेंसीसहर नै कायम गरी पाउँ भनेको छु’, पियाले भने। उनले तलब खुदी स्वास्थ्य चौकीबाट लिइरहेका छन्। उनी प्रमुखको कुर्सीमा बसेर ल्यापटपमा काम गरिरहेका छन्। बोहरा उनकै छेउमा डेस्कटपमा काम गरिरहेका छन्। हस्ताक्षर भने बोहराको चल्ने गरेको छ।

एउटै कार्यालयमा २ जना संयोजक भएपछि मातहातका कर्मचारी अन्यौलमा परेका छन्। स्वास्थ्यको काम सन्तोषजनक रुपमा नभएको टिप्पणी नगरपालिकामा चल्न थालेको छ। ‘दुवैजनाले आ–आफ्नो काम गर्ने हो। दाइले छोड्नु भएको छैन’, बोहराले भने। गुनासो सम्बोधन नभएसम्म कार्यालयमै बस्ने पियाले बताए। ‘मेरो गुनासो सम्बोधन हुनुपर्छ। मैले बेंसीसहर नगरपालिका नै रोजेपछि म कहाँ अन्त जाने’, उनले भने।

नगरपालिकाले आयोजना गर्ने, सरकारी तथा गैरसरकारी कार्यालयले आयोजना गर्ने कार्यक्रममा कहिलेकाहीँ दुवैजना पुग्ने गरेका छन्। कसलाई आसन ग्रहण गर्न लगाउने भन्ने विषयमा आयोजकलाई समस्या पर्ने गरेको छ। कहिलेकाहीँ एकजना पनि पुग्दैनन्।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार छोड्नेले नछोड्दा समस्या भएको छ। ‘कार्यालयमा प्रमुख भनेर २ जना भएपछि स्वास्थ्यको काम हुन सकेको छैन’, उनले भने। मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएर समस्या उत्पन्न गराएको उनले बताए। ‘७ जना चाहिने ठाउँमा ८ जना पठाएको छ। ८ जना नै राख भनेको छ। आवश्यकताअनुसार पो पठाउने हो त’, उनले भने, ‘बढी पठाएर तनावमात्रै दिएको छ।’

प्रकाशित : पुस १०, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×