जलेर घाइते वृद्ध भन्छन्–‘दबाइ खर्च छैन, गाउँ फिर्ता लैजाउ’

हरिराम उप्रेती

(गोरखा) — लेकको ठाउँ, पुसको सिरेठो । बारपाक सुलिकोट गाउँपालिका–७, पाँचखुवा देउरालीस्थित अमलेका ७५ वर्षीय तुला गुरुङ अगेना आडमै बसेर आगो ताप्दै थिए । कतिखेर आफूले लगाएको लुगामा आगो सल्कियो, तुलालाई पत्तै भएन । पुस १५ को बिहान, एक्कासी सुनिएको गुहार–गुहारको आवाजले तुलाका छिमेकी झस्किए ।

जलेर घाइते वृद्ध भन्छन्–‘दबाइ खर्च छैन, गाउँ फिर्ता लैजाउ’

छिमेकमा गफिदै गरेका युवा हतारिँदै तुलाका घर पुगे । ‘शरीरमा लगाएको लुगामा आगो फैलँदै थियो, बाजे हातखुट्टा टेक्दै पिँढीमा बसेर गुहार मागिरहेका थिए,’ स्थानीय ज्ञानेन्द्र गुरुङले भने, ‘आगो निभाउन पानी खोज्ने मेसो पनि पाइन, जकेट फुकालेर आगनमा बजारेँ, यति गर्दा शरीरको आधा भाग जलिसकेको रहेछ ।’


तुलाको शरीरको टोपी र गलबन्दी उद्घारमा आएका गाउँलेले फालिदिएपछि आगो निभ्यो । ‘आगो निभाउदाँ मेरो पनि दुवै हात जलेको छ,’ ज्ञानेन्द्रले भने ।


‘मसिने’ नामले चिनिने तुला बेसहारा हुन् । वृद्घ भत्ताको अलावा निमेक गरेर गुजारा टार्दै आएका थिए । ‘उहाँको बिहे पनि भएको छैन, दाजुभाइ, परिवार कोही छैनन्,’ ज्ञानेन्द्रले भने, ‘छिमेकीको जग्गामा घर बनाएर बस्नुभएको छ, अहिले उपचारका लागि अस्पतालमा कोही छैनन् ।’ गाउँलेले २/२ सय रुपैयाँ उठाएर मलमपट्टी लगाए । तुलाको उपचार गाउँमै गर्दा स्वास्थ्यमा सुधार आएन । गोरखा अस्पताल ल्याइएकोमा चिकित्सकले थप उपचारका लागि चितवन रेफर गरिदिए ।


गाउँलेले केही रकम जम्मा गरेर वृद्घको उपचार थालेका हुन् । ‘आगो निभाउँदा मेरो पनि हात जलेकाले हामी दुवै उपचारका लागि अहिले चितवन मेडिकल कलेजमा छौँ, उहाँको हेरविचार गरिरहेको छु,’ उनले भने । तर, तुलालाई अस्पतालको बसाइ कष्टकर बनेको छ । अस्पतालको खर्च भरथेग गर्न उनीसँग कुनै उपाय छैन । ‘अलि–अलि बोल्न सक्नुहुन्छ, दबाइ खर्च कति लाग्छ, कहाँबाट ल्याउने? बरु मलाई गाउँ फिर्ता लैजाउ भन्दै रुनुहुन्छ,’ ज्ञानेन्द्रले तुलाको बिलौना सुनाए ।


आगोले कम्मरदेखि माथि देब्रेपट्टिको भाग जलेकोले सुत्न र बस्नसमेत उनलाई समस्या भइरहेको छ । ‘अवस्था गम्भीर छ, अगाोले खाएको गहिरो भागलाई खुर्काउनुपर्ने रहेछ, नत्र पाक्ने सम्भावना हुन्छ रे, ड्रेसिङ गर्न शरीर लठ्याएर उपचार भइरहेको छ,’ उनले भने, ‘कहिले डिस्चार्ज हुन्छ, अहिलै भन्नसक्ने अवस्था छैन, पहिलेभन्दा केही सुधार चाहिँ भएको छ ।’


अझै एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले सुझाएपछि गाउँलेलाई उपचार खर्च जुटाउन हम्मे–हम्मे परेको छ । स्थानीय मण्डली युवा क्लबले रकम संकलन अभियान चलाएको छ । ‘करिब ६० हजार संकलन भयो,’ क्लबका अध्यक्ष दिर्घमान गुरुङले भने, ‘बेसाहारा वृद्घको उपचारका लागि सहयोगको अपिल गर्छु ।’


प्रकाशित : पुस २६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?