२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

कालीगण्डकी करिडोरमा पर्यटन योजना

प्रताप रानामगर

दमाैली — कालीगण्डकी करिडोर क्षेत्रका आधा दर्जन गाउँपालिकाले पर्यटन योजना तयार पार्ने भएका छन् । तनहुँमा रिसिङ र घिरिङ्ग गाउँपालिकाले पर्यटन योजना बनाउँदै छन् । सांस्कृतिक गाउँको रुपमा रहेको रिसिङले करिडोर क्षेत्रलाई मध्यनजर गर्दै पर्यटन योजना बनाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 

‘गाउँपालिका पर्यटन योजना बनाउन तयारीमा लागेका छौं,’ उनले भने, ‘अहिले पर्यटकीय क्षेत्रको पहिचान गर्ने काम भइरहेको छ ।’ पर्यटन योजना बनाउन पीपलटारमा तनहुँ र नवलपुरका ६ पालिकाका प्रमुख, पर्यटनविज्ञसँग अन्तरक्रिया र छलफल भइसकेको छ । करिडोरमा सँगसँगै पर्यटन विकास गर्न आआफ्नै किसिमले एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए ।


रिसिङ गाउँ संस्कृति, प्राकृतिक सम्पदाले धनी छ । रिसिङ बाइसे–चौबिसे राज्यमध्ये एक थियो । यहाँ रिसिङे राजाको दरबार, हतियार भण्डारण गर्ने कोतदरबार छन् । दरबार र कोतदरबारको जीर्णोद्धार थालिएको छ । धार्मिक हिसाबले ज्यामिरेमाई र अजम्बरीमाई मन्दिरको पूर्वाधार विकासमा जोड दिइएको छ ।

त्यस्तै दुवुङ र ग्वास्लुङमा भ्युटावर निर्माण गर्ने योजना छ । यस वर्ष पर्यटनमा गाउँपालिकाले करिब ४० लाख बजेट विनियोजन गरेको उनले बताए । पर्यटन योजना बनेपछि आवश्यक बजेट व्यवस्था गरी पर्यटन विकास गर्ने गाउँपालिकाको लक्ष्य छ । नवलपुरको बुलिङटार, बौदिकाली र हुप्सेकोट गाउँपालिका करिडोरमा पर्छन् 

बौदिकालीले पनि पर्यटन योजना बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले बताए । सम्बन्धित पालिकाले पर्यटन योजना बनाई सम्रग कालीगण्डकी करिडोर क्षेत्रको पर्यटन विकासमा सघाउने उनले विश्वास दर्साए ।


करिडोरअर्न्तरत बुलिङ्गटारको घुमारीघाट मुख्य आकर्षण रहेको गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले बताए । ‘पर्यटकीय क्षेत्र बनाउन गाउँपालिका लागेको छ,’ उनले भने, ‘घुमारीघाटको डिपिआर तयार पारिसकेका छौ ।’ घुमारीघाटको समग्र पर्यटन विकास गर्न ५० करोड बजेट आवश्यक रहेको डिपिआरमा उल्लेख छ । घुमारीघाटमा गौपिठधाम निर्माण सुरु गरिएको उनले बताए । गौपिठधाममा मन्दिर बनाउन गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


कालीगण्डकी करिडोरमा पर्यटन योजना निर्माण गरी बजेट व्यवस्था गर्न सके पर्यटकीय चहलपहल हुने सम्भावना रहेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ्गले बताए । करिडोरअन्तर्गत कालीगण्डकीको बालीघाट, केलादीघाट, घुमारीघाट र देवघाट पर्ने भएकाले धार्मिक पर्यटनको पनि सम्भावना रहेको उनले औंल्याए । ‘जैविक विविधता, मगर, दरै समुदायको संस्कृतिसमेत अवलोकन गर्न पाइन्छ,’ उनले भने, ‘कालीगण्डकीमा र्‍याफटिङ्ग, होमस्टे लगायतको प्रचुर सम्भावना छ ।’

प्रकाशित : पुस १९, २०७६ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?