कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

हिउँले ढाकिए बस्ती, मनाङको तापक्रम माइनस ९ डिग्री

चिसोले कष्ट भए पनि एकै मौसममा दोस्रोपटक हिउँ परेपछि बाली सप्रने आशाले किसान खुसी

पोखरा — गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा शुक्रबार व्यापक हिमपात भएको छ । अन्य क्षेत्रमा दिनभरि झरी पर्‍यो । यसअघि मंसिर २७ मा पनि उच्च क्षेत्रमा हिमपात भएको थियो । हिमपातले हिउँदे बालीलाई राहत पुगेको छ । 

हिउँले ढाकिए बस्ती, मनाङको तापक्रम माइनस ९ डिग्री

पर्वतमा बिहीबार रातिदेखि भारी वर्षासँगै लेकाली बस्तीमा शुक्रबार दिनभर हिउँ पर्‍यो । जलजला, मोदी, महाशिला गाउँपालिका र फलेबास नगरपालिकाका केही भाग हिउँले ढाकिएका छन् । जलजला–९ का वडाध्यक्ष गौबहादुर पुर्जाका अनुसार हिमपातपछि स्थानीय घरबाहिर निस्किएका छैनन् ।


मोदी गाउँपालिका–४ क्याङको लेस्पार, सहस्रधारालगायत बस्तीमा हिउँ परेको छ । ‘अहिले छिट्टै हिउँ पर्‍यो,’ क्याङका नरशिंह पुनले भने, ‘मौसम चिसिए पनि शुभ हुने संकेत हो ।’ उनका अनुसार बाली सप्रिने भएकाले पुसमा हिउँ पर्नुलाई स्थानीयले ‘भुमे देउता खुशी भएको’ ठान्छन् ।


फलेबास–१ कार्कीनेटाका भुपेन्द्र पोख्रेलका अनुसार आसपासका जंगल हिउँले ढाकिएका छन् । ‘डहरेलेक र बजार आसपासमा हिउँ पर्‍यो,’ उनले भने । मोदी–२ देउपुरका भुमिराज शर्माका अनुसार भँवरकोट क्षेत्रको जंगलमा बाक्लो हिमपात भएको छ । लेकाली बस्तीहरूमा पानी जमेको छ । धाराबाट पानी नझरेपछि हिउँ तताएर प्रयोग गर्नुपरेको लेकफाँटका तोरण पुर्जाले बताए ।


हिमपातपछि आकासे पानीका भरमा खेती लगाएका किसान खुशी छन् । ‘अहिले खेतीबाली धेरै सप्रिने भयो,’ फलेबास–३ का लोकप्रसाद शर्माले भने । आलु, गहुँ, तोरीलगायत बाली राम्रो हुने अपेक्षा गरेको उनले बताए । प्राविधिक पनि किसानको धारणासँग सहमत छन् । ‘यो समयको हिमपातले माथिल्लो भेगमा आलु, फापर सप्रिन्छ । बिचमा सुन्तला जातको फलफुल,’ कृषि ज्ञानकेन्द्र प्रमुख बासुदेव रेग्मीले भने, ‘तल्लो भेगमा तरकारी, तोरी, गहुँलाई फाइदा गर्छ ।’


बाटो अवरुद्ध

मुस्ताङ र म्याग्दीको उपल्लो हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । पुनहिल, महरे, खोप्रामा हिउँ परेको छ । हिमपातकै कारण दुर्गम बस्ती गुर्जा पैदलमार्गबाट विच्छेद भएको छ । पर्यटकको यात्रा रोकिएको छ । चिसोले वृद्धवृद्धा, बालबालिका र रोगीलाई सास्ती छ । सदरमुकामसहित तल्लो क्षेत्रमा चिसो अत्यधिक बढेको छ । पोखरा–जोमसोम हवाई उडान अवरुद्ध छ । जोमसोमबाट म्याग्दी झर्ने सवारीसाधन लेते क्षेत्रमा रोकिएका छन् । स्थानिय र कर्मचारी घर र कार्यालयमै आगो बालेर बसेका थिए । ‘हिमपात भइरहेको छ । सामान्य हिमपातले यहाँको उत्पादन वृद्धि हुन्छ,’ लोमन्थाङका कृषक साङ्वो गुरुङले भने, ‘तर गत वर्षजस्तो चौरी, भेडा/च्याङ्ग्रा पुरिने गरी बाक्लो हिउँ नपरे हुन्थ्यो ।’


चिसो उत्तरी गोरखाका बासिन्दा पनि बाहिर निस्कन सकेका छैनन् । ‘बिहानैबाट हिउँ परिरह्यो,’ छेकम्पारका पासाङ लामाले टेलिफोनमा भने, ‘घरभित्र आगो तापेर बस्नुको विकल्प छैन ।’ चिसोले वृद्घवृद्घा र बालबालिकालाई समस्यामा पारेको उनले बताए । केही स्थानीय जाडो छल्न सदरमुकाम, काठमाडौंलगायत स्थानतिर झरेका छन् । पशुचौपायको स्याहारमा सकस भएको लामाले बताए । चौंरी, याक, भेडा चरन क्षेत्र लैजान सकिएको छैन । बिही, प्रोक, ल्होमा हिमपातका कारण बाटोमा खच्चडसमेत हिँडाउन सकिएको छैन । धार्चे गाउँपालिका–४ लाप्राकमा पनि दिनभर हिमपात भएको वडाध्यक्ष राज गुरुङले बताए । उत्तरी क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको जिल्ला प्रहरीप्रमुख एसपी ओम अधिकारीले बताए । ‘हिमाल नजिकका सबैजसो बस्तीमा हिमपात भएको छ,’ उनले भने ।


महोत्सव प्रभावित

कास्कीको उपल्लो भेगमा हिमपातले चिसो ह्वात्तै बढेको छ । अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा शुक्रबार बिहानदेखि हिमपात भएको हो । हिमपातले चिसो बढे पनि पर्यटक नरोकिएको अन्नपूर्ण–११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए । मादीको पार्चे, क्रपु डाँडामा शुक्रबार बिहानदेखि बाक्लो हिमपात भएको छ । हिमपातपछि बढेको चिसोले स्थानीय बासिन्दा घरबाहिर निस्कन नसकेको ताङतिङका शिक्षक प्रकाश गुरुङले जनाए । साथै माछापुच्छ्रे गाउँपालिकाको पोथना, पितम देउरालीगायत स्थानमा पनि हिमपात भएको छ ।

पोखरामा शुक्रबार बिहानैदेखि वर्षाले चिसो बढाएपछि स्थानीय घरमै आगो तापेर बसे । नयाँबजारको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटनस्थल नै परिवर्तन गर्नुपर्‍यो । आयोजक पोखरा उद्योग वाणिज्य संघले गैह्रापाटनमा रहेको आफ्नै भवनमा महोत्सव गर्‍यो । क्षेत्रीय हावापानी कार्यालयका अनुसार पोखराको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ । शनिबारसम्म वर्षा रहने र न्यूनतम तापक्रम ६ डिग्रीसम्म झर्ने कार्यालयको अनुमान छ ।

मनाङमा माइनस ९ डिग्री

हिमाली जिल्ला मनाङका सबैजसो स्थानमा भारी हिमपात भएको छ । हिउँले अन्नपूर्ण चक्रीय पदमार्ग अवरुद्ध बनेको छ । नासों गाउँपालिका–९ दानक्युबाट माथि सबै ठाउँमा हिमपात भएको हो । पदमार्गसँगै सडक पनि बन्द भएको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका याङडुङ गुरुङले बताए । उनका अनुसार पशुचौपाया चराउन सकिएको छैन । धारामा खानेपानी जमेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका सरक्षण कार्यलय मनाङका पर्यटन सहायक बृजबहादुर गुरुङका अनुसार हिमपातपछि थोराङ्ला तथा तिलिचो जाने पर्यटक मनाङमै रोकिएका छन् । उनीहरूलाई हिमपातका बेला नहिँड्न आग्रह गरिएको छ । ‘४/५ इन्च हिउँ जमेको छ । चिसो निकै बढेको छ,’ उनले भने । मनाङको तापक्रम शुक्रबार दिउँसो माइनस ९ थियो ।

कामदारलाई सास्ती

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकी ज्ञानुकुमारी श्रीष शुक्रबार कतै नगई बसिन् । ‘घाँसदाउरामा निस्कनुपर्थ्यो, आज सकिएन, गाईभैसीलाई पराल खुवाएका छौं,’ उनले भनिन्, ‘निरन्तर झरी र चिसोले विद्यालय जाने बालबालिका, मेलापात गर्ने खेतालालाई पनि असर गर्‍यो ।’ मध्यपहाडी लोकमार्गको बिहुँ घोडाबाँधे खण्डका कामदारले बिहीबारदेखि नै काम गर्न सकेका छैनन् । पाल टाँगेर बसेका उनीहरू जाडोले बिहुँबासीको घरमा आश्रय खोज्न थालेका छन् ।


घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुनबाण गण पनि सेताम्मे छ । ‘नियमित काम गरिरहेकै छौं तर निकै कष्टकर छ,’ प्रमुख सेनानी भुवनराज देवकोटाले भने, ‘अझै हिउँ पर्ने सम्भावना छ, एक फिट हिउँ पग्लिन पनि दुई दिन लाग्न सक्छ ।’ ताराखोला गाउँपालिकाका अधिकांश भूभाग, घुम्टे, गाजादह, हाँडीकोट, भकुण्डे, संसारकोटसमेत हिउँले ढाकिएका छन् । ढोरपाटनमा भने मंसिर पहिलो सातादेखि नै हिउँ परेकोले स्थानीय बोबाङ झरेका छन् । घर कुर्ने एक–दुई जना मात्रै बस्छन् । तिब्बती शरणार्थी, सिकार आरक्षका कर्मचारी र ब्यारेकका सैनिक कष्टले दिन काटिरहेका छन् । नेपाल प्रहरीको चौकी भने बस्ती सरेपछि बोबाङमै झरेको प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।

झरीले बागलुङमा सञ्चालित छैटौं महोत्सव प्रभावित भएको छ । त्यहाँका सबै व्यापारिक स्टल सुरक्षित स्थानमा सारिएको छ । बोलाइएका कलाकार कोही फर्केका छन् भने कोही होटल खोजेर बसेको आयोजक बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए ।

(अगन्धर तिवारी/पर्वत, घनश्याम खड्का/म्याग्दी, हरिराम उप्रेती/गोरखा, दीपक परियार/पोखरा, आश गुरुङ/लमजुङ र प्रकाश बराल/बागलुङ)

प्रकाशित : पुस १९, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?