कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेट पुनर्लेखनको माग राख्दै वाग्मती प्रदेशसभामा कांग्रेसको अवरोध

मकवानपुर — आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेको छ । आगामी आवको बजेटमाथिको छलफल सुरु भएसँगै बिहीबार कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बोल्नका लागि विशेष समयको माग गरेका थिए । 

बजेट पुनर्लेखनको माग राख्दै वाग्मती प्रदेशसभामा कांग्रेसको अवरोध

सदनमा बजेटको विषयमा फरक मत राख्दै उनले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखे । उनले आफ्नो माग पूरा नभएसम्म सदनमा बजेटमाथिको छलफल अगाडि नबढ्ने चेतावनीसमेत दिए । उनको बोल्ने समय सकिएलगत्तै कांग्रेस सांसदहरुले उठेर सदनमा विरोध जनाएका थिए ।

सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गर्न खोजे पनि कांग्रेस सांसदहरुले सदनमा नाराबाजी गरेपछि ३ बजेसम्मका लागि वैठक स्थगित गरेका छन् । आर्थिक रूपमा तालमेल नमिलेको, आफूहरुलाई उपलब्ध गराएको बजेट पुस्तिका गलत भएको, अर्थ विविधि शीर्षकको बजेट लुकाइएको आरोप लगाए । ‘यो बजेट स्वीकार्न सकिँदैन । पुनर्लेखन गरेर अर्को बजेट पुस्तिका नल्याएसम्म सदन अगाडि बढ्न दिँदैनौँ,’ उनले भने । आय र व्यय नै नमिलेको कारण बजेट पुनर्लेखन गर्नुपर्ने अवस्था आएको बताए ।

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बिहान ११ बजेका लागि प्रदेशसभा बैठक डाकिएको थियो । बैठकमा प्रदेश सरकारको आगामी आवको बजेटमाथिको छलफल सुरु गर्ने तयारी गरेको थियो । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेटमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न खोजे पनि विपक्षीको अवरोधका कारण सम्भव भएन ।

सरकारले असार १ गते प्रदेशसभा बैठकमा आगामी आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट पेश गरेको थियो । प्रदेश सरकारले चालु आवको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट सदनमा पेस भएको हो । सरकारले आगामी आवका लागि कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : असार ६, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×