कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

नुवाकोटमा वृद्धाको हत्या आरोपी पक्राउ

रासस

त्रिशूली (नुवाकोट) — नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेको छ ।

७५ वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

नुवाकोटमा वृद्धाको हत्या आरोपी पक्राउ

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले जानकारी दिए । 'लामो समयदेखि लागूऔषध दुर्व्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ,' उनले भने, 'वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।'

वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार रुपैयाँ र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जंगलबाट प्रहरीले बरामद गरेको थियो । 'गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ,' प्रहरी प्रमुख थापाले भने, 'नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।'

एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजेतिर हत्या भए पनि छिमेकीले मंगलबारमात्र थाहा पाएका थिए । सो घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २०, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?