१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सिन्धुली र सिन्धुपाल्चोकमा गठबन्धनको ‘क्लिन स्विप’

सिन्धुली‚ सिन्धुपाल्चोक — सिन्धुली र सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख प्रतिस्पर्धी एमालेलाई पछि पार्दै प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस र माओवादीले जित हात पारेका हुन् ।

सिन्धुली र सिन्धुपाल्चोकमा गठबन्धनको ‘क्लिन स्विप’

सिन्धुली क्षेत्र–१ मा कांग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३ सय ९१ मत प्राप्त गर्दै विजयी भए । कांग्रेस केन्द्रीय सदस्य तथा लेखा समिति संयोजकसमेत रहेका उनी गत निर्वाचनमा प्रदेशसभातर्फ क्षेत्र–१ (२) मा एमालेका प्रदीप कटुवालसँग पराजित भएका थिए । यसपल्ट उनै कटुवाललाई पछि पार्दै उनी पहिलो पटक संघीय संसद् प्रवेश गर्ने भएका हुन् । कटुवालले २५ हजार ५ सय ४६ मत मात्रै प्राप्त गरे ।

क्षेत्र–२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहालले २७ हजार ५ सय १७ मतसहित संसद्को सिट सुरक्षित गरे । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा सिन्धुली–१ मा उनी पराजित भएका थिए । २०७४ मा भने क्षेत्र–१ (१) मा वाम गठबन्धनबाट उम्मेदवार भई उनी प्रदेशसभा सदस्य चुनिएका थिए । प्रतिनिधिसभामा उनको पनि यो पहिलो यात्रा हो । लगातार २ पटक निर्वाचन जितेका हरिबोल गजुरेललाई पछि पार्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको विश्वास जितेर टिकट हत्याएका थिए ।

प्रदेशसभातर्फ क्षेत्र–१ (१) मा पनि माओवादीकै मातृकाप्रसाद भट्टराई विजयी भए । क्षेत्र–१ (२) मा कांग्रेसका रामकुमार पहाडीले जितको झन्डा गाडे । पहाडी २०४९ मा तत्कालीन खाङसाङ गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए । यसपल्ट एमालेका कुमारबहादुर कार्कीलाई २ हजार २ सय २२ मतान्तरले पराजित गर्न उनी सफल भएका हुन् । क्षेत्र–२ (१) मा विजयी छेत्रबहादुर बम्जन निर्माण व्यवसायी पनि हुन् । एमालेका विनोदकुमार

खड्कालाई ५ हजार १ सय ५४ मतान्तरले पराजित गर्दै उनी पनि पहिलो पटक प्रदेश सांसद बनेका छन् । उनी २०७४ को निर्वाचनमा क्षेत्र–२ (२) मा माओवादीका बुद्धिमान माझीसँग पराजित भएका थिए । अहिले पनि क्षेत्र–२ (२) मा माओवादी नै विजयी भएको छ । माओवादीका गंगानारायण श्रेष्ठले १६ वर्षपछि संसदीय राजनीतिमा पुनरागमन गरेका छन् । उनी २०६३ को अन्तरिम संसद् सदस्य भएका थिए तर २०७० मा कांग्रेसका मोहन बरालसँग हार व्यहोरेका थिए । नेपाल समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका श्रेष्ठ अहिले माओवादीको चिह्नबाट चुनावी मैदानमा थिए । १३ हजार १ मत ल्याएर उनले एमालेका रामकुमार पौडेललाई पराजित गरेका हुन् ।

यसैबीच, सिन्धुपाल्चोक–२ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले पूर्वमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरमा हराएका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा तामाङको पक्षमा २७ हजार ४ सय ९३ मत मात्रै गएको थियो । योसँगै जिल्लाका सबै क्षेत्रमा सत्ता गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ ।

नेता बस्नेत गठबन्धनको बलमा विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र (सिन्धुपाल्चोक–१) परिवर्तन गरेर चुनावी मैदानमा होमिएका थिए । २०७४ को निर्वाचनमा क्षेत्र–२ मा कांग्रेसले उम्मेदवारी नै दिएको थिएन । कांग्रेसको समर्थनमा उठेका राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणा एमालेका तामाङसँगै पराजित भएका थिए । तामाङ २०७० मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तर, जितको ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई यसपल्ट भने बस्नेतले रोकिदिएका हुन् । ‘यस क्षेत्रमा ६४ वर्षपछि कांग्रेसको कमब्याक भएको छ, यो स्थानीय मतदाताको मप्रतिको ठूलो विश्वास हो, प्रत्येक प्रतिबद्धता पुरा गर्न म लाग्नेछु,’ बस्नेतले भने ।

यसैगरी, क्षेत्र–१ मा माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी एमालेका सरेश नेपालले २७ हजार १८ मात्रै मत ल्याउन सके ।प्रदेशसभातर्फ माओवादीका युवराज दूलाल र सरल सहयात्री पौडेल तथा कांग्रेसका कृष्णबहादुर तामाङ र मसिना खड्का चुनिएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?