कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उमाकुण्डको पीडा : फोन टिप्दैन, इन्टरनेट छैन

टीका भट्ट

रामेछाप — रामेछापको उमाकुण्डमा फोन टिप्दैन । इन्टरनेटको सुविधा छैन । बिरामी पर्दा एम्बुलेन्सलाई खबर गर्न पनि मुस्किल भएको छ । ‘सेवा छैन भनौँ कहिलेकाहीँ पिलिक्क आउँछ पनि,’ बाम्तीका चुणामणि श्रेष्ठ भन्छन्, ‘छ भनौं आज कैयौं दिन भइसक्यो सम्पर्क हुन सकेको छैन ।’

श्रेष्ठका अनुसार देउराली डाँडाको टावर मर्मत नहुँदा नेपाल टेलिकमको कुनै पनि सेवा प्रभावकारी नभएको हो ।

जिल्लाको सबैभन्दा दुर्गम मानिने उमाकुण्डमा सञ्चार सेवा प्रभावित हुदा अधिकांश काम प्रभावित हुने गरेका छन् । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार भन्छन्, ‘हामीलाई टेलिफोन सम्पर्क नभएर बारम्बार समस्या भइरहेको छ । फोन र इन्टरनेट सेवा नै चल्दैन कसरी मिटिङमा सहभागी हुने । कसरी पालिकाका अन्य भागमा समन्वय गर्ने ?’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिने निर्देशनलगायतका जानकारी पाउन पनि समस्या भएको सुनुवारले गुनासो गरे ।

गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिती, भुजी र गुप्तेश्वर गरेर ७ वडामै टेलिफोन सेवा प्रभावहीन भएको महिनौं भएको छ । वडा नम्बर–६, गुप्तेश्वरका वडाध्यक्ष कृष्णकुमार सुनुवार भन्छन्, ‘टेलिफोन गर्न घरबाट धाएरै डाँडामा पुग्नुपर्छ । बिरामी पर्दा एम्बुलेन्स बोलाउन पनि सकिँदैन । कहिलेसम्म डाँडा चढ्नु पर्ने हो ?’

सोमबार उमाकुण्ड पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग गाउँपालिकाका अध्यक्ष सुनुवारले टेलिफोन सेवा प्रभावकारी रुपमा सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन् । प्रजिअ शर्माले उक्त समस्याका बारेमा जानकारी लिएर आवश्यक सुधारका लागि प्रयास गर्ने बताइन् ।

नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले बाम्तीको देउरालीस्थित रिपिटर टावरमा प्राविधिक समस्या देखिएका कारण उमाकुण्डको केही भागमा सञ्चार सम्पर्कमा कठिनाइ भए पनि अन्य स्थानमा सेवा सञ्चालनमा रहेको बताए । उनले समस्या भएको स्थानमा सेवा पुर्‍याउनका लागि थप टावरको निर्माण गर्नुपर्ने र त्यसका लागि कार्यक्रम माग गर्ने बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?