कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदीमा एक जनामा आरडीटी पोजिटिभ

काठमाडौँ — मकवानपुरको भीमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा एक जनामा एन्टिबडी पोजिटिभ देखिएको छ । ती व्यक्ति भीमफेदी गाउँपालिकामा कार्यरत् एक कर्मचारी रहेको बताइएको छ ।

भीमफेदीमा एक जनामा आरडीटी पोजिटिभ

राजविराज घर भएका उनी आइतबार मात्र गाउँपालिका आएका थिए । सोमबार परीक्षण गर्दा उनमा एन्टिबडी पोजिटिभ देखिएको हो । गाउँपालिकामा कार्यरत कर्मचारीमै एन्टिबडी पोजिटिभ देखिएपछि गाउँपालिकामा उच्च सर्तकता अपनाइएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् ।

गाउँपालिकामा उच्च सर्तकता अपनाइएको र ती व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा पठाइएको उपाध्यक्ष रानाले बताइन् । आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंका अनुसार उनको स्वाबको रिपोर्ट आजै आउनेछ ।

मकवानपुरमा अन्य जिल्लाबाट आएकाहरुको आरडीटी गर्ने क्रम सोमबारबाट सुरु भएको थियो । पहिलो चरणमा विदेशबाट फर्किएकाहरु र विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकोहरुको परीक्षण सकिएसँगै लकडाउनको समयमा विभिन्न जिल्लाबाट मकवानपुरमा आएकाहरुको आरडीटी विधिबाट कोरोना आशंका गरिएकाहरुको एन्टिबडी परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?