कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सर्लाहीको हरिपूर्वाका शैक्षिक संस्था ठप्प, शिक्षक र कर्मचारी आन्दोलनमा

ओमप्रकाश ठाकुर

सर्लाही — सात महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका सबै सामुदायिक विद्यालय ठप्प भएका छन् । शिक्षकहरु धर्नामा बसेका छन् भने कर्मचारीहरु समेत आन्दोलित छन् । सात महिना बित्दा समेत यहाँ नगरसभा हुन सकेको छैन । जसले बजेट नआउँदा शिक्षक र कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

सर्लाहीको हरिपूर्वाका शैक्षिक संस्था ठप्प, शिक्षक र कर्मचारी आन्दोलनमा

गत साउनदेखि तलब नपाएका शिक्षकले आइतबारबाट दोश्रोपटक सम्पूर्ण विद्यालय बन्द गरेर नगरपालिकामा धर्नामा बसेका हुन् ।

यहाँका शिक्षकहरु यसअघि पनि तलब माग गर्दै मंसिर ६ गतेका दिनदेखि १३ दिनसम्म धर्नामा बसेका थिए । त्यसबेला मेयर विनोदकुमार साहको अश्वासन पाएर शिक्षकहरु काममा फर्किएका थिए । तर मेयर साहले दिएको आश्वासन महिनौं बित्दा पनि तलब नआएपछि नगर भित्रका १६ वटै सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरी नगरपालिकामा पुनः धर्नामा बसेका हुन् ।

विद्यालय बन्द हुँदा करिब ५ हजार विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । विद्यालय ठप्पले नजिकिँदै गरेको एसईईका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् ।

हरिपूर्वास्थित केश्वर गरीब जनता माविका प्रधानाध्यापक संजय कुमार यादवले तलबका लागि दोश्रो पटक विद्यालयको पठन पाठन ठप्प पारेर पालिकामा धर्नामा बसेको जानकारी दिए । उनका अनुसार तलब नआएर ब्यवहार धान्न गार्‍हो भएपछि बाध्य भएर आन्दोलनमा होमिनुपरेको बताए । शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएपछि सुरक्षा ब्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए

तलब भत्ताको माग गर्दै पालिकाका कर्मचारीहरु समेत आन्दोलनमा छन् । उनीहरु नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था बन्द गरेर गएको आइतबारदेखि नै धर्नामा छन् । राजनीतिक स्वार्थका कारण नगर सभा हुन नसकेर बजेट पारित हुन नसक्दा हरिपूर्वाको विकास निर्माण ठप्प छ । मेयर साह र खानेपानीमन्त्री महिन्द्र राय यादवबीचका टकरावले यहाँ प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेका छैनन् ।

हरिपूर्वाका मेयर साहले सोमबार नगरसभाको तयारी थालेका छन् । तर मन्त्री यादव पक्षले त्यो कार्यक्रम बिथोल्ने योजनामा छन् । जसले दुई पक्षबीच तनावको स्थिति उत्पन्न भएको छ । सर्लाहीमा चन्द्रनगर गाउँपालिकामा पनि राजनीतिक किचलोका कारण गाउँसभा हुनसकेको छैन ।

प्रकाशित : फाल्गुन ६, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×