कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जन्तेढुङ्गा पर्यटन विकासको काम अलपत्र

डम्बरसिं राई

खोटाङ — जन्तेढुङ्गा गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । उक्त गाउँपालिकाको वडा नं–५ चिसापानी र वडा नं ६ दिप्लुङको बीचमा पर्ने जन्तेढुङ्गा पार्क निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाल लगायत निर्माणका काम अलपत्र परेको हो ।

जन्तेढुङ्गा पर्यटन विकासको काम अलपत्र

संस्कृति तथा पर्यटन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत गरी दुई करिब ३० लाख रुपैयाँको लागतमा दुई वर्षभित्र सक्ने गरी एनआरके–स्वामी नारायण, मोहन एण्ड बेसी जेभीले २०७८ जेठ ३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका इन्जिनियर अरुण साहले बताए ।

पेश्की वापतको ४६ लाख रुपैयाँ निर्माण सम्वद्ध कम्पनीले लिएको साहले बताए । ‘पेश्की वापत ४६ लाख भुक्तानी भएको छ,’ उनले भने, ‘अहिलेसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ, मुल्याङ्कन गर्दा ठिक्कै ४६ लाख नै हुन आउँछ ।’

गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार गत बैशाखमा असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर काम भने नभएको उपाध्यक्ष खड्काले बताए । ‘पछिल्लो पटक यो असारभित्र सक्ने गरी बैशाखमा म्याद थपिएको छ, काम चाँहि अहिलेसम्म गरेको छैन,’ खड्काले भने, ‘रनिङ बिल पनि पेश भएको छ, भुक्तानी भएको छैन ।’

संस्कृति तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको खड्काको भनाई छ । आर्थिक वर्ष २०८०/८१ मा भने ३७ लाख रुपैयाँ बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । निर्माणमा सम्बद्ध जोसेफ रिजालले भने ठेक्का परे पनि बजेट उपलब्ध नभएकाले काम गर्न नसकिएको बताए ।

‘पहिले गरेको कामको रकम समेत नपाइसकेका छैनौं,’ रिजालले भने, ‘सुरुमा लिएको पेश्की र कामको मुल्याङ्कन गरेर भुक्तानीका लागि निवेदन पेश गरिएको छ ।’

पछिल्लो पटक पर्यटन मन्त्रालयबाट आएको बजेटबाटै कामको भुक्तानी गर्नु पर्ने माग आएको गाउँपालिका उपाध्यक्ष अरुणादेवी राईले बताइन् । ‘पहिले नै लिनु पर्ने हो, तर किन लिनु भएन थाहा भएन,’ अध्यक्ष राईले भनिन्, ‘अहिले पहिलेको भुक्तानीका लागि पेश गर्नु भएको छ ।’

आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । कामै नगरेपछि बजेट नराखिएको उपाध्यक्ष खड्काले बताए । ‘काम गर्‍यो भने कतैबाट व्यवस्था मिलाउँला, कामै नगरेपछि किन बजेट छुट्ट्याउनु ?,' उनको भनाइ थियो ।

जन्तेढुङ्गा यसक्षेत्रमा प्रख्यात मानिन्छ । किम्बदन्ती अनुसार गोल्मराजा–गोल्मरानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो । यहाा मङ्सिर पूर्णीमा उधौली र बैशाखे पूर्णीमा उभौली मेला लाग्छ ।

प्रकाशित : असार १४, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×