कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अमलेखगन्जमा यमगजको रजगज, हात्तीसारमा गौरीकली एक्लै

१२ हात्ती अन्तै सारिएपछि वृद्धा गौरीकली एक्लै, अर्को जंगली मत्ताले खेदाएपछि प्रतापपुरबाट भाग्यो यमगज 
शंकर आचार्य

पर्सा — धेरै हात्ती, तिनमा सफारीका लागि आलोपालो गर्ने आन्तरिक पर्यटक पनि भीड हुन्थे । तर, अमलेखगन्जस्थित पर्सा राष्ट्रिय निकुञ्जमा हिजोआज न हात्ती सफारी छ, न त त्यसमा रमाउने पर्यटक । हात्तीसार नै अहिले सुनसान छ ।

अमलेखगन्जमा यमगजको रजगज, हात्तीसारमा गौरीकली एक्लै

हात्तीसारमा अहिले ७० वर्षकी बुढी ढोई गौरीकली मात्रै छ । दरबन्दीका १० र विभिन्न मितिमा तस्कर गिरोहबाट नियन्त्रणमा लिइएका तीन समेतगरी हात्तीसारमा १३ हात्ती थिए ।

सबैलाई स्थानान्तरण गरेर यहाँबाट करिब ६२ किलोमिटर पश्चिम निकुञ्जकै प्रतापपुर पोष्टमा राखिएकाले यहाँको हात्तीसारको रौनक हराएको हो । हात्तीसारका ढोईहरुको उठीबास गराएको जंगली मत्ता यमगजको त्रास अझै घटेको छैन । १५ वर्षीय यमगज गत सातादेखि निरन्तरजसो रातको समयमा हात्तीसार फेरि आउँदै छ ।

गौरीकलीलाई स्याहार्ने काम गरिरहेका फनैत ललित चौधरीका अनुसार गत मंगलबारदेखि हात्तीसारमा बारम्बार आइरहेको यमगजले बुढी गौरीकलीसँग जर्बजस्ती संसर्ग गरिरहेको छ । उदण्ड यमगजलाई धपाउन र नियन्त्रण गर्न सम्भव नभएकाले हात्तीसारका कर्मचारीहरु निरीह हुन्छन् ।

वृद्धा गौरीकली यमगजको प्रतिकार गर्नसक्ने अवस्थामा पनि नरहेको चौधरी बताउँछन् । बुढ्यौलीले गौरीकलीको ज्यान मात्रै होइन आँखा पनि कमजोर भइसकेका छन् । हात्तीसारकै अर्को हात्तीको आक्रमणमा परी पछाडिको दायाँ खुट्टा पनि भाँच्चिएको छ,’ चौधरी भन्छन्, ‘असक्त भइसकेकी उनलाई दैनिक हात्तीसार वरपर चराउने काम गरिरहेका छौं । जसोतसो स्याहार गरेका छौं ।’

हात्तीसारमा एउटा हात्तीलाई दैनिक १५ किलो धान, डेढ किलो गुड, २५ ग्राम नुन रासन दिने गरिन्छ । यसबाहेक उनीहरुलाई जंगलमा लगेर चराउने समेत गरिन्छ । एउटा हात्तीका लागि माउते, फनैत र पछुवा गरी ३ सरकारी कर्मचारीको दरबन्दी हुने गर्छ ।

सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकलीलाई सन् १९८४ मा नेपाल सरकारले भारतलाई गैंडा दिएर सट्टाभर्नामा ल्याएको हो । निकुञ्जका संरक्षण अधिकृत हिमाल पाठक हात्तीको उमेर पनि मानिसकै जस्तो हुने गरेको बताउँछन् । ‘सामान्यता ६० देखि ८०/८१ वर्षसम्म हात्तीको आयु हुने गरेको छ,’ उनले भने, ‘बुढ्यौली लाग्दै गएपछि कमजोर हुँदै जान्छन् र विभिन्न रोगले ग्रसित पनि हुँदै जान्छन् ।’

हाल अमलेखगञ्जमा जंगल सफारी गराउने हात्ती नभएकाले आन्तरिक पर्यटकले सोध्ने गरेका छन् । ‘हात्तीसारका गौरीकलीबाहेक सबै हात्तीलाई यमगजको कारण प्रतापपुर पोष्टमा राख्नु परेको छ । यमगजको उदण्डतामा अझै घटेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा प्रतापपुरमा राखिएका निकुन्जका अन्य हात्तीलाई फिर्ता ल्याउन उचित पनि हुँदैन । हात्तीसारमा हात्ती नै नभएपछि पर्यटन व्यवसाय पनि सुस्ताएको छ ।’

गत असोजदेखि कात्तिकको पहिलो सातासम्म अमलेखगञ्ज हात्तीसार वरिपरि नै बसेर यमगज रातको समयमा सबै ढोईसँग संसर्ग गर्ने र मत्ता नारायणगजसँग लडाईँ गर्थ्यो । उसले झण्डै एक महिना हात्तीसारमा ५ वर्षीया ढोई भीमाकलीबाहेक सबै ढोईसँग जर्बजस्ती संसर्ग गरेको थियो ।

करिब ५ महिनाअघि रौतहटको वाग्मती, गैंडाटार, महेशपुरसम्म पुगिसकेको यमगज आफ्नो पुरानै थातथलोतर्फ फर्कने अनुमानविपरीत लामो समयदेखि बारा र रौतहटको वन क्षेत्रमा रमाएर बस्दै आएको छ ।

निकुञ्ज प्रशासनले यसअघि नै यमगजको दारा काटेर उसलाई शान्त बनाउने प्रयास गरे पनि उपद्रो घटेको छैन । यमगजका कारण आजित भएर गत मंसिरमा हात्तीसारबाट २५ किमि पश्चिम रामभौरीभाठा पोष्टमा निकुञ्जका ढोईहरुलाई लगेर राखिएको थियो । त्यस क्रममा गौरीकलीलाई पनि लग्दा उनी वृद्धावस्थाको कारण हिड्न नसकेपछि फिर्ता ल्याएर हात्तीसारमा राखिएको हो ।

रामभौरीभाठामा पनि झण्डै २ महिना यमगज ती ढोईहरुकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरुको रासन पनि खोसेर खाने गरेकाले निकुञ्ज प्रशासनले ढोईहरुलाई त्यहाँबाट करिब ३७ किमि पश्चिम मकवानपुरको प्रतापपुर पोष्टमा स्थानान्तरण गरेको हो ।

यमगज हात्तीसारका ढोईहरुको पछि-पछि लागेर प्रतापपुर पोष्टसम्म पनि पुगेको थियो । त्यहाँ पनि उसले उदण्डता गरिरह्यो । तर प्रतापपुर पोष्ट वरपर अर्को मत्ता जंगली हात्तीसँग यमगजको दुई पटक लडाईँ भयो । सोही मत्ताले खेदेपछि भने यमगज पर्सा, बारा, मकवानपुर र रौतहटको विभिन्न क्षेत्रमा घुमिरहेको छ ।

गत कात्तिक ३ मा अमलेखगञ्जमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा चराउँदै गरेकी एक महिला यमगजको आक्रमणमा मृत्यु भएको थियो । यमपञ्चकका दिन महिलाको ज्यान लिएपछि उसको नाम ‘यमगज’ राखिएको हो ।

हालसम्म उसको आक्रमणबाट बारा, मकवानपुर र रौतहटमा गरी आधा दर्जन सर्वसाधारणको ज्यान गएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोलीले आएर गत कात्तिक ४ को राति यमगजलाई डार्ट गरी बेहोस पारेर दुवै दारा काटेको थियो ।

२०७९ असारको अन्तिम साता यमगजसँगै पर्सा निकुञ्जसम्म आइपुगेका ५ हात्तीमध्ये २ वटा फर्किसकेका छन् । अझै ३ वटा हात्ती भने निकुञ्ज र वरपरको राष्ट्रिय वन क्षेत्रमै छन् । उनीहरु २०७९ असारको तेस्रो साता झापा, कोसीटप्पु हुँदै पूर्वबाट पर्सा निकुञ्जसम्म आइपुगेका थिए । पूर्वबाट सप्तरी, सिरहा,धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ती हात्तीका हुल पसेका हुन् ।

जंगली हात्तीको समूहले बर्सेनि झापादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्ने गर्छन् । त्यसपछि एउटा निश्चित समय पर्सा क्षेत्रमा बसेपछि उनीहरु आफ्नो पुरानो थलो फर्कने गरेका छन् । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खाँदै बस्तीको छेउछेउ चुरे पर्वत सिरानको आफ्नो पुरानो जैविक मार्ग प्रयोग गरेर लामो यात्रा गर्छन् ।

प्रकाशित : भाद्र १२, २०८० १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×