मधेस प्रदेशका सांसदले लिए शपथ


जनकपुर — मधेस प्रदेशका सांसदले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोविन्द न्यौपानेले कुल १ सय ७ मध्ये १ सय ४ सांसदलाई शपथग्रहण गराएका थिए ।

मधेस प्रदेश संसद सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार शपथग्रहण समारोह सुरु हुनुअघि नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रदेशसभा सदस्य सप्तरीकी माला कर्ण तथा महोत्तरीका मोहम्मद रजि हैदरको शपथ सर्वोच्च अदालतले रोक लगाएकोले १ सय ४ जनाले मात्रै शपथ लिएका हुन् । शपथग्रहण समारोहमा अधिकांश प्रदेशसभा सदस्यहरु आ–आफ्ना मौलिक पोसाकमा सजिएर आएका थिए ।
५५ जनाले नेपाली भाषामा र ४९ जनाले आ-आफ्नै मातृभाषामा शपथ लिएका थिए । प्रदेश संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार बज्जिका भाषामा १३ जनाले शपथ लिएका थिए भने मैथिलीमा १० जना, भोजपुरीमा ७ जना, थारु भाषामा ३ जना तथा मगहीमा २ जनाले शपथ लिएका थिए । केही सांसदले हिन्दी र उर्दुमा समेत शपथ लिन संसद् सचिवालयमा नाम दर्ता गराएका थिए ।
मातृभाषामा शपथ लिन चाहने सदस्यहरुले शपथको ब्येहोरा मातृभाषामा अनुवाद गरी अनुवादको प्रति प्रदेशसभा सचिवालयमा तीनदिनअघि दर्ता गराउनु पर्ने प्रावधान छ ।
पहिलो प्रदेशसभाका १ सय ७ सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा तथा राजपाका २५ मध्ये ११ जना प्रदेशसभा सदस्यले हिन्दीमा शपथ लिएका थिए ।