१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मुसहर युवा पन्जाबमा

रोजगारी खोज्दै पुरूष परदेसिँदा बस्तीमा वृद्धवृद्धा, महिला र केटाकेटी मात्रै
भरत जर्घा मगर

सिरहा — सिरहाको मुसहर्नियास्थित मुसहर बस्तीका १२ वर्षे बालकदेखि लक्का जवान सबैजसो मजदुरीका लागि पन्जाब गएका छन् । ३२ घर परिवारको बसोबास रहेको बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । ‘बस्तीका घरलौरी युवा पन्जाबमा मजदुरीका लागि बाह्रैमास खटिन्छन्,’ ६० वर्षीया बहुरी सदायले भनिन्, ‘टोलमा काम गर्न नसक्नेहरू हामीजस्ता वृद्धवृद्धा, महिला र केटाकेटी मात्रै छौं ।’ 

मुसहर युवा पन्जाबमा

उनका अनुसार काम गर्न सक्ने महिला पनि मजदुरीमा खटिन्छन् । कहिलेकाहीं पन्जाबबाट आउजाउ गरेका युवा भेटिन्छन् । ‘छोरा नातीले पन्जाबबाट कमाएर पठाएको पैसाले चुल्हो बल्छ,’ उनले भनिन्, ‘उताबाट पैसा पठाएन भने भोकै बस्नुपर्छ ।’ बस्तीका २२ युवा मजदुरीका लागि पन्जाब हानिएका छन् । उनीहरू ठेकेदारमार्फत उत्ता पुगेका हुन । पन्जाबबाट ठेकेदारमार्फत पठाएको पैसासमेत उनै ठेकेदारले बेइमानी गरिदिँदा परिवारसम्म पुग्दैन ।

बस्तीका २८ वर्षीया सीता सदायले पति रामकुमार सदाय एक वर्षदेखि पन्जाबमा मजदुरी गर्दै आए पनि पैसा नपठाएपछि घरखर्च चलाउन समस्या भएको सुनाइन् । ‘भारतको पन्जाब कमाउन गएको वर्षदिन बितिसक्यो, ३ हजार रुपैयाँ मात्र पठायो,’ सीताले भनिन्, ‘त्यति रकमले घरखर्च जोहो गर्न मुस्किल छ । गाउँघरमा मजदुरीको काम पाउन पनि छाडिसक्यो ।’

खेत जोत्न ट्र्याक्टरको बढ्दो प्रयोगसँगै धान रोप्नेदेखि दाउनी (दाइँ) समेत मेसिनले गर्न थालेपछि आफूहरू कामविहीन हुनुपरेको उनले गुनासो गरिन् । पति कमाउन पन्जाब गएपछि ७ वर्षीया छोरी पुनम र छोरा आर्यनसहित वृद्ध सासुससुराको लालनपालन मजदुरीमा खटेर जसोतसो चलाए पनि मजदुरीसमेत पाइन छाडेपछि विकल्पमा बाख्रापालन गर्न थालेको उनले सुनाइन् ।

‘काम पाउँदा मजदुरीमा खट्छु, अरुबेला बाख्राको स्याहारसुसारमा खटिन्छु,’ सीताले भनिन्, ‘तीनवटा बाख्रा गाभिनो छ, पाठापाठी भएपछि आम्दानी हुन्छ होला ।’ मुसहर्निया मात्र होइन, लहान नगरपालिका–२४ झुटकीस्थित ३७ घरपरिवार बसोबास रहेको मुसहरी टोलका अधिकांश युवा रोजगारीका लागि भारतको पन्जाब र हरियाणा गएका छन् ।

२२ वर्षीया मालती सदाका ३ सन्तान छन् । आँचल, शिवानी र मञ्जित । मालतीका पति शोभित पन्जाबमा मजदुरी गर्छन् । लहान नगरपालिका–१६ तरेगना, बलानसेर मुसहर बस्तीका १५ जनाभन्दा बढी युवा पन्जाबमा खटिएका छन् । ती बस्ती मात्र होइन, सिरहाका अधिकांश मुसहर बस्तीका युवाहरू भारतका पन्जाब, हरियाणा, मुम्बईमा मजदुरीका लागि गएका छन् ।

वैदेशिक रोजगारीका लागि ठूलो रकम चाहिने र ऋण नपाउँदा भूमिहीन सुकुम्बासी दलित मुसहर समुदायका युवाको मजदुरीको गन्तव्य पन्जाबलगायत स्थान गन्तव्य बनेको हो । ‘गाउँघरका ठूलाबडाले ऋण पत्यायो भने मलेसिया, कतारसम्म जान्छन्,’ पन्जाबबाट फर्किएका तरेगनाका बटला सदाय मुसहरले भने, ‘ऋण नपत्याउने हाम्रो लागि विदेश यही पन्जाब र हरियाणा नै हो ।’ जनगणना २०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४९० छ । सिरहामा दलित मुसहर समुदायको जनसंख्या ३९ हजार ९ सय २९ छ । तीमध्ये ९५ प्रतिशत भूमिहीन सुकुम्बासी छन् । मुसहर समुदायको साक्षरता दर ०.००४ प्रतिशत उल्लेख छ ।

बिचौलियाबाट ठगी

मजदुरी नपाएर आर्थिक संकटमा परेका बेला गतवर्ष भदौमा भारत रोजगारीमा पठाउने बिचौलिया गाउँमा आइपुगे । रामबाबु सदाय मुसहरलगायत कर्जन्हा नगरपालिका–३ सुन्दरपुर गाउँका २२ जनाको परिवारलाई ५/५ हजार रुपैयाँ अग्रिम दिइयो । उनीहरूलाई भारतमा राम्रो काम लगाइदिने आश्वासन दिइयो । बिचौलियाकै आश्वासनमा परेर सुन्दरपुरका उनीहरू हरियाणा पुगे । उनीहरूलाई त्यहाँ दिनहुँ २० घण्टासम्म भारी काममा जोताए । ८ महिनासम्म काममा खटाए पनि ज्याला पाएनन् । उनीहरू पछि भागेर घर फर्किए ।

उनीहरूलाई सुखीपुर मोहनपुरका रामएकवाल यादव र विरीदेव यादवले भारत पुर्‍याएका थिए । यहाँका गाउँहरूमा बिचौलियाले भारतका रोजगारदातासँग कामदार पठाइदिने भनेर पैसा लिन्छन् । उनीहरूले गरेको कामको पैसा पनि धेरै जनाको नदिने गरेका छन् । एक दशक अघिदेखि भारतको पन्जाब र हरियाणामा कृषि मजदुरको रूपमा मुसहरहरू काम गर्न जान थालेका हुन ।

धान र गहुँ काट्ने मेसिन प्रयोग हुन थालेपछि सेलरमिलमा धान सुकाउन, धान चौक्न र लोड–अनलोड गर्न मुसहर समुदायलाई लान थालिएको बताउँछ्न्, मुसहर समुदायका अगुवा रामस्वरूप सदाय मुसहर । त्यतिखेर श्रमशोषण हुँदैनथ्यो । तर यताकै जमिनदार र सुदखोरले भारतमा पुर्‍याउन थालेपछि श्रमशोषण हुन थालेको उनको भनाइ छ । कतिपयलाई काम सकिएपछि उल्टै ऋण देखाएर बन्दी बनाउने गरेको पाइएको उनले बताए ।

प्रकाशित : पुस १४, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?