कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नगर प्रमुख–उपप्रमुख विवादले पढाइ प्रभावित

५ महिनादेखि तलब रोकिएको विरोधमा शिक्षक धर्नामा बसेपछि पठनपाठनको माग गर्दै विद्यार्थी पनि आन्दोलित
श्यामसुन्दर शशि

जनकपुर — नगर प्रमुख–उपप्रमुखबीचको विवादले धनुषाका नगराइन र कमला नगरपालिकाका कर्मचारी र शिक्षकले गत ५ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । तलब नपाएको भन्दै नगराइनका शिक्षक कक्षा छाडेर धर्नामा बसेका छन् । पालिका कार्यालयमा तालाबन्दी नै गरिएको छ ।

नगर प्रमुख–उपप्रमुख विवादले पढाइ प्रभावित

विद्यार्थीले भने कक्षा सञ्चालनको माग गर्दै आन्दोलन थालेका छन् । कमलामा भने आन्दोलनरत शिक्षक र पालिकाबिच सम्झौतापछि बुधबारदेखि पठनपाठन थालिएको छ ।

नेतृत्वबीचकै विवादले नगराइनको नगर परिषद् नै रोकिएको छ । नगर प्रमुखमा कांग्रेसका विनय यादव र उपप्रमुखमा एमालेकी राधादेवी यादव छन् । नगर कार्यसमितिमा एमालेको बहुमत छ । तर, प्रमुख यादवले कार्यपालिकामा बहुमत रहेको एमालेले परिषद् गर्न नदिएको कारण नीति तथा कार्यक्रम पास हुन नसकेको बताए । ‘उपप्रमुख र एमालेसम्बद्ध वडाध्यक्षसँग पटकपटक नगर परिषद राख्न आग्रह गरें तर उनीहरु अनावश्यक माग राखेर परिषद राख्न दिइरहेका छैनन्,’ प्रमुख यादवले भने । पालिकाका कर्मचारी र शिक्षक भने कार्यालयअगाडि करिब १५ दिनदेखि धर्नामा बसेका छन् । जसका कारण पालिकाका सबैजसो काम प्रभावित बनेको छ ।

नगराइन उपप्रमुख राधादेवीको नेतृत्वमा एमालेसम्बद्ध वडाध्यक्षहरुले विशेष अनुगमन समिति, मल खाद्य डिलरको निर्धारण, पालिकाको प्रवक्ता तोक्ने काम परिषदबाटै निर्णय गर्नुपर्ने माग राखेका छन् । पालिकाको आय–व्यय सार्वजनिक गर्न तथा यसअघिको कार्यसमितिले उपभोक्ता समितिसम्बन्धी गरेको कार्यविधि संशोधन उल्टाउनुपर्ने पनि उनीहरुको माग छ । यसअघि, पालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ मा संशोधन गरी ‘वडास्तरीय योजनाबाहेक अन्य योजना सञ्चालन गर्न उपभोक्ता समिति गठन गर्दा नगर प्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालय प्रतिनिधिको रोहवरमा गर्नुपर्ने’ व्यवस्था गरेको छ । नगर प्रमुखलाई दिइएको यो अधिकार खोस्नुपर्ने माग उपप्रमुख र उनका पक्षधरको छ ।

प्रमुख यादवले आफू उक्त मागप्रति सकारात्मक रहे पनि कार्यविधि संशोधन गर्न कानुनी समस्या रहेको बताए । ‘यसअघिको कार्यपालिकाले कार्यविधिमा गरेको संशोधन विरुद्ध एमालेका साथीहरु उच्च अदालत गएका थिए । अदालतले पालिकाको निर्णय सदर गरेको छ । अनि हामी कसरी कार्यविधि संशोधन गर्न सक्छौं ?,’ उनको प्रश्न छ । नीति तथा कार्यक्रम नै पास नभएपछि नियमित चालु खर्चको बजेट निकासा प्रभावित हुँदा कर्मचारी र शिक्षकको तलब रोकिएको हो ।

यता, कमला नगरपालिकामा पनि उपप्रमुख शिलादेवी मण्डलले अदालतमा मुद्दा दिएका कारण नीति तथा कार्यक्रम पास हुन सकेको छैन । नगर प्रमुख विशेश्वर यादव र उपप्रमुख मण्डलबीचकै विवादले विकास निर्माणका कामसमेत ठप्पजस्तै छन् । कर्मचारी र शिक्षक महिनादेखि तलबविहीन छन् । यसकै विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर धर्नामा समेत बसे । बुधबार नगर प्रमुख, उपप्रमुखको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत र शिक्षक प्रतिनिधिबिच लिखित सम्झौता भएपछि बिहीबारदेखि पठनपाठन सञ्चालन भएको छ । सम्झौतामा पुस १५ भित्र शिक्षक–कर्मचारीलाई तलब दिइने उल्लेख छ ।

प्रकाशित : मंसिर २९, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×