कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ब्रेललिपिले बढायो आत्मविश्वास

पर्सा — पाँच वर्षअघि जगरनाथपुर गाउँपालिका–६ औराहाका १४ वर्षीय शिववरण चौधरीका दुवै आँखाको ज्योति गुम्यो । त्यसपछि उनी विद्यालय जान सकेनन् । सशक्तीकरणका लागि शिक्षा कार्यक्रम (इङेज परियोजना) ले अभिभावक र उनलाई अध्ययन अघि बढाउन प्रेरित गर्‍यो । २ वर्षअघि ब्रेललिपिबाट अध्ययन गर्न शैक्षिक सामग्री र आर्थिक सहयोगसमेत दिएपछि उनी वीरगन्जस्थित त्रिजुद्ध माविमा कक्षा ३ मा भर्ना भए । 

ब्रेललिपिले बढायो आत्मविश्वास

पढाइमा राम्रो गरेकाले उनलाई एकै पटक कक्षा ३ बाट ६ मा लगियो । अहिले आफूमा आत्मविश्वास बढेको उनको भनाइ छ । ‘रोकिएको पढाइलाई निरन्तरता दिन पाएको छु,’ शिववरणले भने, ‘पढाइसँगै क्रिकेट खेलमा पनि सफलता पाएको छु । यही वर्ष काठमाडौंमा नेत्रहीन राष्ट्रिय क्रिकेटमा मधेस टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शनसमेत गर्न सफल भएँ ।’ दिव्य युवा क्लब बिरञ्चीबर्वा पर्साले सोमबार वीरगन्जमा गरेको किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम जिल्ला सल्लाहकार समितिको समीक्षामा उनले अनुभव सुनाए । कार्यक्रममा परियोजनाबाट लाभान्वित अरुले पनि अनुभव सुनाएका थिए ।

सन् २०१८ देखि पर्साको धोबिनी र जगरनाथपुर गाउँपालिकामा सञ्चालित शिक्षा कार्यक्रमले ७ सय ६८ सीमान्तकृत तथा अपांगता भएका किशोरकिशोरीको शिक्षा र आयआर्जनमा पहुँच बढाएको जानकारी कार्यक्रममा दिइयो । इङ्गेज परियोजनाका संयोजक गणेशसिंह ठकुरीले भीएसओ नेपालको आर्थिक र ह्यान्डीक्याप इन्टरनेसनलको प्राविधिक सहयोग तथा दिव्य युवा क्लबको साझेदारीमा सञ्चालित कार्यक्रम समुदायका लागि लाभकारी भएको बताए । ‘११ विद्यालयमा गुनासो सुनुवाइ समिति क्रियाशील बनाउन सफल, पालिका र विद्यालयस्तरमा र बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गर्न सफल भएका छौं,’ उनले भने, ‘कार्यक्रममार्फत २ सय २९ जना किशोरी व्यवसाय गरी आम्दानी गर्न सफल छन् । उनीहरू टेलरिङ, ब्युटिसियन, बुटिक, चुरा बनाउने, बाख्रापालन, किराना पसलजस्ता व्यवसाय गरिरहेका छन् ।’

उनका अनुसार ३ सय ७४ जना विद्यालयबाहिर रहेका किशोरी पढ्न कक्षामा नियमित आएका छन् । पालिकास्तरमा समावेशी शिक्षा नीति र बालिका तथा समावेशी शिक्षा सञ्जाल कार्यविधि पास गराउन सफल भएको उनले बताए ।

प्रकाशित : मंसिर २७, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×