कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसानको आन्दोलन स्थगित

चिनी उद्योगले दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति दिनुपर्ने माग, आज वार्ता हुँदै

बारा — बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि आन्दोलन रोकिएको हो । किसानले आइतबार चिनी उद्योग अगाडि रोगका कारण सुकेको उखु जलाउँदै केही घण्टा प्रदर्शन र चक्काजाम गरेका थिए ।

उखु किसानको आन्दोलन स्थगित

चिनी उद्योगले दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित किसान आन्दोलनमा छन् । शनिबार पनि उनीहरूले कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्ध पारेका थिए । झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका थिए ।

कलैया–१६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाले बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकाले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बीउ र औषधिका लागि दिएको ऋण मिनाहा गर्नुपर्ने बताए । यस्तै सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको उनको भनाइ छ । उखुको बीउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरूले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिका लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरूले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारका तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरूले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनका अनुसार बारा र पर्सामा समेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बीउ र औषधिमा किसानका लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकाले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन । यसभन्दा अघि ९६६९, दही चिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रतिक्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो ।

समर्थन मूल्यमा धान किन्न माग

पर्सा– धान किन्न माग गर्दै पर्साका किसानले आइतबार वीरगन्जमा दबाबमूलक प्रदर्शन गरेका छन् । नेपाल किसान महासंघ पर्साको आयोजनामा प्रदर्शन गरिएको हो । किसानले मूर्लीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा परिसरमा धर्ना दिएका थिए ।

महासंघ पर्साका अध्यक्ष असर्फी साहले सरकारले धानको समर्थन मूल्य तोकेको एक महिना बित्दा पनि खरिद नगरेर व्यापारी र बिचौलिया पोस्ने काम मात्र गरेको आरोप लगाए । अर्का किसान नेता सहरूम राउतले आफूहरूले सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा सस्तोमा निजी क्षेत्रलाई धान बेच्नुपरेको गुनासो गरे । ‘किसानले धान बेचेरै आफ्नो थुप्रै गर्जो टार्ने हो,’ उनले भने, ‘तर सरकारले हामीलाई आवश्यक परेको बेला धान किनिदिएन ।’

कम्पनी वीरगन्ज शाखाका सूचना अधिकारी समीर दाहालले धान खरिदबारे केन्द्रबाट अझै निर्देशन प्राप्त नभएको बताए । केन्द्रले पर्साका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी धान खरिदका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेकाले पुसको पहिलो सातादेखि धान खरिद सुरु हुन सक्ने उनको अनुमान छ । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । गत वर्ष धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ थियो । गत वर्ष मंसिर ११ देखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको छ । जिरा मसिनो धानको मूल्य भने प्रजिअ संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्छ ।

प्रकाशित : मंसिर २६, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?