४३ समानुपातिक सांसदमा ३४ महिला- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४३ समानुपातिक सांसदमा ३४ महिला

धनुषा र महोत्तरीबाट ९–९ तथा पर्साबाट २ सांसद चयन
कान्तिपुर संवाददाता

जनकपुर — मधेस प्रदेशका ४३ जना समानुपातिक सांसदमा ३४ महिलाले अवसर पाएका छन् । प्रत्यक्षतर्फ प्रदेशमा जम्मा ४ जना महिला मात्र निर्वाचित भएका थिए । त्यसैले दलहरूले समानुपातिकतर्फ धेरैजसो महिला सांसद समेट्नुपरेको हो ।


समानुपातिकतर्फका ४२ जना पहिलो पटक सांसद बनेका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बनेका मनीषकुमार सुमन यसअघि सप्तरीबाट चुनाव जितेर सांसद थिए ।

धनुषा र महोत्तरीबाट धेरैजसो समानुपातिक सांसद चयन भएका छन् । धनुषाबाट कांग्रेसकी अञ्जना पण्डित, एमालेकी पलेटीदेबी महरा, पल्टीदेवी यादव, फुलोकुमारी देवी, शिला यादव तथा नाजिमा खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत यादव, माओवादीबाट शारदा दास पहाडी र जसपाबाट ममता मण्डल समानुपातिक सांसद बनेकी छन् । यस्तै, महोत्तरीबाट कांग्रेसका राकेशकुमार सिंह र नुरुन नेसा, जनमतबाट चन्दनकुमार सिंह तथा अपनताकुमारी साह, लोसपाबाट रूपाकुमारी यादव तथा रमिता प्रधान, राप्रपाबाट बञ्चन बिच्छा र जसपाबाट बिन्दुकुमारी यादव समानुपातिक सांसद छानिएका हुन् । लोसपाको भागमा परेको दुई र राप्रपाको भागमा परेको १ समानुपातिक सांसद भने महोत्तरीकै परेका छन् ।

तेस्रो बढी समानुपातिक सांसद भने सप्तरीले पाएको छ । सप्तरीले ६ जना समानुपातिक सांसद पाएका छन् । कांग्रेसबाट नीलमकुमारी रजक, जनमत पार्टीबाट बबिताकुमारी राउत इसर तथा रञ्जुकुमारी मण्डल खंग, माओवादीबाट मालाकुमारी कर्ण र जसपाबाट किरणकुमारी साह तथा मनीषकुमार सुमन समानुपातिक सांसद छानिएका छन् । यस्तै, सिरहाले भने ५ जना समानुपातिक सांसद पाएको छ । कांग्रेसबाट रेखा ठाकुर तथा जीवछीकुमारी यादव, जनमतबाट भाग्यश्री चौधरी र जसपाबाट चन्द्रेश्वर सदा, ललिता दास तथा सैदा खातुन सांसद बनेका हुन् । रौतहट, बारा र सर्लाहीले भने ४–४ जना समानुपातिक सांसद पाएका छन् । सर्लाहीका चारै जना सांसद महिला हुन् । सर्लाहीबाट कांग्रेसकी शकुन्तीदेवी महरा तथा इन्दुकुमारी साह, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारी तरुन्नुम र जनमत पार्टीबाट हसिना खातुन समानुपातिक सांसद बनेकी छन् ।

रौतहटमा भने एमालेबाट जयचन्द्रप्रसाद पटेल, एकीकृत समाजवादीबाट किशोरी देवी, जनमत पार्टीबाट वसन्तकुमार कुशवाहा र जसपाबाट शोभा देवी समानुपातिक सांसद बनेका हुन् । बाराबाट कांग्रेसकी मीनाकुमारी लामा, एमालेबाट मञ्जुकुमारी थापा मगर, नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरी र एकीकृत समाजवादीबाट लक्ष्मी देवी सांसद चयन भएका हुन् । पर्साबाट सबैभन्दा कम दुई जना मात्र समानुपातिक सांसद छानिएका छन् । एमालेकी बिनादेवी शर्मा र जसपाबाट मोहम्मद युसुफ अली पर्साबाट समानुपातिक सांसद बनेका हुन् ।

प्रदेशमा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ भने १–१ सिट पाएको छ । नेपाल संघीय समाजवादी पार्टीले भने यसअघि पनि प्रदेशसभामा समानुपातिकतर्फ १ सिट पाएको थियो । १ सय ७ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ जना छन् । प्रदेश सरकार गठनका लागि बहुमत पुर्‍याउन ५४ सांसद आवश्यक पर्छ । तर, कुनै दलको पनि बहुमत पुग्दैन । कांग्रेसले सत्ता गठबन्धनको सहयोगमा जनमत पार्टीलाई ल्याएर सरकार बनाउने कसरत थालेको छ ।

प्रकाशित : मंसिर २६, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

उखु किसानको आन्दोलन स्थगित

चिनी उद्योगले दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति दिनुपर्ने माग, आज वार्ता हुँदै
कान्तिपुर संवाददाता

बारा — बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि आन्दोलन रोकिएको हो । किसानले आइतबार चिनी उद्योग अगाडि रोगका कारण सुकेको उखु जलाउँदै केही घण्टा प्रदर्शन र चक्काजाम गरेका थिए ।

चिनी उद्योगले दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित किसान आन्दोलनमा छन् । शनिबार पनि उनीहरूले कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्ध पारेका थिए । झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका थिए ।

कलैया–१६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाले बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकाले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बीउ र औषधिका लागि दिएको ऋण मिनाहा गर्नुपर्ने बताए । यस्तै सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको उनको भनाइ छ । उखुको बीउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरूले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिका लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरूले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारका तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरूले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनका अनुसार बारा र पर्सामा समेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बीउ र औषधिमा किसानका लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकाले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन । यसभन्दा अघि ९६६९, दही चिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रतिक्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो ।

समर्थन मूल्यमा धान किन्न माग

पर्सा– धान किन्न माग गर्दै पर्साका किसानले आइतबार वीरगन्जमा दबाबमूलक प्रदर्शन गरेका छन् । नेपाल किसान महासंघ पर्साको आयोजनामा प्रदर्शन गरिएको हो । किसानले मूर्लीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा परिसरमा धर्ना दिएका थिए ।

महासंघ पर्साका अध्यक्ष असर्फी साहले सरकारले धानको समर्थन मूल्य तोकेको एक महिना बित्दा पनि खरिद नगरेर व्यापारी र बिचौलिया पोस्ने काम मात्र गरेको आरोप लगाए । अर्का किसान नेता सहरूम राउतले आफूहरूले सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा सस्तोमा निजी क्षेत्रलाई धान बेच्नुपरेको गुनासो गरे । ‘किसानले धान बेचेरै आफ्नो थुप्रै गर्जो टार्ने हो,’ उनले भने, ‘तर सरकारले हामीलाई आवश्यक परेको बेला धान किनिदिएन ।’

कम्पनी वीरगन्ज शाखाका सूचना अधिकारी समीर दाहालले धान खरिदबारे केन्द्रबाट अझै निर्देशन प्राप्त नभएको बताए । केन्द्रले पर्साका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी धान खरिदका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेकाले पुसको पहिलो सातादेखि धान खरिद सुरु हुन सक्ने उनको अनुमान छ । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । गत वर्ष धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ थियो । गत वर्ष मंसिर ११ देखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको छ । जिरा मसिनो धानको मूल्य भने प्रजिअ संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्छ ।

प्रकाशित : मंसिर २६, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×