कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने धान छोडेर हाइब्रिड

रोग र कम उत्पादनका कारण बासमती र करियाकामतको सट्टा अन्य जात लगाउँदै किसान  
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा रैथाने जातको धान छोडेर हाइब्रिडको खेती बढेको छ । रैथाने बासमती र करियाकामतको सट्टा किसानहरू हाइब्रिड मोटा धानप्रति आकर्षित भएका हुन् । उत्पादन मनग्ये हुने भएकाले हाइब्रिड धान रोजाइमा पर्न थालेको उनीहरूको भनाइ छ ।

रैथाने धान छोडेर हाइब्रिड

जिल्लामा पहिले बासमती र करियाकामतको खेती हुने गरेको थियो । तर ती जातभन्दा हाइब्रिड धान चार पाँच गुणा बढी उत्पादन हुने किसानले बताएका छन् । जिल्लामा ख्याति कमाएका र गुणस्तरीय समेत मानिएका यी धान अहिले सहज रूपमा पाउन मुस्किल छ । रोग र पछिल्लो समय मौसम परिवर्तनका कारण उत्पादन कम हुने देखिएपछि बढी उत्पादन हुने धान लगाउन किसानले जोड दिन थालेका हुन् ।

बासमती र करियाकामत धानमा रोगका साथसाथै सामान्य हावामा पनि ढल्ने गरेकाले लगाउनै छाडेको कविलासी नगरपालिका–१ का रामबाबु रायले बताए । उनका अनुसार अन्य आयातित धानको तुलनामा उत्पादन पनि निकै कम हुने गरेका कारण पनि यो धान लोप हुने क्रममा छ । ‘खानमा मिठो बासमती र करियाकामतको उत्पादन निकै कम छ, विभिन्न खाले रोगका कारण यी धानमा लगानी बढी लगाउनुपर्छ,’ उनले भने, ‘हाइब्रिड लगाउँदा यी समस्या आउँदैन, उत्पादन पनि चार पाँच गुणा बढी नै हुने गरेको छ ।’

५ वर्षअघिसम्म करियाकामत धान खेती गर्दै आएका हरिपुर–३ फरहदवाका किसान पुरन महतोले पनि धानको जात फेरिसकेका छन् । उनले रैथाने बाली छोडेर सोना मन्सुली मोटो धान लगाउन थालेका हुन् । महतोले रैथाने बाली लगाउँदा प्रतिकट्ठा एकदेखि डेढ मनसम्म उत्पादन हुने गरेकोमा हाइब्रिड लगाउँदा प्रतिकट्ठा पाँचदेखि सात मनसम्म उत्पादन हुने गरेको सुनाए । सोना धानको उत्पादन राम्रो भए पनि खान मीठो भने हुँदैन । कतिपयले मकवानपुरे मोटो धान पनि लाउने गर्छन् । यो धान चिउरा खान मात्र प्रयोग हुन्छ । मकवानपुरे धान उत्पादन गर्ने किसान चिउरा मिलमा बेचेर भारतबाट मसिनो चामल खरिद गरेर ल्याउने गरेका छन् ।

‘करियाकामतले लागतअनुसारको उत्पादन दिएन, त्यसैले बाली फेर्‍यौं, कतिपय किसान त मकवानपुरे मोटो धान लगाउँछन्,’ महतोले भने, ‘यो धान चिउरा मिलमा बेचेर भारतीय बजारबाट सस्तोमा मसिनो चामल खरिद गरेर खाने गर्छन्, यसले किसानलाई केही पैसा बचत पनि भएको छ ।’

सिञ्चित क्षेत्रमा यी धानहरू लोप अवस्थामा पुगिसकेका छन् । सिँचाइ नपुगेको ठाउँमा पनि कम उत्पादनका कारण धान बाली छोडेर अन्य खेती थालेका छन् । उन्नत जातको बीउ भित्रिएसँगै रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । कार्यालयका अनुसार बासमती र करियाकामत आकलझुक्कल मात्र देख्न पाइन्छ । ४६ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने सर्लाहीमा २३ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?