कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

शिक्षक माग गर्दै विद्यार्थीको प्रदर्शन

सुनिता बराल

महोत्तरी — पर्याप्त शिक्षक नहुँदा पढाइ प्रभावित भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । महोत्तरीको गौशाला–३ स्थित राष्ट्रिय माविका विद्यार्थीले शिक्षकको व्यवस्था गर्न माग गर्दै आइतबार प्रदर्शन गरेका हुन् । उनीहरूले टायर बालेर विद्यालय अगाडिको सडक जाम गरेका थिए । 

शिक्षक माग गर्दै विद्यार्थीको प्रदर्शन

विद्यार्थीका अनुसार शिक्षक अभावले चार महिनादेखि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । गौशाला नगरपालिकाले गत साउनदेखि लागू हुनेगरी विद्यालयमा पढाइरहेका नगर शिक्षक हटाएको थियो । तीन शिक्षक हटाइएपछि सबै विषयको पढाइ हुन नसकेको विद्यार्थीहरूले बताए । तत्काल शिक्षक परिपुर्ति गर्नुपर्ने उनीहरूको माग छ । बालविकासदेखि १० कक्षासम्म पढाइ हुने विद्यालयमा ६ सय ३५ जना विद्यार्थी छन् । विद्यालयमा माविका १, प्राविका ३ र राहतका १ गरी जम्मा ५ जना शिक्षक छन् ।

प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष र नगरप्रमुखलाई पटकपटक भन्दा पनि शिक्षकको व्यवस्था हुन नसकेपछि आन्दोलन गर्नुपरेको कक्षा १० का विद्यार्थी रुपेशकुमार महतोले बताए । एसईईको तयारीमा रहेको आफूहरूको २–३ वटा विषय मात्रै पढाइ भइरहेको उनले जानकारी दिए ।

यसअघि नगरप्रमुखलाई भेट्दा चुनाव सकिएपछि मंसिर ७ सम्म सबै व्यवस्था मिलाइसक्ने आश्वासन दिए पनि पूरा नगरेको विद्यार्थीको भनाइ छ । अहिले आन्दोलन गर्दा नगरप्रमुख दीपेन्द्र महतोले एक साता विद्यालय नआउन उर्दी नै जारी गरेको विद्यार्थी तथा अभिभावकको आरोप छ । त्यसैले दुई दिनदेखि विद्यार्थी विद्यालय गएका छैनन् । ‘विद्यार्थी अनुसाशनहीन भए, एक साता घरमै राखेर सम्झाएर पठाउन मेयरसाबले भनेका छन्,’ अभिभावक रामेश्वर महतोले भने । ९ कक्षामा पढ्ने आफ्नी छोरी खुश्बु सोमबारदेखि विद्यालय नगएको उनले बताए ।

शिक्षक अभावले पठनपाठनमा समस्या भए पनि सकेसम्म सबै विषय पढाउने प्रयास भइरहेको विद्यालयका प्रधानाध्यापक शिवकरण यादवले बताए । चाडपर्व र चुनावले गर्दा शिक्षक व्यवस्थापन गर्न ढिलाइ भएको उनको भनाइ छ ।

विद्यार्थीले आन्दोलन गरेपछि अभिभावकलाई सम्झाउन भनिएको तर कुनै विद्यार्थीलाई पनि निष्कासन नगरिएको उनले दाबी गरे । नगरप्रमुख महतोले विद्यार्थीलाई विद्यालय नआउन कुनै त्यस्तो आदेश नदिएको तर घरमै राखेर सम्झाउन आग्रह गरेको यादवले बताए । विद्यार्थीको माग तत्काल पूरा गर्न मानवअधिकार रक्षक संजाल महोत्तरीका संयोजक अजय साहले आग्रह गरे ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?