कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाना कुर्दै मुसहर

रौतहट — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश मतदान गर्न गएनन् । त्यसपछि वडाध्यक्ष नवराज देवकोटा आफैं बस्ती पुगे ।

जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका घरको छानाको व्यवस्था नगरेसम्म मतदान गर्न नजाने स्थानीयले अडान लिएका थिए । देवकोटाले फकाएर केहीलाई मतदान गर्न लगे, केही टसमस भएनन् ।

जनता आवासले ६ महिनाभित्र सकिने भनेर बनाउन थालेको घर हालसम्म पूरा भएको छैन । दुई वर्षअघि बनाउन थालेको घरको छाना नभएर बिचल्लीमा परेपछि बस्तीवासीले यस पटक निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीय तह निर्वाचनदेखि छानाको व्यवस्था गर्न विभिन्न दलसित मुसहर समुदायले हारगुहार गरेका थिए । भोट माग्न जानेहरू सबैले चुनाव पछि हुन्छ भनेर आश्वासन दिएको स्थानीय मनोज मुसहरले सुनाए । ‘नेता र उम्मेदवारको उत्सवका रूपमा चुनाव आउँछ–जान्छ । तर गरिबको बास उठाएर रमिते बनेको जनता आवास कार्यक्रमका मान्छेलाई तह लगाउने कोही भएन,’ उनले भने । मनोजका घरमा वृद्ध आमा, साना ४ बालबालिकालगायत ८ जना छन् । उनीहरू सबै प्लास्टिक टाँगेर बसेका छन् ।

‘उनीहरूको माग जायज हो । घर बनाएर छाना नहालेपछि बर्खामा बिजोग भयो,’ वडाध्यक्ष देवकोटाले भने, ‘मैले जनता आवासका कर्मचारीलाई पटक/पटक भनेको छु । गरिबको बिल्लीबाठ पार्ने काम नगर्नुस् भनेर । तर सुनुवाइ भएको छैन ।’ दुई वर्षदेखि घाम, पानी, हावाहुरी, बर्खा, शीतलहर काटेको मुसहर समुदाय निकै पीडामा छन् । घरमा छाना लगाउन नसकेपछि अधिकांश त्रिपाल टाँगेर बसेका छन् ।

बस्तीमा ६० घर छन् । तीमध्ये जनता आवास कार्यक्रमअन्तर्गत ५० वटा घर मात्र बनाउन लागिएको हो । यो सहरी विकास मन्त्रालयअन्तर्गतको योजना हो । मन्त्रालयले गत वर्ष १२ करोड मात्र बजेट विनियोजना गरेकाले भवन निर्माणको काम सम्पन्न हुन नसकेको सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख रुद्रनारायण दासले बताए । ‘हामीले अझै ३० करोड बजेट भयो भने सबै भवन सम्पन्न गर्न सक्छौं भनेर माग गरेका छौं । बजेट नभएरै समस्या छ,’ उनले भने, ‘बजेट आउनासाथ सबैको छाना लगाउँछौं ।’

जिल्लामा आवास कार्यक्रमअन्तर्गत १ हजार २ सय ८० घर निर्माणाधीन छन् । तीमध्ये अधिकाशको छाना, झ्याल, ढोका, र भुइँ ढलान गरिएको छैन । भवन निर्माण समितिकी कोषाध्यक्ष सीमा मुसहर्नीले चुनावका बेला नेताहरूले झूटो बोल्ने गरेकाले मतदान गर्न अस्वीकार गरेको सुनाइन् । ‘छाना हाल्ने काम किन भएन भन्ने हामीलाई समेत थाहा छैन,’ उनले भनिन्, ‘नाम मात्रको समिति बनाइएको छ । छिमेकीहरू किन छाना, झ्याल नलगाएको भनेर कराउँछन् । हामीले के जवाफ दिने ?’ जनता आवासले दुईकोठे भवन निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । केन्द्र सरकारको योजना भए पनि प्रदेश सरकारमार्फत रकम निकासा हुन्छ ।

प्रकाशित : मंसिर १८, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?