विजय जुलुसमा कुटपिट, ७ घाइते- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विजय जुलुसमा कुटपिट, ७ घाइते

महोत्तरी–१ बाट निर्वाचित एमालेका लक्ष्मी महतोको विजय जुलुसमा सहभागी वडाध्यक्ष श्यामसुन्दर मण्डल नेतृत्वको समूहले बिनाकारण कुटपिट गरेको पीडितको आरोप
सुनिता बराल

महोत्तरी — विजय जुलुसमा झडप हुँदा ७ जना घाइते भएका छन् । महोत्तरी–१ बाट निर्वाचित एमालेका लक्ष्मी महतोको विजय जुलुसमा झडप भएको हो । जुलुसमा सहभागी गौशाला–२ निगौलका वडाध्यक्ष श्यामसुन्दर मण्डल नेतृत्वको समूहले प्रतिस्पर्धी दलका व्यक्तिलाई कुटपिट गरेको थियो । 

मंगलबार राति साढे ८ बजे वडाध्यक्ष मण्डलको टोलमा लक्ष्मी महतोले जितेको खुसियालीमा दीप प्रज्वलन गरिएको थियो । त्यसपछि डिजे बजाएर टोल घुम्ने क्रममा एक किराना पसलको अगाडि बसिरहेका कमलेशकुमार मण्डल, वीरेन्द्र मण्डल र राकेश महतोमाथि वडाध्यक्ष मण्डलसहित २०/३० जनाको समूहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

अचानक डिजे लिएर आउनेहरूले आफ्नो पसलमा बसिरहेका मानिसमाथि कुटपिट गरेको र आफूलाई पनि अपमानजनक व्यवहार गरेको किराना पसल सञ्चालक केवला देवीले बताइन् । भाग्न खोज्दा पसलेको घरभित्रै गएर ढोकासमेत फोडी आफूमाथि कुटपिट भएको घाइते कमलेशकुमार मण्डलले बताए । उनको गाला र कानमा चोट लागेको छ ।

गौशाला–२ कै रामछविला साह घटना भएको ठाउँमा हेर्न गएको बेला आफूमाथि आक्रमण भएको बताउँछन् । उनको टाउकोमा चोट लागेको छ । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा गएका साहमाथि पुनः अस्पतालमा पनि हातपात भएको साहले बताए । उनको टाउकोमा ६ वटा टाका लगाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उपचारका लागि अस्पताल गएका घाइतेलाई पुनः त्यही समूहका केही मानिस गएर साढे ११ बजे राति पुनः हातपात गरेका पीडितहरूले बताएका छन् । प्राथामिक केन्द्रमा उपचाररत रहेका घाइतेमाथि मध्यरातमा मानिस आएर कुटपिट गरेका प्राथमिक केन्द्रका स्वास्थ्यकर्मी राजीव साहले जानकारी दिए ।

अस्पतालमा पनि वडाध्यक्ष नेतृत्वको टोलीले पुनः हातपात गरेको र आफूसँग भएको मोबाइल र ४० हजार रकम पनि लिएको घाइतेका आफन्त दिनेशकुमार सिंहले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर आफूहरूमाथि हातपात भएको पीडितहरूले बताएका छन् ।

निर्वाचित महतोको पकेट मत क्षेत्र मानिएको गौशाला–२ मा ३२ सय मत खसेको थियो । त्यसमध्ये २५ सय मत महतोलाई खस्नुपर्ने दाबी गरिए पनि १८ सय मत मात्रै परेको थियो । विपक्षी गठबन्धनले भोट बिगारेको भन्दै गठबन्धनमा सहभागी भएकै आधारमा कुटपिट भएको आरोप पीडितहरूको छ ।

वडाध्यक्ष मण्डलले आफूहरूको समूहले कुटपिट नगरेको दाबी गरे । दीप प्रज्वलनपछि विजय उत्सवमा निस्केको डिजेसहितको टोलीलाई विपक्षीको घरआँगन नजिक जान नदिने गरी अवरोध गरेपछि दुवै पक्षबाट हातपात भएको उनको भनाइ छ । उनले आफ्नो समूहका ३ जना घाइते भएको जानकारी दिए ।

पीडितहरूले प्रहरी र प्रशासनले साथ नदिएको बताएका छन् । प्रहरीले भने दुवैतर्फबाट झडप भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले अहिले कसैलाई पक्राउ गरिहाल्ने अवस्था नरहेको जनाएको छ । यसबारे अनुसन्धानपछि दोषीमाथि कारबाही हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पँगेनीले बताए ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्तिको प्रतिस्थापन

ज्योति श्रेष्ठ

काभ्रे — बनेपा नगरपालिका–८ स्थित बहि टोलबाट हराएको अष्टधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन गरिएको छ । २०३१ सालमा बहि मन्दिरबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति भेटिएपछि बुधबार स्थानीय र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउामा प्रतिस्थापन गरिएको हो ।

४८ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित बनेपा बजार परिक्रमा गरी प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार गुर्जुहरुले (शाक्य समुदायको पुजारी) मन्दिरमा पूजापाठ गरेर उक्त मूर्ति प्रतिस्थापन गरिएको हो ।

यसरी भेटियो मूर्ति

बहि मन्दिरबाट हराएको २६ इन्च लम्बाइ र ८० केजी तौल भएको शाक्यमुनि बुद्धको मूर्ति २०३१ सालमा हराएको थियो । मूर्ति हराएपछि महिनौसम्म स्थानीय, प्रहरी र प्रशासनले महिनौंसम्म खोजी गरे । मूर्तिमा लगाइएको माला बनेपाको करुणामार्गस्थित नागपोखरी नजिकै भेटिएपछि सोही स्थान वरपर मूर्ति भेटिने आशंकामा पोखरी सफा गरेर पनि खोज्ने प्रयास गरिएको बहि ज्ञानमाला भजन खल: का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार बनेपा आसपासका बजार क्षेत्रमा धेरैसम्म खोजियो तर कही भेटिएन । ‘भेटिने आश पनि मारिसकेका थियौं,’ उनले भने ।

मूर्ति हराएपछि बहि ज्ञानमाला भजन खल:का पदाधिकारीले मूर्ति खोजिदिन पुरातत्व विभागलाई अनुरोध गरेको थियो । खोज्दै जाने क्रममा २०३५ सालमा काठमाडौंको एयरपोर्टमा भेटिएपछि विभागले सो मूर्ति सुरक्षाका लागि राष्ट्रिय संग्राहलयमा राखेको राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । भेटिएको मूर्ति मन्दिरमा प्रतिस्थापनका लागि बहि ज्ञानमाला भजन खल:बाट माग भएतापनि मन्दिरको जिर्ण अवस्था र असुरक्षाका कारण पुरातत्व विभागले मूर्तिलाई संग्राहलयमै राखिएको निर्देशक श्रेष्ठले बताए ।

बहि ज्ञानमाला भजन खल:ले २०७१ सालदेखि नै मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्ने तयारी गरेको थियो । तर २०७२ सालको भूकम्पका कारण मन्दिरमा पनि सामान्य क्षति भयो । २०७५ सालमा मन्दिरको पुर्न:निर्माण गर्न पुरातत्व विभागले निर्देशनका साथै १ करोड रुपैयाँ बजेट विनियोजन गर्‍यो । दुई वर्षमा मन्दिरको पुन:निर्माण सम्पन्न गरेपछि बहि ज्ञानमाला भजन खल:ले मूर्ति प्रतिस्थापनका लागि विभागलाई पुन: पत्रचार गरेको बहि ज्ञानमाला भजन खल:का अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मूर्ति प्रतिस्थापनका लागि सबै कागजात जुटाउन अलि समय खर्चिनुपर्‍यो । ‘२०७९ मा भदौमा विभागले मन्दिरको अनुगमन गर्‍यो, अनुगमनपश्चात सबै ठिक छ भनेर मूर्ति प्रतिस्थापनका लागि विभागले स्वीकृति दियो,’ उनले भने, ‘मूर्ति प्रतिस्थापनको लागि उत्तम साइत मंसिर १४ गते जुर्‍यो, संग्राहलयबाट मूर्ति फिर्ता ल्याउन सफल भयौं ।’

लामो समयपछि मूर्तिलाई फिर्ता ल्याइ मन्दिरमा प्रतिस्थापन गर्न सक्नु नै नगरको लागि ठूलो सफल्ता भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामेरा, साइरन, बत्ती, लगायत मजबुत संरचनाको व्यवस्थापन गरिएको छ । मूर्तिको संरक्षण गर्नु स्थानीय, समुदाय, नागरिक समाज सबैको दायित्व भएको बताउादै नगर प्रमुख शाक्यले भने, ‘यो मन्दिरसँगै नगरमा रहेका अन्य मठमन्दिर, गुम्बाहरुको संरक्षणका लागि पनि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको छ ।’

प्रकाशित : मंसिर १५, २०७९ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×