‘चुनावी रिसिइबी’ साध्न युवकको हत्या- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चुनावी रिसिइबी’ साध्न युवकको हत्या

हत्या आरोपमा २ पक्राउ
भरत जर्घा मगर

सिरहा — सिरहा बरियारपट्टी गाउँपालिका–१ नरगीका ३२ वर्षीय एक युवकको हत्या भएको छ । नरगी टोलका  ३२ वर्षीय रामशंकर यादवलाई बुधबार राति हत्या गरी नरगी–बडहरी सडक खण्डमा फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार नरगी–बडहरी सडक खण्डमा सडक दुर्घटनामा युवकको मृत्यु भएको खबर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्न आरोपमा बरियारपट्टी गाउँपालिका–१ बडहरीका ४८ वर्षीय दिपु भन्ने दिपेन्द्र कुमार यादव र ४२ वर्षीय अजयकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकका आफन्तले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान पढाएको डीएसपी बुढाथोकीले जानकारी दिए । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

यस्तो थियो घटना

मृतक रामशंकर, दिपेन्द्र र अजय गाउँटोल सँगै घुमफिर गर्ने, खानपिन गर्थे । स्थानीयका अनुसार रामशंकर कांग्रेसका कार्यकर्ता थिए भने अजय साह र दिपेन्द्र माओवादीमा संलग्न थिए । फरक दलमा भए पनि आइतबार सम्पन्न चुनावमा भोट माग्न उनीहरू सक्रिय थिए । सम्बन्ध रामै्र थियो । सिरहा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव पराजित भइन् । सोही क्षेत्रमा पर्ने बडहरी र नरगी गाउँबाट अपेक्षा गरेअनुरुप उम्मेदवारलाई भोट परेन ।

मृतकका भाइ सुरेश यादवका अनुसार शुक्रबार राति दिपेन्द्रले रामशंकरलाई फोन गरेर बोलाएपछि उनी नरगी चोकतिर गएका थिए । ‘दिपेन्द्र, अजय र डम्बरसहितले दाजु रामशंकरलाई नरगीको सीमामा रहेको मदिरा पसलमा लगे,’ सुरेशले भने, ‘त्यहीँ उनीहरूले दाजु रामशंकरको हत्या गरेर सडकमा फाले ।’

रामशंकर शुक्रबार राति मृत फेला परेपछि भोलिपल्ट स्थानीयले दिपेन्द्रलाई खोज्दै घर गए । दिपेन्द्रको निर्माणाधीन घरमा रामशंकरको मफलर रगतले लतपतिएको भेटिएपछि दुर्घटना नभइ हत्या भएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि दबाब दिए । घरको कोठादेखि आँगनसम्म रगतको छिटा गोबर र माटोले लिपेर मेट्न खोजिएको जस्तो देखिएपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा प्रहरी पुग्यो । सुरुमा सडक दुर्घटनाजस्तो देखिए पनि स्थानीयको सहयोगमा घटना अनुसन्धान गर्दै जाँदा प्रारम्भिक अनुसन्धानमै हत्याको रहस्य खुलेको हो ।

पक्राउ परेका दिपेन्द्र र अजयलाई जिल्ला अदालत सिरहाबाट सोमबार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।चुनावी परिणाम पछि उनीहरुबीच खटपट परेको र सोही निहुँमा दाजुको हत्या गरेको सुरेश र आफन्तको आरोप छ ।

प्रकाशित : मंसिर १२, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन 

लक्ष्मी लम्साल

बेइजिङ — चीनको चच्याङ प्रान्तको व्यापारिक सहर 'यिवु'मा आयोजित २८औं मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्ना उत्पादनको प्रवर्द्धन गरेको छ । साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो । 

पहिलो पटक नेपाली पेभेलियन बनाइएको र नेपालबाटै आएका ब्यापारीहरूले नेपाली थाङ्का, मूर्तिकला तथा संस्कृतिको प्रदर्शन गरेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले बताए । कोभिडका कारण बेइजिङबाट राजदूतावासका प्रतिनिधिहरू उपस्थित हुन सकेनन् । अन्य देशका कतिपय उच्च अधिकारीहरुले पनि भिडियोमार्फत् आ आफ्नो देशको उत्पादनको प्रवर्द्धन गरेका थिए ।

यिवु अन्तर्राष्ट्रिय एक्स्पो सेन्टरमा २४ देखि २७ तारिखसम्म आयोजित प्रदर्शनीमा नेपालले पर्यटनमा सम्भाव्यताबारेमा प्रचार गरेका थिए । विधिवत रुपमा २ वर्षदेखि क्रियाशील नेपाल यिवु चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु दुमरूले कतिपय चिनियाँ लगानीकर्ता नेपाल जान इच्छुक भए पनि चीनको कोभिड पोलिसीका कारण फर्किन गाह्रो हुने भएकाले पर्खिरहेको बताए ।

विश्वका विभिन्न देशका २ सय ३३ भन्दा बढी कम्पनीको आउजाउ हुने संसारको सबैभन्दा ठूलो यिवु होलसेल मार्केट संचालनमा आएको ४० वर्ष पुगेको छ । प्रदर्शनीलाई महत्त्व दिँदै जापान, फिनल्याण्ड, रुससहित ६ देशका १५ भगिनी सहरहरूले भिडियो मार्फत् भाग लिए । चीन–विदेश सम्बन्धका लागि महत्त्वपूर्ण आधार र बलियो समर्थनका रुपमा यो प्रदर्शनीलाई लिइएको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका महासचिव युआन मिन्ताओले भिडियोमार्फत् बताए । उनले भने, 'सन् १९७३ देखि चीन–विदेशीमैत्री शहरहरूको भगिनी सम्बन्ध तीव्र भएको छ र अहिले चीनले पाँच महादेशलाई समेट्ने गरी मित्र र साझेदार सञ्जालको अन्तर्राष्ट्रिय सर्कल स्थापना गरेको छ।’ चीनले २७ देशहरूमा ५४ शहरहरूसँग भगिनी शहर सम्बन्ध र ३४ विदेशी शहरहरूसँग मैत्रीपूर्ण विनिमय सम्बन्धको विकासको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्रकाशित : मंसिर १२, २०७९ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×