कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामजानकी विवाह मनाउन बाह्रबिघामा मानवसागर

श्यामसुन्दर शशि

जनकपुर — रामजानकी विवाह महोत्सवको मुख्य आकर्षण मानिने शोभायात्रा र स्वयम्वरमा सहभागी हुन दसौं हजार श्रद्धालुहरू सहभागी भए । ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा सोमबार अपराह्न राम र सीताको डोलाबीच स्वयम्वर भइरहँदा ठूलो संख्यामा श्रद्धालुहरूले ‘जय सीयाराम’को जयकारा लगाउँदै हर्षबधाइ गरेका थिए ।

रामजानकी विवाह मनाउन बाह्रबिघामा मानवसागर

यस क्रममा सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टिसमेत गरिएको थियो । किंवदन्ती अनुसार त्रेतायुगमा राम र सीताबीच विवाह भइरहँदा आकाशबाट देवी देवता तथा ऋषिमुनिहरुले पुष्टवृष्टि गरेको रामचरित मानसमा उल्लेख छ ।

जनकपुरका राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरसहितका मठ मन्दिरहरुमा सोमबार बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको थियो । बिहान मठ मन्दिरहरुमा पूजापछि श्रद्धालुहरु अपराह्न बाह्रबिघा मैदान पुगेका थिए ।

दिउँसो २ बजेपछि जानकी मन्दिरबाट बाजागाजा, लावालस्करसाथ निस्केको जानकीको डोला तथा राम मन्दिरबाट निस्किएको रामको डोलाबीच बाह्रबिघा मैदानमा स्वयम्बर भएको हो । त्रेता युगमा राम जानकीबीच यसै मैदानमा स्वयम्बर भएको किंवदन्ती छ ।

विवाह महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखभन्दा धेरै श्रद्धालु सहभागी भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले दाबी गरेका छन् । कोरोनापछिको पहिलो विवाह महोत्सव भएकाले श्रद्धालुको संख्या अधिक भएको छोटे महन्त रामरोशन दासले भने।

‘यस वर्ष जाडो पनि छैन । गर्मी पनि छैन । जनकपुर रेल्वे पनि संचालनमा आइसकेको छ । श्रद्धालुहरुलाई सहभागी हुन सजिलो भएको छ,’ छोटे महन्त दासले भने ।

मेला भर्न आएका श्रद्धालुहरुको आवास तथा भोजनको व्यवस्था जानकी मन्दिरसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, माडवारी सेवा समिति, स्टेसन एरिया युवा क्लवलगायत संघ संस्थाहरुले गरेका छन् ।

यसैगरी विभिन्न संघ संस्थाहरुले नि:शुल्क भोजन, खानेपानी, स्वास्थ्य शिविर आदिको व्यवस्था पनि गरेका थिए । बाह्रबिघा रंगभूमि मैदानमा स्वयम्बर भएपछि राम सीताको डोलाको नेतृत्वमा निस्किएको शोभायात्राले नगर परिक्रमा गरेको थियो ।

डोलाको दर्शन गरी परिक्रमा मार्गको दुबैतर्फ तथा घरको कौसीमा स्थानीयहरू उभिरहेका थिए । संयुक्त डोला राति जानकी मन्दिर प्रवेश गर्नेछन् । जहाँ राति राम सीताको मिथिलाको विधि विधान अनुसार विवाह हुनेछ ।

साताव्यापी राम जानकी विवाह महोत्सव मार्फत मिथिलाको वैवाहिक विधिलाई जीवन्त राखिएको संस्कृतिविद सुनिलकुमार मल्लिकले बताए । उनले भने 'विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज आम मैथिलले चेली बेटीको बिहेमा गर्छन् ।' जानकी मन्दिरमा पनि यसरी नै विवाह महोत्सवको आयोजन गरिन्छ । यस महोत्सवले लोपोन्मुख मैथिली विवाह गीतहरुलाई समेत संरक्षित गरेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १२, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?