कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

दश लाख श्रद्धालु सहभागी हुने विश्वास
श्यामसुन्दर शशि

जनकपुर — साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ । 

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

गोपाल र पगला बाबा धर्मशालाजस्ता सस्ता धर्मशालाहरू श्रद्धालुहरूले भरिभराउ छन् । यात्रीहरूको विश्रामका लागि बाह्रबिघामा पण्डाल निर्माण गरिए पनि सयौं यात्री सर्वसाधारणको बरन्डा, खुलाचौर, राम मन्दिरको अगाडिको बर्साति र कम्पाउन्डमा बास बसेका छन् । बाह्रबिघा मैदानमा अस्थायी शौचालय तथा खानेपानीको व्यवस्था गरिएको छ । तर नगरभित्र स्थायी र अस्थायी शौचालयको कमी छ । यात्रीलाई दिशा/पिसाब तथा खानेपानीका लागि भौँतारिनुपर्ने अवस्था छ ।

आइतबार बिहान पौने १० बजेको रेलबाट जनकपुर आएका दरभंगाका महाजन महतो भानुचोकमा शौचालय नभेटेर हैरान थिए । झन्डै २० जनाको टोलीमा आएका महतो सस्तो धर्मशाला खोज्दै थिए । उनको प्रतिक्रिया थियो- सबै यात्री होटल र लजमा बस्ने हैसियतका हुँदैनन् । हामीजस्ताका लागि नगरपालिकाले शौचालय र खानेपानीको व्यवस्था गरिदिँदा राम्रो हुन्थ्यो ।’

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव विवाह महोत्सवमा १० लाख श्रद्धालु सहभागी हुने दाबी गर्छन् । कान्तिपुरसित उनले भने‚ ‘कोरोनापछि पहिलोपटक आयोजना हुन लागेको विवाह महोत्सवमा देश-विदेशबाट १० लाख जति श्रद्धालु सहभागी हुने विश्वास गरेको छु ।’

बुधबार नगरदर्शनसँगै सुरु भएको साताव्यापी रामजानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला भएको थियो भने शुक्रबार धनुषयज्ञ तथा शनिबार तिलकोत्सव आयोजना गरिएको थियो । महोत्सवको पाँचौँ दिन आइतबार सन्ध्या मटकोर हुन्छ भने सोमवार अपराह्न सीता स्वयंवर तथा रात्रिराम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ । मंगलबार जन्तीहरूलाई भोज (रामकलेवा) खुवाएर महोत्सव सम्पन्न हुनेछ ।

प्रकाशित : मंसिर ११, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?