कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा ६ स्वतन्त्र निर्वाचित

अधिकांशले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रतर्फ उम्मेदवारी दिएका थिए
शंकर आचार्य

पर्सा — मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । सर्लाही–३ (१) मा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भए । कुशवाहाले एमालेका उम्मेदवार गणेश प्रसाईंलाई १ हजार ४२५ मतान्तरले पराजित गरे । उनले १६ हजार ५९१ मत पाए भने प्रसाईले १५ हजार १६६ मत प्राप्त गरे । 

प्रदेशसभामा ६ स्वतन्त्र निर्वाचित

सत्ता गठबन्धनका उम्मेदवार डिल्लीप्रसाद उप्रेतीले भने ५ हजार ३ सय ७२ मत मात्रै पाए । कुशवाहा कांग्रेसको महाधिवेशनमा सर्लाही–३ (१) प्रदेश अध्यक्षमा चुनिएका थिए । त्यसको केही महिनामै उनी माओवादी केन्द्रमा प्रवेश गरे । कुशवाहालाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल सर्लाही आएका थिए ।

प्रदेशसभा सदस्यको टिकट पाउने सर्तमा माओवादी प्रवेश गरे पनि अन्तिम समयमा सत्ता गठबन्धनअन्तर्गत नेकपा एकीकृत समाजवादीले भाग पाएपछि कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचनमा जित हात पारे । उनलाई सत्ता गठबन्धनमै रहेको माओवादी केन्द्रबाट वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीलगायतले सघाएका थिए । कुशवाहा बागी बनेर चुनावमा होमिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

गठबन्धनका बलिया उम्मेदवारबीच पर्सा–३ (१) बाट स्वतन्त्र उम्मेदवार बनेका प्रमोदकुमार जैसवाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले ७ हजार ३ सय ८१ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमाले–जसपा गठबन्धनबाट एमालेका अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत प्राप्त गरे । पाँचदलीय गठबन्धनका छोटेलाल यादव ४ हजार ३ सय ८१ मतसहित चौथो स्थानमा रहे ।

४४ वर्षीय जैसवाल सखुवाप्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप जैसवालका दाई हुन् । उनले यसअघि जसपाबाट टिकट पाउने पक्का थियो । तर, एमाले–जसपा गठबन्धनपछि यो क्षेत्रबाट एमालेका अन्सारीले टिकट पाए । त्यसपछि जैसवालले स्वतन्त्रतर्फ उम्मेदवारी दिएका हुन् । गैरसरकारी संस्थामा कामको लामो अनुभव रहेका जैसवालले अरुणोदय युवा क्लब महुवनका कार्यक्रम अधिकृतका रूपमा काम गरेका थिए । त्यसपछि एक्सन एड नेपालमा आबद्ध भएका उनले क्षेत्रीय प्रमुखका रूपमा नेपालगन्ज र विराटनगर कार्यालय प्रमुखका रूपमा करिब १० वर्ष काम गरे ।

यस्तै, सप्तरी–४ (२) मा स्वतन्त्र उम्मेदवार अनिरुद्रकुमार सिंह विजयी भएका छन् । लगातार प्रतिनिधिसभा र राष्ट्रिय सभामा पराजित हुँदै आएका अनिरुद्र प्रदेशसभामा ९ हजार ९ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अभिषेक यादवले ७ हजार ९ सय २० मत पाए । अनिरुद्र मनोनयनको अघिल्लो दिनसम्म जसपाकै केन्द्रीय सदस्य थिए ।

पार्टीले प्रदेशसभामा उनलाई टिकट नदिई नेतृ रेणु यादवका पुत्र अभिषेकलाई टिकट दिएपछि उनी स्वतन्त्र बने र जित निकाले । पहिलो संविधान सभादेखि नै प्रतिनिधिसभा सदस्यमा तत्कालीन फोरमबाट उम्मेदवार भई पराजित हुँदै आएका अनिरुद्र राष्ट्रिय सभाका लागि पनि तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार भएका थिए । तत्कालीन राजपाका उम्मेदवार आफ्नै दाजु मृगेन्द्रकुमार सिंह यादवबाट राष्ट्रिय सभामा पराजित भएका थिए । अनिरुद्रका छोरा आतेशकुमार सिंह जसपाबाट सप्तरीको बोदेवरसाइन नगरपालिका प्रमुख छन् भने दाजु मृगेन्द्रकुमार सिंह यादव जसपाबाट अहिले राष्ट्रिय सभामा छन् ।

आफ्नो पार्टीसित असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बनेका तीन जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसले टिकटबाटै वञ्चित गरेपछि सर्लाही–४ बाट अमरेशकुमार सिंह, एमालेको टिकट पन्छाउँदै रौतहट–२ र ३ बाट क्रमशः किरण साह र प्रभु साह स्वतन्त्र उठेर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?