कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा नयाँ–पुरानाको मिश्रण

२०७४ मा निर्वाचित कतिपय सांसद दोहोरिँदा पहिलो अनुभव बटुल्न संसद् प्रवेश गर्नेको संख्या पनि उल्लेख्य
सन्तोष सिंह

(धनुषा) — नयाँ र पुराना अनुहारको मिश्रणले मधेस प्रदेशसभामा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व हुने देखिएको छ । १ सय ७ सदस्यीय प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भई ६४ जना र समानुपातिकबाट ४३ जना सांसद चुनिने व्यवस्था छ ।

प्रदेशसभामा नयाँ–पुरानाको मिश्रण

२०७४ को निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि दोहोरिएका छन् । संसद्को पहिलो अनुभव बटुल्न नयाँ अनुहारले पनि उल्लेख्य संख्यामा प्रदेशसभामा प्रवेश पाउँदा सबै पक्षको सम्मिश्रण हुने भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिएका छन् । उनी पर्सा–१ (२) बाट निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहेका राउतले मुख्यमन्त्रीमा पूरै कार्यकाल बिताएका छन् । कांग्रेस नेता रामसरोज यादव धनुषा–३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा जितेका छन् । उनले जसपाका युवा नेता जितेन्द्रकुमार यादवलाई पराजित गर्दै दोस्रो इनिङ्सका लागि प्रदेशसभामा प्रवेश पाएका हुन् । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा–४ (२) बाट निर्वाचित भएका छन् । सोनलले एमालेका आत्माराम साहलाई पराजित गर्दै प्रदेशसभामा दोस्रो पटक प्रवेश पाएका छन् । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री रहिसकेका छन् । पर्सा–२ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी फेरि निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा उनी तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । पर्साकै अर्को क्षेत्र–४ (१) बाट कांग्रेसका शंकरप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

रौतहट–४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि दोस्रो पटक सांसद बनेका छन् । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएरै उनले जितेका थिए । पछि जसपा प्रवेश गरेका थिए । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सांसदबाट राजीनामा दिएका उनी पराजित भएका थिए । अहिले प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर फेरि जितेका हुन् । यसैगरी, सर्लाहीबाट ४ जना प्रदेश सांसद दोस्रो पटक सांसद बनेका छन् । सर्लाही–१ (१) बाट लोसपाका उपेन्द्र महतो, १ (२) बाट वेंची लुङेली, ३ (२) बाट जसपाका सञ्जयकुमार यादव र ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा सिट सुरक्षित गरेका हुन् । सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत भइसकेका छन् । महोत्तरी–३ (१) मा निर्वाचित अभिराम शर्मा र ३ (२) मा निर्वाचित रानी शर्मा पनि दोस्रो इनिङ्सका लागि प्रदेशसभा प्रवेश गर्ने भएका छन् । दुवै लोसपाका हुन् । शर्माले सामाजिक विकास राज्यमन्त्रीको समेत जिम्मेवारी पाएका थिए । शर्माले जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गरेका हुन् । झा, मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए ।

धनुषा–२ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यादव जनकपुरको गंगासागर तलाउको सफाइ अभियान र गंगा आरती थाल्ने व्यक्ति हुन् । सप्तरी–३ (१) मा कांग्रेसका मोहमद समिम पनि दोस्रो पटक निर्वाचित भएका छन् ।

नयाँ अनुहारमा को–को ?

पर्सा–१ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी नयाँ अनुहार हुन् । एमालेका बिचारीप्रसाद यादवलाई पराजित गर्दै उनले प्रदेशसभामा स्थान निश्चित गरेका हुन् । पर्सा–२ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल पनि प्रदेशसभाका लागि नयाँ अनुहार हुन् । यस्तै, पर्सा–३ (२) बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको पनि प्रदेशसभामा यो पहिलो यात्रा हो । उनी कांग्रेस पर्साका सभापति पनि हुन् ।

यस्तै, बारा–३ (१) बाट निर्वाचित एमालेका रवीन्द्र दास श्रेष्ठ पनि पहिलो पटक सांसद चुनिएका छन् । श्रेष्ठले माओवादीका मुकेश साहलाई पराजित गरेका हुन् । बाराकै अर्को क्षेत्र–४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन् । थारूले माओवादीकै क्षेत्रबहादुर श्रेष्ठलाई हराएका हुन् ।

रौतहटमा प्रदेशसभामा निर्वाचित ७ जनामध्ये ६ जना नयाँ अनुहार हुन् । क्षेत्र–१ (१) बाट नागेन्द्र साह, १ (२) बाट कृष्णप्रसाद यादव निर्वाचित भए । कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो । साहले एमालेका राजकिशोरप्रसाद यादव र कृष्णले स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई पराजित गरेका हुन् । कृष्ण कांग्रेसका प्रदेश सभापति पनि हुन् ।

यसैगरी, क्षेत्र–२ (१) मा एमालेका मोहम्मद जैद आलमले स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद सिन्हालाई पराजित गर्दै पहिलो पटक प्रदेशसभामा प्रवेश पाएका छन् । नेकपा (एकीकृत समाजवादी) का कनिश पटेल पनि पहिलो पटक सांसद बनेका छन् । उनी क्षेत्र–२ (२) बाट निर्वाचित भएका हुन् । क्षेत्र–३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय विजयी भए । उनको पनि प्रदेशसभाको यो पहिलो यात्रा हो । क्षेत्र–४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन् ।

सर्लाही–४ (२) मा माओवादीका फकिरा महतो र धनुषा–२ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बनेका छन् । सप्तरीका ६ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने ५ जना नयाँ छन् । यसमध्ये ४ जना जनमत पार्टीका छन् । जसमा क्षेत्र–३ (२) मा शम्भुकुमार साह, क्षेत्र–२ (१) मा सतिशकुमार सिंह, क्षेत्र–२ (२) मा महेशप्रसाद यादव र क्षेत्र–१ (२) मा सकिल मियाँ छन् । क्षेत्र–१ (१) मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ हुन् । लेखीलाई यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ ।

मन्त्री नै पराजित

२०७४ मा निर्वाचित भई प्रदेशका महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका केही मन्त्रीहरू भने यसपल्ट पराजित भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी–२ (१) मा पराजित भएका छन् ।

यस्तै, ५ वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भए । उनी रौतहट–१ (२) मा उम्मेदवार थिए । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजित भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?