कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ स्थानमा स्वतन्त्र अघि

प्रदेशका ३२ सिटमध्ये कांग्रेस ८, एमाले ७, जसपा ५, माओवादी २, एस २, लोसपा १ र जनमत १ स्थानमा अगाडि
मधेस ब्युरो

जनकपुर — मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ सिटमध्ये ६ वटामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । मंगलबार साँझसम्म सर्लाहीका दुई, रौतहटका दुई, महोत्तरीको एक र बाराको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार मतगणनामा अगाडि देखिएका हुन् । स्वतन्त्रमध्ये कोही गठबन्धनका कारण दलबाट बागी भएका थिए भने कसैले दलको टिकटलाई पन्छाउँदै स्वतन्त्रतर्फ उम्मेदवारी दिएका थिए । 

६ स्थानमा स्वतन्त्र अघि

महोत्तरी–३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् । कापरलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पछ्याइरहेका छन् । ठाकुरलाई भने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हरिनारायण यादवले पछ्याएका छन् । कापर ठाकुरभन्दा करिब दोब्बर मतले अगाडि छन् । महोत्तरी–३ मा मतगणना सुस्त छ । ५९ हजार ३ सय २१ मत खसेकोमा मंगलबार अपराह्नसम्म १० हजार मत मात्र गनिएको छ । महोत्तरी–३ मा ठाकुरलाई सत्ता गठबन्धनको साथ थियो भने जसपाका यादवलाई एमालेले सघाएको थियो । एमालेमा रहेका कापरले भने टिकट नपाएपछि त्यहाँबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै, बारा–२ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा छन् । स्वतन्त्र उम्मेदवार यादवले पनि मतगणना थालिएदेखि नै अग्रता कायम राखेका छन् । उनलाई माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले पछ्याइरहेका छन् । मंगलबार अपराह्नसम्म यादव कुशवाहाभन्दा ८ सय मतले अगाडि छन् । बारा–२ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादव तेस्रो स्थानमा छन् । उनले ०७४ को निर्वाचनमा यही क्षेत्रबाट जितेका थिए । स्वतन्त्र उम्मेदवार रामकिशोर जसपाका केन्द्रीय सदस्य थिए । जसपाले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । यसअघि उनी दुईपटक संसदीय निर्वाचनमा पराजित भएका थिए ।

सर्लाहीका दुई निर्वाचन क्षेत्रमा दललाई पछि पार्दै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् । ४ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र–१ र ४ मा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र अगाडि छन् । सर्लाही क्षेत्र–१ मा मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई सत्ता गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार रामप्रकाश चौधरी पछ्याइरहेका छन् । मंगलबार दिउँसोसम्ममा खड्काले ४ हजार १ सय १० मत प्राप्त गरेका छन् भने चौधरीले ३ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । जसपा–एमाले गठबन्धनबाट जसपाका निवर्तमान सांसद प्रमोद साहले भने २ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह अगाडि छन् । कांग्रेसका निवर्तमान सांसद सिंह पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । मंगलबार अपराह्नसम्म सिंहले २ हजार २ सय ५९ मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले २ हजार २ सय ५४ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीका बागी नेता शिवपुजन रायकी छोरी मधुमाला कुमारीले १ हजार ६ सय ३३ मत ल्याएकी छन् । यहाँ मतगणनामा ढिलाइ भइरहेको छ । दलका प्रतिनिधिलाई मतपत्र देखाउन नै समय बढी लाग्ने भएकाले गणनामा ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रौतहट–३ र २ मा स्वतन्त्र उम्मेदवारहरू क्रमशः प्रभु साह र किरण साह अगाडि छन् । प्रभु एमालेको तत्कालीन पोलिटब्युरो सदस्य हुन् । अर्का साह एमालेकै नेता हुन् । दुवै नेकपा माओवादीमा सँगै थिए । एक वर्षअघि माओवादी छाडेर जसपामा लागेका किरणलाई एमालेमा ल्याउने प्रभु नै हुन् । प्रभु क्षेत्र–३ बाट यसअघिका तीन निर्वाचनमा विजयी भएका थिए । उनलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले पछ्याइरहेका छन् । प्रभुकै निकट मानिएको रौतहट–२ का किरण साह पनि पार्टीबाट टिकट पाउन नसकेपछि स्वतन्त्र उम्मेदवार भएका हुन् । मुस्लिम बाहुल्य क्षेत्रमा उनले कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा फिरदोस आलमलाई पछि पारेका छन् । २०७४ को चुनावमा किरण कांग्रेसका आफताबसँग १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । मधेसका प्रतिनिधिसभाको ३२ सिटमा कांग्रेस ८, एमाले ७, जसपा ५, माओवादी २, एस २, लोसपा १ र जनमत १ स्थानमा अगाडि छन् । प्रदेशसभाका ६४ सिटमध्ये दुई वटा सिट जनमत पार्टीले जितेको छ ।

सुनिता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट) र लक्ष्मी साह (बारा)

प्रकाशित : मंसिर ७, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?