कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ पुग्दैनन् उम्मेदवार

‘जनताको समस्या नेताले बुझ्नुपर्छ । नेता, उम्मेदवार नै गाउँ नआएपछि हामीले आफ्नो समस्या कोसमक्ष राख्नु  ?’
भरत जर्घा मगर

सिरहा — लहान बजारदेखि १७ किलोमिटर उत्तरमा चारैतिर डाँडाले घेरिएको विकट बस्ती छ– बेताहा । जहाँ राई र तामाङ समुदायका ८४ घर परिवारको बस्ती छ । बस्तीमा पुग्न ढोढनादेखि पैदल हिँड्न सकिने ‘ट्र्याक’ खोलिएको छ ।

जहाँ पुग्दैनन् उम्मेदवार

स्थानीयले त्यही ट्र्याकमा जोखिमपूर्वक मोटरसाइकल चलाउँदै आएका थिए । त्यो पनि यसपालिको वर्षामा जीर्ण बन्यो । बेताहावासी लहान बजार भर्न चार घण्टा हिँड्नुपर्छ । बाटो मात्र होइन, बस्तीमा खानेपानीको समस्या उस्तै छ । खोला नजिक खनिएको कुवाबाट पानी ल्याउन पनि घण्टौं हिँड्नुपर्छ ।

बस्तीमा कक्षा ५ सम्म पढाइ हुने विद्यालय छ । माध्यमिक विद्यालय जान १ घण्टा हिँडेर छिमेकी भसुवा गाउँ पुग्नुपर्छ । बस्तीमा मेडिकल त खोलिएको छ, तर स्वास्थ्यकर्मी नियमित हुँदैनन् । बिरामी पर्दा लहान नै झर्नुपर्छ । आधारभूत विकासबाट वञ्चित रहेको बेताहा गाउँ लहान नगरपालिका–१५ मा पर्छ । नगरवासी कहलिए पनि बेताहाको दुःख ज्युँकात्युँ छ । लहानबाट दुई दिनमा वृद्ध भत्ता बुझेर फर्किएका ७३ वर्षीय लालबहादुर राई घरमा भेटिए । उनी पैदल हिँडाइले थकित थिए ।

‘१२ हजार रुपैयाँ बैंकबाट बुझें,’ उनले भने, ‘पैसो हात पर्दा खुसी पनि भएँ, दुई दिन हिँड्नुपर्दा शरीर फतक्कै गलेको छ बाबु ।’ वृद्ध भत्ता बुझेर चामल, नुन, तेल बोक्नुपर्दा बुढ्यौली शरीर हल न चल भयो । लालबहादुर परिवारको जीविका त्यही वृद्ध भत्ताले चलेको छ । परिवारमा तीन जना छन् । पत्नी यसपटक ७० पुगेकी मैना राई र अपांगता भएका छोरा ४५ वर्षीय आश राई । दुई कट्ठा ऐलानी जग्गा ।

यसपटक लालबहादुरकी पत्नी मैनाले पनि वृद्ध भत्ताका लागि वडामा गएर नाम दर्ता गराएकी छन् । हिँड्न नसक्ने अपांगता भएका छोराको पनि यसपटकदेखि भत्ता आउन थालेको लालबहादुरले सुनाए । लालबहादुर मात्र होइन, बेताहाका अधिकांशको गुजाराको माध्यम खेतबारी नभएकै कारण पशुपालन हो । ‘खेतबारी हुने खेतीपाती गर्छन्, त्यो पनि आकाशे पानीको भरमा,’ उनले भने, ‘खेतीपाती नहुने गाई, बाख्रा बस्तुभाउ पाल्छन्, त्यही बेचेर गुजारा चलाउनुपर्छ ।’

गाउँका युवा रोजगारीका लागि सहर झरेका छन् भने कोही विदेशमा छन् । बस्तीका बच्चादेखि वृद्धसम्मलाई मंसिर ४ गते चुनाव हो भन्ने थाहा छ । तर, निर्वाचनको मिति आउन केही दिन बाँकी रहँदा कुनै पनि दलका उम्मेदवार भोट माग्न पुगेका छैनन् । बजार क्षेत्रमा समृद्धिको नारा घन्काउने दल र उम्मेदवारले आफूहरूलाई उपेक्षा गरेको बेताहावासीको गुनासो छ । बस्तीमा २ सय ५० भन्दा बढी मतदाता छन् । चार पांग्रे सवारी नआउने भएकाले भोट माग्न नआएको होला भन्ने अनुमान उनीहरूले गरेका छन् । ‘होइन भने भोट माग्न आउँथ्यो होला,’ बस्तीका युवा कुमार राईले भने, ‘विकास दिने र समस्या बुझिदिने नेताहरू भोट माग्न नआउनु भनेको बेताहावासीलाई उपेक्षा गरेको बुझेका छौं ।’

त्यसो त बेताहावासी उम्मेदवार गाउँमा आउलान् र बाटोघाटो, खानेपानीका लागि माग गरौंला भन्ने आशामा बसेका छन् । ‘जनताको समस्या नेताले बुझ्नुपर्छ,’ कुमारले भने, ‘नेता, उम्मेदवार नै गाउँ नआएपछि हामीले आफ्नो समस्या कोसमक्ष राख्नु ।’ दलका उम्मेदवारहरूले बेवास्ता गरेपछि बेताहावासी चुनावमा भोट नखसाउने मनस्थितिमा छन् । ‘कुनै उम्मेदवार पनि भोट माग्न आएका छैनन्,’ बस्तीका ६० वर्षीय टंकबहादुर तामाङले भने, ‘नेताले माया नगरेपछि हामी पनि भोट खसाउन जाँदैनौं ।’ त्यसो त बेताहावासीलाई भोट खसाउन पनि त्यति सहज छैन । भोट खसाउन चार घण्टा पैदल हिँडेर ढोढनास्थित वडा कार्यालय नजिकको विद्यालय पुग्नुपर्छ । ‘नेताले बिर्से,’ उनले भने, ‘हामीले पनि बिर्संदा हुन्छ होला ।’

बेताहावासी वडाको सामान्य कामका लागि चार घण्टा पैदल हिँड्न बाध्य छन् । सोलार बत्ती रात काट्ने उनीहरू सञ्चार सम्पर्कबाट समेत टाढा छन् । वर्षायाममा पालिका र बजारसँग सम्पर्कविच्छेद हुन्छ । यसै क्षेत्रका रुम्जाटार, सोलिढुंगा, मैनाटारलगायत गाउँमा पनि चुनावी चहलपहल छैन ।

प्रकाशित : मंसिर १, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?