कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गठबन्धनविरुद्ध सर्लाही कांग्रेसको संस्थापन पक्ष

सत्ता गठबन्धनका उम्मेदवारको विरोध गर्दै अन्य दलबाट उठेकालाई जिताउन आग्रह
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा कांग्रेसको संस्थापन पक्षका नेताहरू सत्ता गठबन्धनको विपक्षमा लागेका छन् । कांग्रेसका निवर्तमान सभापतिसहितका नेताहरूले गठबन्धनका उम्मेदवारको विरोध गर्दै अन्य दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।

गठबन्धनविरुद्ध सर्लाही कांग्रेसको संस्थापन पक्ष

कांग्रेसका निवर्तमान सभापति तथा क्षेत्र–४ का उम्मेदवार नागेन्द्रकुमार रायले अन्य दलका उम्मेदवारलाई सघाउन कार्यकर्ता तथा मतदातालाई आग्रह गर्दै आएका छन् । रायको बसोबास क्षेत्र इनरवाटोलमा उनले औपचारिक रूपमा गठबन्धनको विपक्षमा उभिएका नेताहरूका लागि मत मागिरहेका हुन् ।

क्षेत्र–२ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीको चुनाव चिह्न लिएर महिन्द्र राय यादव छन् । क्षेत्र–२ को प्रदेश १ मा भने माओवादीका सुनील साह र २ मा कांग्रेसका कौशल किशोर राय उम्मेदवार बनेका छन् । यादवको विपक्षमा सत्ता गठबन्धनकै एक घटक लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभामा तथा प्रदेश १ मा कांग्रेसका जंगीलाल राय तथा प्रदेश २ मा लोसपाका मेथुर चौधरी उम्मेदवार छन् ।

कांग्रेसका निवर्तमान सभापति रायले गठबन्धनमा रहेका महिन्द्र रायका लागि मत माग्नुभन्दा पनि उनले लोसपा नेता महतोका लागि मत मागिरहेका हुन् । क्षेत्र २ को प्रदेश २ मा आफ्नै पार्टी (कांग्रेस) का नेता कौशल उम्मेदवार हुँदाहुँदै पनि रायले लोसपाबाट उम्मेदवार बनेका चौधरीका लागि मत मागिरहेका छन् ।

कांग्रेसका निवर्तमान सांसदसमेत रहेका रायले कार्यकर्तालाई सम्बोधन गर्दै लोसपा पनि गठबन्धनमै भएका कारण महतो र चौधरीलाई मत दिन आग्रह गरेका हुन् । ‘प्रतिनिधिसभामा राजेन्द्र महतो र प्रदेश सभामा मेथुर चौधरीलाई मत हाल्नुहोला,’ कांग्रेसबाट कानून सहायक मन्त्री समेत भइसकेका रायले भने, ‘लोसपा पनि गठबन्धनमै रहेको दल हो, त्यसकारण बिनाझिझक वहाँहरूलाई मत दिनुहोला ।’ रायले गठबन्धन दलको उम्मेदवारको कहीँ कतै चर्चै गरेका छैनन् ।

स्रोतका अनुसार प्रदेशमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कौशल संस्थापन इतर पक्ष भएकाले उनलाई निवर्तमान सभापति रायले असहयोग गरेका हुन् । कांग्रेसका पूर्वजिल्ला सभापति लक्ष्मण रायले आफ्नै पार्टीबाट उम्मेदवार बनेकाको साटो विपक्षलाई प्रचार गर्नु कांग्रेसको सिद्घान्त विपरित भएको बताए । उनले कांग्रेसबाट पहिचान बनाउनुको साथसाथै लाभसमेत लिएका निवर्तमान सभापतिको विरोधले समग्र कांग्रेसी कार्यकर्तामा असर परेको बताए । जिल्ला नेतृत्वमा संस्थापन पक्ष नै हावी भएका कारण कांग्रेसका फरक धारका कार्यकर्ताको समान्य गल्तीमा स्पष्टीकरण सोधिने, पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने काम गर्दै आएको उनको भनाइ छ ।

निवर्तमान सभापति जस्तो गरिमामा रहनुका साथसाथै कांग्रेसबाट क्षेत्रको उम्मेदवारसमेत रहेको रायको यो भाषणमा जिल्ला तह तथा केन्द्रीय तहले कारबाही नगरेको उनको आरोप छ । ‘नेपालीमा एउटा उखान छ, आफ्नै हात जगन्नाथ, ठीक यस्तै अहिले कांग्रेसमा देखिएको छ, फरक धारका कार्यकर्ताले सामान्य गल्ती गरेमा दण्ड दिने, तर नेतृत्व तहमा रहेकाको गल्ती नदेख्नाले समग्र पार्टीमा यसले असर गर्छ,’ पूर्वसभापति रायले भने ।’

क्षेत्र–१ मा पनि कांग्रेसका संस्थापन पक्षकै नेता शम्भुलाल श्रेष्ठले पनि गठबन्धनको विरुद्घमा ओर्लिएका छन् । उनले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार नै खडा गरेका छन् । क्षेत्र–१ बाट टिकटका आकांक्षी रहेका श्रेष्ठ उक्त क्षेत्र लोसपाको भागमा परेपछि स्वतन्त्र उठाएका हुन् । उनले स्वतन्त्रलाई सहयोग गरिरहँदासमेत जिल्ला नेतृत्वले मतलब नगरेको कार्यकर्ताको आरोप छ । यो मुद्दा समाधानका लागि कांग्रेसका क्षेत्रीय प्रतिनिधिले बुधबार लालबन्दीमा डाकेको भेलामा दुई पक्षबीच कुर्सी हानाहानसमेत भएको छ । एकै पार्टीका दुई पक्षबीच सामान्य भनाभन मात्र भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×