कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

सधैं वन्यजन्तुको त्रास

कान्तिपुर संवाददाता

पर्सा — केही दिनअघि ब्रह्मानगरतर्फ जाँदै गरेका स्थानीय किशोर चौधरीको बाटोमा दुईवटा हात्तीसँग जम्काभेट भयो । उनी मोटरसाइकल छाडेर ज्यान जोगाउन भागे । ‘एक्लै हिँड्न डर भएको छ, जसोतसो ज्यान जोगाएर भागेँ,’ किशोर भन्छन् ‘सधैं यसरी भाग्यमानी भइँदैन, हात्तीले ज्यानै लिने खतरा भयो ।’ पर्साको ठोरी गाउँपालिकामा एक महिनादेखि जंगली हात्ती सक्रिय रहेकाले स्थानीयलाई आवागमनमा सकस भएको छ । धान बाली पाक्ने सिजनमा बर्सेनि २/३ महिना हात्तीको आक्रमणमा पर्ने डर स्थानीयलाई हुन्छ । 

सधैं वन्यजन्तुको त्रास

७ बर्षअघि गाउँनजिक वनमा गोठाला गएको बेला स्थानीय बमभोला महतोलाई भालुले आक्रमण गर्‍यो । उनको दाहिने खुट्टाको हड्डी भाँचियो । ‘अहिले पनि खुट्टाको पिडा बेला बेलामा बल्झिन्छ,’ महतो भन्छन्, ‘गाउँबाट बाहिर निस्क्यो कि, वन्यजन्तुले आक्रमण गर्छन् भनेर भयले सताइरहन्छ ।’ ७५ वर्षीय भगन महतोलाई २५ वर्षअघिको घटनाले अझै झस्काउँछ । त्यति बेला खेतमा धान गोडमेल गर्दै गर्दा उनलाई भालुले आक्रमण गर्‍यो । भालुको पन्जाले मुखमै हिर्काएपछि उनको मुखाकृति सधैंका लागि बिग्रियो । ‘भालुले अचानक मेरो मुखमै पन्जाले हिर्कायो, त्यसपछि के भयो होस भएन,’ उनले भने, ‘ज्यान त जोगियो तर अनुहार पहिले जस्तो दुरुस्त भएन ।’

ठोरी गाउँपालिका–३ मा चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने यो गाउँका अधिकांशको वन्यजन्तुसँग जम्काभेट वा आक्रमणको यस्तै तीतो अनुभव छ । कोही आक्रमण परेर गम्भीर घाइते भए भने कोही अपांग भए । कोही जसोतसो ज्यान जोगाउन सफल भए । स्थानीय राजेन्द्र चौधरी आफ्नो मात्र नभई गाईवस्तुको पनि सुरक्षा गर्नुपर्ने बताउँछन् । यस बाहेक वर्षैभरि धान, मकै र गहुँ बाली जोगाउने चिन्ता पनि हुने उनले बताए । हात्ती, बँदेल, चित्तल, हरिण, घोडगधा जस्ता वन्यजन्तुले बालीनाली नष्ट गरिरहन्छन् । सबैभन्दा बढी सकस वर्षायाम अन्त्यपछिको २/३ महिनामा हुन्छ । यतिबेला हात्तीबाट बालीनाली र

आफ्नो समेत ज्यान जोगाउनुपर्ने चौधरी बताउँछन् । ‘पढ्न गएका आफ्ना छोराछोरी सकुशल फर्केर नआएसम्म अभिभावकहरू चिन्तित भइरहन्छन्,’ उनले भने, ‘अधिकांश विद्यार्थीले पढ्न जाँदा आत्मसुरक्षाका लागि लौरो लिएर हिँड्ने गरेका छन् ।’

प्रकाशित : कार्तिक २८, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?