२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सिरहा- २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार मुख्य एजेन्डा
भरत जर्घामगर

सिरहा — निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

सिरहा- २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

पूर्वमन्त्रीबीचको प्रतिस्पर्धाले पनि यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । दुवै जनालाई जनमत पार्टीका विनोदकुमार यादव र पूर्वसञ्चारकर्मीद्वय रामरिझन यादव, देवकुमार यादवलगायत स्वतन्त्र उम्मेदवारको चुनौती छ । चित्रलेखा २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । २०७० र २०७४ मा दुई पटक समानुपातिक सांसद भइसकेकी उनी २०५६ मा उपसभामुख, २०७० मा शिक्षामन्त्री र कांग्रेसको प्रमुख सचेतक बनिसकेकी छन् । २०५१ र २०६४ को संसदीय निर्वाचनमा भने उनी पराजित भइन् ।

मधेस आन्दोलनपछि राजनीतिमा उदाएका पूर्वसञ्चारमन्त्री राजकिशोर २०६४ को संविधानसभामा सिरहा–६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका उनी अहिले क्षेत्र परिवर्तन गरी एमाले–जसपा गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । फोरमबाट अलग्गिएर फोरम गणतान्त्रिकबाट २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–६ बाटै उम्मेदवारी दिए पनि उनले हार व्यहोर्नुपर्‍यो ।

गठबन्धन दलका उम्मेदवारहरूले ‘शिक्षा, स्वास्थ्य, रोजगार, समृद्धिको प्रमुख आधार’ भन्दै पुरानै एजेन्डा मतदातासमक्ष राखेका छन् । दुवै उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार पुलपुलेसा, सडक मुख्य एजेन्डा भएको र आआफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । पछिल्लो समय जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरूले गठबन्धन दलका उम्मेदवारका एजेन्डामाथि धाबा बोल्दै भ्रष्टाचारको विरोधलाई नै चुनावी मुद्दा बनाएका छन् । स्वतन्त्र उम्मेदवार पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार दलहरू भ्रष्टाचारमा लिप्त भएकाले ‘भ्रष्टाचारको विरोध अभियान’ मतदातामाझ पुर्‍याउन सफल भएकाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।

सिरहा क्षेत्र नं. २ मा १ लाख ७ हजार ४ सय ६५ मतदाता छन् । यो क्षेत्रमा गठबन्धन र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा ५/५ वडा रहेको नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिकाको १ वडा, सुखीपुर नगरपालिकाको १० वटा वडा, धनगढीमाई नगरपालिकाको १२ र गोलबजार नगरपालिकाको १ वडा गरी ४१ वटा वडा पर्छन । तीमध्ये गत स्थानीय तहमा कांग्रेसले १२, एमालेले १०, जनता समाजवादी पार्टीले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनमत पार्टी १ वडा जितेका छन् । स्थानीय तह वडाका आधारमा कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रिक–वाम गठबन्धनले ३३ हजार ८ सय ९५ मत पाएको देखिन्छ । एमाले–जसपा गठबन्धनले ३२ हजार ३ सय ४८ मत पाएको छ । स्थानीय तहमा एउटा वडा जितेको जनमत पार्टीले ४ हजार ९ सय ६६ मत पाएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?