कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

मितेरी पुल सधैं चुनावी एजेन्डा

अवधेशकुमार झा

राजविराज — हरेक निर्वाचनमा कुनौली नाकामा मितेरी पुल निर्माण गर्ने एजेन्डा सबैजसो दलका उम्मेदवारले उठाउँछन् । तिलाठी–१ स्थित राजविराज भन्सार कार्यालयअगाडिबाट दशगजा हुँदै भारतको कुनौली बजार पुग्न खाँडो र जिता नदी पार गर्नुपर्छ । तर, हरेक पटक निर्वाचनमा उम्मेदवारहरूले पक्की पुल बनाउने आश्वासन दिने गरे पनि काम नहुँदा स्थानीयले आउजाउमा सास्ती व्यहोरिरहेका छन् ।

मितेरी पुल सधैं चुनावी एजेन्डा

यो नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाली र भारतीय पनि ओहोरदोहोर गर्छन् । दशगजामा पक्की पुल नहुँदा आउजाउका लागि करिब ४० वर्षदेखि चचरी (बाँसको पुल) कै भर छ । हरेक बर्खामा भेलले चचरी बगाइदिने र फेरि बनाउने गरिन्थ्यो । यसपल्ट भने चचरी बगाएपछि पुनर्निर्माण गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोके ।

जसका कारण अहिले नदीमै हेलिएर वारपार गर्नुपर्ने बाध्यता रहेको सीमामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका देवनारायण यादवले बताए । ‘चुनावका बेला नेताहरूको आश्वासनलाई मान्ने हो भने यहाँ उहिल्यै पुल बनिसक्नुपर्ने हो,’ उनले भने, ‘चुनाव सकिएपछि नेताले आफूले बाँडेका आश्वासन बिर्सिन्छन् । पक्की पुल त परै जाओस्, वर्षौंदेखि रहेको बाँसको चचरी पनि अहिले छैन ।’

सप्तरीका सीमावर्ती क्षेत्रका स्थानीयका लागि दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीको मुख्य बजार हो कुनौली । जसका लागि दैनिक आउजाउ चलिरहन्छ । त्यसमाथि आफन्त भेट्न पनि वारिपारि दुवैतर्फका मानिसले यो नाका प्रयोग गर्छन् ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले संघीय सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवलाई ज्ञापनपत्र दिँदै भारतीय पक्षसँग कुरा गरी पक्की पुल बनाउन सहजीकरणका लागि आग्रह गरेको बताए । तर, त्यसपछि पनि पुल बन्ने टुंगो लागिसकेको छैन । दुई मुलुकबीचको सहमतिमा आवश्यक पर्ने भएकाले यसका लागि संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १९, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×