२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘नहाय–खाय’सँगै छठ पर्व सुरु

श्यामसुन्दर शशि

जनकपुर — छठ पर्व मान्ने व्रतालुले शुक्रबार पवित्र जलाशयमा स्नान गरी चोखो खानेकुरा खाएर चार दिवसीय छठ महापर्व सुरु गरेका छन् । नहाय–खाय गरी प्रारम्भ भएको छठ पर्वको दोस्रो दिन शनिबार व्रतालुहरू ‘षडना’ गर्छन् ।

‘नहाय–खाय’सँगै छठ पर्व सुरु

दिनभरि उपवास बसेका व्रतालु सन्ध्यामा घरमै पकाएको गुड र गहुँको पिठोबाट बनाइएका पुरी, खीर, नुन नहालेको तरकारी खान्छन् । षडनाको प्रसाद परिवारका सदस्यहरू एकसाथ बसेर खाने तथा इष्टमित्रलाई निम्तो दिएर खुवाउने चलन छ ।

आइतबार व्रतालुहरू अस्ताचलगामी सूर्यलाई अर्घ दिने गर्छन्, जसलाई ‘सझुका अर्घ वा सभुका घाट’ भनिन्छ । सोमबार उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय छठ महापर्व सम्पन्न हुनेछ । सन्तान प्राप्ति, पति सुख, शान्ति तथा कुष्ठजस्ता असाध्य रोग निवारणका लागि छठ पूजाको आयोजना गरिन्छ । छठ पर्वको मुख्य आयोजन कात्तिक शुक्ल षष्ठी र सप्तमीको दिन अर्थात् आइतबार र सोमबार हुने भए पनि यसको तयारी भने सुरु भइसकेको छ । जनकपुर बजारमा छठ पूजा सामग्री खरिद गर्नेको घुइँचो लागेको छ । पूजा सामग्रीका रूपमा प्रयोग हुने केला, उखु, नरिवल, तरुल, मूला, फलफूल र मिठाईको पसलमा ग्राहकको भीडभाड छ । छठ पूजामा पाँच थरीका मिष्ठान्न र फल तथा स्थानीय कृषि उत्पादनहरू प्रसादका रूपमा चढाइन्छ । यसैगरी गहुँ, चामल र सक्खरबाट घरमै तयार गरिने ठकुवा, भुंसवा, खजुरिया, गुणालगायतका पारम्परिक परिकार पनि चढाइन्छ ।

छठ पर्वको आयोजना पोखरी, नदी, कुवा, इनारसहितका जलाशयको घाटमा मात्र हुने भएकाले जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाव, अंगराजसर, दूधमती नदी, जलाद नदी तथा धनुषाको पूर्वी सिमानाका रूपमा रहेको कमला, जमुनीलगायतका जलाशयहरूलाई सफासुग्घर तथा साजशृंगार गर्ने काम चल्दै छ ।

जनकपुरका सरोवरहरूलाई सफासुग्घर तथा पूजास्थलको व्यवस्थापनमा स्थानीय गंगासागर छठ पूजा समिति, जनक युवा क्लब, बजरंग युवा क्लब, मिथिला समाज सेवा समिति, राम युवा कमिटी, गणेश युवा कमिटीलगायतका युवा क्लबहरू सक्रियतापूर्वक जुटेका छन् । छठ पर्वको सम्पूर्ण विधि विधानमा गीत गाउने परम्परा रहेकाले अचेल मिथिला नगरी संगीतमय बनेको छ ।

प्रकाशित : कार्तिक ११, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?