१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

रौतहट-३ मा त्रिपक्षीय प्रतिस्पर्धा

शिव पुरी

रौतहट — एमालेको टिकट त्यागेर रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्न माओवादी केन्द्रीय समितिले आफ्ना उम्मेदवार धिरेज पटेललाई दिएको निर्देशन अस्वीकार गरेका छन् । पटेल अहिले प्रचारप्रसारमा लागेका छन् । यसले माओवादीलाई अप्ठेरोमा पारेको छ । चुनावमा साहलाई जिताएर पार्टीमा ल्याउने माओवादीको रणनीति छ । 

रौतहट-३ मा त्रिपक्षीय प्रतिस्पर्धा

माओवादीले नेता साहलाई पार्टीमा ल्याउन आफ्ना उम्मेदवार पटेललाई पछि हट्न भनेको हो । उम्मेदवारी फिर्ताको समय सकिएको भोलिपल्ट पटेललाई माओवादीको केन्द्रीय समितिले फिर्ता लिएर साहलाई समर्थन सहयोग गर्न निर्देशन दिइसकेको पार्टीका जिल्ला संयोजक देवेन्द्र पटेलले बताए । ‘अब पार्टीले साहलाई सहयोग गर्न भनिसकेको अवस्थामा पटेलजी ‘ब्याक’ हुनुपर्छ,’ उनले भने, ‘पार्टीको निर्देशन नै मान्दिनँ भन्न पाइँदैन । यसले अप्ठेरो अवस्था सिर्जना हुन सक्छ ।’

अघिल्लो स्थानीय चुनावमा माओवादीले पटेललाई टिकटबाट वञ्चित गरेपछि उनले पार्टी नै परित्याग गरेका थिए । पछि माओवादीमा आएका उनलाई यस पटक पार्टीले नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न टिकट दिएको थियो । साहलाई समर्थन गर्ने अवस्था आउन सक्ने आकलनका साथ परेको खण्डमा पटेललाई पछि हट्ने सर्तमा उम्मेदवारी दर्ता गराइएको माओवादीका जिल्ला नेताहरू बताउँछन् । यो क्षेत्रमा तत्कालीन माओवादीका नेता साहले जित्दै आएका छन् ।

यसपटक भने नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका साहले पार्टीको टिकट लत्याएर स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । अहिले एमालेले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ । साह ०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा ०६४ र ०७० मा रौतहट ३ बाट निर्वाचित भए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो ।

एमालेमा लागे पनि उनले पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए । मधेस प्रदेशको राजनीतिमा साह चतुर मानिन्छन् । उनी निरन्तर सत्ता र शक्तिमा रहँदै आएका छन् । उनले पछिल्लो समय विभिन्न पार्टीका नेता–कार्यकर्तालाई टिकटको आश्वासन दिएर एमाले प्रवेश गराए । आफूले भनेकालाई टिकट दिलाउन नसकेपछि जसपासितको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।

यता माओवादीबाट उम्मेदवार पटेल केन्द्रले निर्देशन दिए पनि आफू कुनै पनि हालतमा पछि नहट्ने बताउँछन् । ‘अब नियम कानुनले पनि मेरो उम्मेदवारी फिर्ता भन्ने हुँदैन । म सहिदको रगतको अपमान गर्न चाहन्न,’ उनले भने, ‘पार्टीकै टिकटबाट चुनाव लडेर जितेर देखाउँछु । मलाई जबरजस्ती पछि हट्न भने पनि त्यो कदापि हुँदैन ।’

पटेल यतिखेर घरदैलोमा व्यस्त छन् । यो क्षेत्रमा माओवादीका पटेल, स्वतन्त्र उम्मेदवार ओमप्रकाश साह र प्रभु साहबीच टक्कर छ । माओवादीले प्रभु साहलाई सहयोग गरेको खण्डमा ओमप्रकाश र उनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । साह जित्नेमा ढुक्क छन् । उनी क्षेत्रको जनताको साथ सहयोग सधैं रहेको भन्दै जितमा कुनै शंका नभएको दाबी गर्छन् ।

प्रकाशित : कार्तिक ७, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?