कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धान जोगाउन मचानको बास

शंकर आचार्य

पर्सा — गाउँको पूर्वतर्फ पर्सा राष्ट्रिय निकुन्ज र पश्चिम–दक्षिण तथा उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्जको घनाजंगल छ । बीचमा करिब २ सय बिघा खाली जग्गामा जंगली टापुजस्तो गाउँ । ठोरी गाउँपालिका–३ मा रहेको यो सिकारीबास गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ ।

धान बाली जोगाउन उनीहरू साउनयता निरन्तर गाउको खेत वरिपरि मचान बनाएर रातभरि बस्छन् । करिब १ सय ८० बिघा जग्गामा लगाइएको धान जोगाउन उनीहरूले खेतको वरिपरि डेढ दर्जन बढी मचान बनाएका छन् । जंगली हात्ती, घोडगधा, चित्तल, हरिण, बँदेलजस्ता वन्यजन्तुले धान नष्ट गर्ने भएकाले आफूहरूले बर्सेर्नेि बाली लगाएदेखि मंसिरमा नभित्र्याएसम्म मचान बनाएर रुङ्ने गरेको स्थानीय राजेन्द्र चौधरी बताउँछन् । ‘यो हाम्रो वार्षिक तालिका नै हो, बर्सेनि रोपाइँ गरेर बाली नभित्र्याउन्जेलसम्म राति मचानमा बिताउने गरेका छौं,’ उनले भने, ‘कतिपय मचान अग्ला रुखमा बनाइएका छन्, कतिपय २५ देखि ३० फिट अग्लो बाँसले बनाइएका छन् ।’

तीन सातायता जंगली हात्तीको समूह सक्रिय भई राति आउन थालेकाले आफूहरूको धपेडी बढेको उनले बताए । केही वर्षयता घोडगधा पनि पल्केकाले दुई ठूला वन्यजन्तुबाट बाली जोगाउन हम्मे हुने गरेको उनले बताए ।

अर्का स्थानीय विनोद यादवले बर्सेनि वन्यजन्तुले बाली नष्ट गर्दा आफूहरूले आधा बाली मात्र भित्र्याउन पाउने गरेको बताए । ‘यो हाम्रो नियति नै हो, लगाएको सबै बाली बर्सेनि भित्र्याउन पाइँदैन, मुस्किलले आधा जोगिन्छ,’ उनले भने, ‘रोपाई गरेसँगै हाम्रो मचान पनि तयार हुन्छ, सम्साझैं मचान उक्लिन्छौं, त्यही पिउने पानी, टर्च, मोबाइल, राँकोदेखि ओछ्यान र झुलको समेत व्यवस्था गरेका हुन्छौं ।’

मचानमा एक्लै समय बिताउन गाह्रो हुने भएकाले कतिपय मचानमा साथीभाइ, दाजुभाइ, पतिपत्नीदेखि परिवारका ज्येष्ठ सदस्य आमाबुवा साथमा बस्ने गरेको उनले बताए । ‘एक जना रातभर जाग्राम बस्न गाह्रो हुने भएकाले पालैपालो दुई जनाले मचानबाट बाली रुङ्ने गरेका छौं,’ उनले भने, ‘गाउँका सबै घरधुरीले पालैपालो मचानबाट बाली रुङ्ने नियम बसालिएको छ ।’ गाउँमा ५४ घरधुरीमा करिब २ सय ५० जनाको जनसंख्या छ । बस्तीमा ५० धरधुरी रैथाने आदिवासी थारूको छ । गाउँको ९९ प्रतिशत घरधुरी सुकुम्बासी छन् । घर र उनीहरूले जोत्ने खेत नम्बरी छैन । गाउँका प्रायः सबै खेत गाउँबाहिरका ठूलाबडाको नम्बरी जग्गा हो । आफूहरूले अधियाँमा खेती गर्ने गरेको यादव बताउँछन् । जग्गाधनीलाई पनि आधा बाली बुझाउने उनले बताए ।

प्रकाशित : कार्तिक ६, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×