२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धनुषा–२ मा पुरानै एजेन्डा

कमला पुल र हुलाकी सडक सबैजसो उम्मेदवारको प्राथमिकतामा
श्यामशुन्दर शशि

जनकपुर — सिरहा छुँदै भारतीय सीमासम्म फैलिएको धनुषा–२ मा प्रायः सबै दलका उम्मेदवार मित्रवत् प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा प्रतिनिधिसभामा कांग्रेसका पनि उम्मेदवार छन् भने नेकपा एसका पनि । त्यस्तै, एमाले रजनता समाजवादी पार्टी (जसपा) पनि छुट्टाछुट्टै उम्मेदवार छन् । धनुषा–२ मा सबैजसो उम्मेदवारको एउटै साझा एजेन्डा छ, कमला नदीको पुल र हुलाकी राजमार्ग निर्माण ।

धनुषा–२ मा पुरानै एजेन्डा

मनोनयनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी उमाशंकर अरगरिया एमालेका उम्मेदवार बनेका छन् । उनी ०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनका प्रतिस्पर्धी रामचन्द्र झा एकीकृत समाजवादीबाट उम्मेदवार छन् । यस क्षेत्रबाट पटकपटक प्रतिनिधित्व गरिसकेका रामकृष्ण यादवले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । अरगरिया, झा र यादव संघीय मन्त्री भइसकेका छन् ।

मनोनयनअघि नै एमाले छाडेर जसपा प्रवेश गरेका गंगाराम यादवले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा अन्य ११ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । ०७४ को निर्वाचनमा अरगरिया संघीय समाजवादी फोरमका उम्मेदवार थिए भने झा माओवादी (केन्द्र) का । अरगरिया ३२ हजार ४४ मत प्राप्त गरी विजयी भए भने झाले १८ हजार ७ सय १५ मत तथा कांग्रेसका यादवले १५ हजार ४ सय ४२ मत प्राप्त गरेका थिए ।

नेताहरूले पटकपटक दलबदल गर्दा यस क्षेत्रका मतदाता भने नेतालाई छान्ने कि पार्टीलाई भन्ने अलमलमा छन् । एमालेबाट राजनीति सुरु गरेका झा ०७४ को निर्वाचनअघि माओवादी प्रवेश गरेका थिए । पछि, डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै अहिले नेकपा (एस) पार्टीबाट चुनावमा उत्रिएका छन् । यसैगरी संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका अरगरिया जसपा विभाजन हुँदा लोसपा रोजे । उनी लोसपाका प्रमुख सचेतक पनि थिए । हाल उनी एमालेको उम्मेदवार छन् । तीन दशक एमालेमा बिताएका गंगाराम पार्टी परित्याग गरी जसपाबाट उम्मेदवार बनेका छन् । ‘नेताहरूकै ठेगान छैन । यस क्षेत्रका मतदाता हैरान छन् । नेतालाई रोजौं कि पार्टीलाई ठूलो असमञ्जस छ,’ औरही गाउँपालिकास्थित परवाहाका विष्णुकान्त मिश्रले भने । धनुषा–२ कृषि, पशुपालन र मत्स्य उद्योगको ठूलो सम्भावना भएको क्षेत्र हो । कमला नदी किनारको करिब १२ हजार बिघा नदी उकास जग्गा वर्षौंदेखि अनुत्पादक छ । कमला नदीले धार परिवर्तन गरेपछि बगरमा परिणत भएको उक्त सिमसार जग्गा बालुवाको डंगुर र घाँसे मैदानमा परिणत छ । त्यो जग्गालाई व्यावसायिक प्रयोगमा ल्याउन सकिन्छ । यस्तै, शिलान्यास भएको झन्डै एक दशक बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको तथा बनेका संरचना पनि पटकपटक भासिने गरेको कमला पुल र हुलाकी सडक तथा सहिद पथ यस क्षेत्रका नागरिकका लागि चासोको योजना हुन् ।

एमालेका उम्मेदवार अरगरिया आफूले भ्रष्टाचारमुक्त, सुशासन समाज तथा यथाशीघ्र कमला पुल निर्माण गराउन उम्मेदवारी दिएको बताउँछन् । ‘विकास निर्माण कार्यमा कमिसन नलिने र अरूलाई पनि लिन नदिने मेरो प्रतिबद्धता हो । साथै यस क्षेत्रको समग्र विकास र समृद्धि मेरो प्राथमिकता हो,’ अरगरियाले भने । कमला नदीको वैकल्पिक पुल निर्माण गर्न आफूले आवश्यक प्रक्रिया थालिसकेको उनले बताए । नेकपा एसका उम्मेदवार झाले कमला पुलको डिजाइन परिवर्तन र पुनर्निर्माण, नदी उकास जग्गाको सदुपयोग गरी कृषि क्रान्ति ल्याउने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । उनले भने, ‘शिलान्यास हुने समयमै मैले कमला नदीको डिजाइनमा त्रुटि रहेको भनेको थिए । डिजाइन परिवर्तन गरी कमला पुल पुनर्निर्माण गराउने छु ।’

कांग्रेसका उम्मेदवार यादवले हुलाकी सडक र सहिद पथको स्तरोन्नतिसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न, नागरिकता तथा मधेसको समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘हुलाकी सडक र सहिद पथ लगभग निर्माण भइसकेको छ । यसको स्तरोन्नति गर्नु तथा यथाशीघ्र कमला पुल निर्माण गर्नु हाम्रो प्राथमिकता रहनेछ ।’ जसपाका उम्मेदवार गंगारामले पछाडि पारिएको यस क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन आफ्नो योगदान रहने दाबी गरे ।

प्रकाशित : कार्तिक ६, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?