१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

पार्टीकै नेतालाई हातपात गर्ने जसपा केन्द्रीय सदस्य साह निलम्बित 

सुनिता बराल

महोत्तरी — जनता समाजवादी पार्टी नेता मिनु झालाई हातपात गरेका केन्द्रीय सदस्य कृष्णशंकर साह पार्टीबाट निलम्बित भएका छन् । महोत्तरी क्षेत्र नं. ३ को चुनावी छलफल कार्यक्रममा नेता झालाई हातपात गरेको भन्दै साहलाई निलम्बन गरिएको हो ।

पार्टीको विधि, पद्धतिविपरीत अनुशासनहिन कार्य गर्ने, महिला नेताहरुमाथि हातपात तथा अपमान गर्ने एवम् अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्थाबमोजिम कारबाही गरिएको केन्द्रीय सूचना संचार प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले विज्ञप्तिमार्फत जनाएका छन् ।

पार्टी केन्द्रीय सदस्य कृष्णशंकर साहलगायत केही व्यक्तिहरुबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले भेला भाँडिएको, महिलामाथि अपमान गरिएको, हातपात तथा अभद्र कार्य गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको जसपाले शनिबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

असोज २१ गते आयोजित कार्यक्रममा नेता झामाथि साहले गालीगलौज गर्दै हातपात गरेका थिए । पीडित नेता झा र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारबीच विगत केही दिनदेखि मनमुटाव चलिरहेको र नेता झाले सोही विषयलाई लिएर असोज २६ गते आफ्नो फेसबुकमा मेयरविरुद्ध एउटा स्टाटस पोष्ट गरेकी थिइन् ।

सोही विषयमा २७ गते पार्टीको चुनावी छलफलमा मेयर सोनार र मिनु झाबीच वादविवाद चलिरहेकोमा निलम्बित केन्द्रीय सदस्य साहले झालाई ३ झापड हानेका र गालीगलौज र दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

प्रकाशित : आश्विन ३०, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?