मधेसी महिला भन्छन्

‘निर्वाचनमा रुप, रंग र पैसावाल महिला हावी’

सन्तोष सिंह

धनुषा — राजनीति दलहरूबीचको गठबन्धनमा पुरुष नेताहरुको निर्वाचन क्षेत्र सुरक्षित गरिएको छ । राजनीतिमा वर्षौंदेखि लागेका महिला नेतृहरूले भने गठबन्धनकै कारण प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुनुपरेको आरोप लगाएका छन् ।

‘निर्वाचनमा रुप, रंग र पैसावाल महिला हावी’

संगठन बनाउन र परिवर्तनको आन्दोलनमा लागेका महिलाले अवसर नपाएर पार्टीका नेताको प्राथमिकतामा सुन्दर, धनाढ्य र घरपरिवार वा आसेपासे प्राथमिकतामा परेको उनीहरूको आरोप छ । आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै महिलाको अर्थपूर्ण प्रतिनिधित्व र सहभागिता बढाउन महिला अगुवा एवं सरोकारवालाहरूसँग सञ्चालित संवाद समूहको छलफलमा सहभागीहरू महिला नेतृहरूले राजनीतिमा 'रुपवती'हरू हावी भएको आरोप समेत लगाउँछन् ।

नेताहरूको वरिपरि रहने 'सुन्दर महिला'का कारण रातदिन संगठन काम गर्ने महिलाले भने संसदीय निर्वाचनमा अवसर नपाएको उनीहरूले तर्क गरेका छन् । तराइई-मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)की केन्द्रीय सदस्य विभा ठाकुर निर्वाचनको समयमा अन्य पार्टीबाट आएकाहरू उम्मेदवार हुने प्राथमिकतामा परेका कारण वर्षौंदेखि संघर्ष गर्ने महिला नेताहरू भने अवसरबाट वञ्चित हुनु परेको बताइन् ।

'पार्टीको सभा सम्मेलन र आन्दोलनमा सहभागी हुनेलाई पार्टी नेतृत्वले निर्वाचनमा अवसर नदिई पार्टीमा नव आगन्तुक, धनाढ्यलाई आवसर दिँदा गरिब, विपन्न, दलित र महिला उम्मेदवार हुने अवसरबाट वञ्चित भएका छन,' ठाकुरले भनिन्, 'पद र नेतृत्वमा पुगेका महिलाले पनि महिला अधिकारका लागि बोल्न सकेका छैनन् । पदमा बस्दा चुपचाप बस्ने महिलाले पुरुषकै आदेश मान्ने परम्परा बनेको छ ।'

राजनीति दलले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा महिलाले पाउने अवसर गुमेको उनको तर्क थियो । निर्वाचनमा राजनीति दलले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउनु र बनाएको खण्डमा नेताकै परिवार तथा पुँजीपतिलाई प्राथमिकतामा राख्नु लोकतन्त्रको उपहास भएको उनले बताइन् । वर्षौंसम्म आन्दोलनमा सक्रिय, पार्टीको संगठन बनाउन सक्रिय महिला नेतालाई दिनुपर्ने अवसर राजनीति दलले रुपवती र धनाढयले पाएको उनले दाबी गरिन् ।

जनता समाजवादी पार्टी(जसपा) तत्कालिन मधेश प्रदेशकी प्रदेशसभा सदस्य चमेलीदेवी दासले अवसर पाएर नेतृत्वमा पुगेका महिलाहरूले अवाज उठाउँदा पनि पुरुषको कब्जामा रहेको राजनीतिक दल सुन्न नचाहेको बताइन् । 'राजनीति दलले प्रत्यक्ष निर्वाचनमा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने प्रावधानसहितका विषयमा अवाज उठाउँदा पुरुष नेताहरूले सुन्न चाहेको छैन,' सांसद दासले भनिन, 'गठबन्धन गरी राजनीति दलहरू चुनाव लड्दा पनि पुरुष–पुरुष उम्मेदवारहरू छनोट हुन्छन् । महिलालाई अवसर नदिई चुनवा लड्न नसक्ने भन्दै पछि पारिन्छ ।'

महिला सांसद भएर सरकारी कार्यालयमा जाँदा पुरुष कर्मचारीले वास्ता नगरी अपमान गर्ने गरेको पनि उनले आरोप लगाइन् । नेतृत्वमा पुगेर काम गर्न सक्ने अवस्था आउँदा पदको म्याद नै समाप्त हुने भएको हुँदा पदमा पुगेका महिलाहरूलाई अवसर सदुपयोग गर्न सचेत गराउनुपर्ने समय आएको उनको भनाइ थियो । दलित महिला भएकै कारण निर्वाचन खर्च जुटाउन नसक्ने भन्दै दलित महिलाहरूलाई राजनीति दलले उम्मेदवार बनाउन नचाहेको उनले बताइन् ।

नेकपा एमालेमा आवद्ध जनकपुरकी रुकाकुमारी मिश्रले पार्टीकै नेताहरूले महिला नेताहरूको अवसर खोस्ने गरेको आरोप लगाइन् । 'पार्टीको संगठन बनाउन वर्षौंदेखि लागेका योग्य महिलाको नाम उम्मेदवारमा सिफारिस भएपनि उम्मेदवार बन्न सक्दैनन्,' मिश्रले भनिन्, 'रातारात अन्य पार्टीबाट महिलालाई पार्टी प्रवेश गराउने लहर चलेको छ । रुप, रंग र पैसावाला महिलालाई मात्रै उम्मेदवार बनाइन्छ ।' महिलाको क्षमताभन्दा पनि सुन्दरता र पैसाको अधारमा मुल्याकंन हुँदा राजनीतिमा लामो समयसम्म लागेका महिलाहरू निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित हुनु परेको छ उनले बताइन् ।

'सामानुपातिक सूचिमा नेताका आसेपासे र पैसावालाको नाम सिफारिस हुन्छ,' मिश्रले भनिन, 'प्रत्यक्ष निर्वाचनमा महिलाले पार्टीबाट टिकट पाउँदैनन् । मतदाता महिला बढी छन् । महिला उम्मेदवार नभएपछि महिलाहरूले पुरुष उम्मेदवारलाई बाध्य भएर मतदान गर्नु परेको छ ।' राजनीति दल भित्र अवसर पाउन महिला सुन्दर र पैसावाला हुनुपर्ने समय आएको आरोप उनको थियो ।

माओवादी केन्द्रमा आवद्ध रामकुमारी महतो राजनीति दलमा लागेर वर्षौं काम गरेकी महिलालाई पाखा लगाएर पुरुष नेताहरूले आफ्ना आफन्तको नाम सिफारिस गर्दा राजनीतिमै जीवन समर्पण गर्ने महिलाहरूले निर्वाचनमा अवसर नपाएको बताउँछिन् । पार्टीको बैठक र आन्दोलनमा महिला कार्यकर्तालाई खोजी खोजी ल्याउने नेताहरू निर्वाचनमा आफ्नै घर परिवार र आफन्तलाई मात्रै खोजेर अवसर दिने गरेको उनको आरोप थियो । घरबाट बाहिर निस्किँदा १२ अवरोध सामना गर्नुपर्ने मधेसी महिलालाई अवसर दिन पार्टीलेसमेत अवरोध गरेको बताउँदै राजनीतिमा सक्रिय महिलाहरूलाई पार्टीकै पुरुषहरूले अगाडि बढ्नबाट रोक्ने गरेको दाबी गरिन् ।

महोत्तरी बर्दिबासकी दिपा लामा १८ वर्षकै उमेरमा माओवादी सशस्त्र द्वन्द्वमा बन्दुक बोकेर जनसेनाका रुपमा राजनीतिमा प्रवेश गरेपनि पछिल्लो समय जीवनयापनमै समस्या छ । राजनीतिमा नातावाद, कृपावाद हावी भएका कारण सशस्त्र जनयुद्धमा संघर्ष गरेर पनि कुनै अवसर पाउन नसकेको दिपाले बताइन् । 'संविधानले सुरक्षित गरेको ३३ प्रतिशत महिला आरक्षणमा पैसावाला पुँजीपति र सामन्त परिवारकी महिलाहरूले मात्रै अवसर पाएका छन्,' उनले भनिन, 'राजनीतिमा लागेका महिलाहरू आफ्नो अधिकारकालागि एकतावद्ध हुने समय आएको छ ।' राजनीतिमा भविष्य खोज्दै १८ वर्षको उमेर बन्दुक बोकेर संघर्ष गर्दा अहिले घर परिवार चलाउन समेत संघर्ष गर्नु परेको उनले बताइन् ।

तत्कालिन प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मिनाक्षी झा महिलाले पदमा गएर आफ्नै नामबाट चिनिनु महिला अधिकार आन्दोलनको उपलब्धी भएको बताइन् । सानै उमेरदेखि राजनीतिमा लागेर दुईपटक संविधानसभा सदस्य र एकपटक प्रतिनिधिसभा सदस्य हुने अवसर पाएको उल्लेख गर्दै पुरुष महिलाको दुश्मन नभइ राजनीतिमा महिला नै महिलाको दुश्मन भएको तर्क उनले गरिन् ।राजनीतिक परिवर्तनसँगै मधेसका महिला अगाडि बढे पनि राजनीति अवसरका लागि महिलाहरूले दल बदल गर्दा पार्टीमा लामो समयसम्म काम गर्ने महिला नेताहरू अवसरबाट वञ्चित हुनु परेको उनले बताइन् ।

'पुरुषसतात्मक समाजले महिलालाई प्रलोभन दिँदा राजनीतिक संघर्ष गर्ने महिलाहरू पछि धकेलिएका छन् । राजनीति दलमा मुल्याकंनकर्ता सही नहुँदा दल भित्र महिला अन्यायमा परेका छन्,' उनले भनिन् । महिलालाई उम्मेदवार बनाउँदा दलका महिला प्रतिनिधिसँगै कुनै छलफल नगरी पुरुष नेताहरूले आफ्नो निर्णय महिलामाथि लाद्ने गरेको उनले स्पष्ट पारिन् ।

तत्कालिन संविधानसभा सदस्य निशा साहले संविधानको सफल कार्यान्वयन नहुँदा महिला राजनीतिकर्मी अधिकारबाट वञ्चित भएको बताइन् । 'महिला नेता राजनीतिमा पुरुषवादी चिन्तनको सिकार बनेका छन्,' सांसद साहले भनिन, 'पुरुष प्रवृत्तिले राजनीतिमा महिला पछाडि परे ।' स्थानीय तहमा राजनीति दलले प्रमुख, उपप्रमुख कुनै एकमा महिला अनिवार्य हुँदाहुँदै राजनीति दलको गठबन्धनले महिला निर्वाचित भएको पदमा पनि पुरुष निर्वाचित भएको उल्लेख गर्दै पुरुषवादी चिन्तनको सिकार महिला नेता बनेको सांसद साहले बताइन् । 'राजनीतिs दलहरूले गठबन्धन गरी निर्वाचन लड्दा पनि महिलालाई प्राथमिकतामा राखिँदैन । सांसद पद बाँडफाँट पुरुषहरूकै लागि भएको छ,' उनले भनिन् । संसदीय अभ्यासमा रहेका सबै राजनीति दलहरूको प्रवृत्ति एउटै रहेको उनले बताइन् ।

मओवादी केन्द्रमा आवद्ध तारा महतोले पार्टीले पटकपटक सांसदका लागि नाम सिफारिस गरेपनि अन्तिम समयमा सूचिबाट नाम हट्ने गरेको बताइन् । आसन्न निर्वाचनका लागि सामुनुपातिक सूचिमा नाम समावेश भएपनि मनमा डर कायमै रहेको उनले बताइन् । फेरि पनि सामानुपातिक सूचिबाट नाम हट्छ भन्ने चिन्ता कायम रहेको उल्लेख गर्देै राजनीति दलहरू श्रीमती, फेसनवाली र पैसावालीको पार्टी हुँदा सर्वसम्मत रुपमा नाम सिफारिस भएपनि सांसद बन्नेमा शंका लागेको दाबी गरिन् । पुँजीवादीविरुद्ध लडेको माओवादी पार्टीमा पनि पुँजिपतिले नै अवसर पाएको आरोप लगाउँदै क्षमतावान् महिलालाई अवसरबाट वञ्जित गरी अयोग्यलाई अवसर दिएको टिप्पणी उनले गरिन् ।

नेपका एमालेकी मुन्नी दासले नेताहरूले आफू अनुकुलको कानुन बनाउँदा सक्रिय राजनीतिमा रहेका गरिब, विपन्न तथा दलित महिला प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको बताइन् । महिला नेताहरूले अधिकारका लागि आफ्नै राजनीतिक दलका नेताविरुद्ध आन्दोलन गर्ने समय आएको बताइन् ।

प्रकाशित : आश्विन २३, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?