झिझियामा छमछमी- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झिझियामा छमछमी

सन्तोष सिंह

धनुषा — तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनेलियै हो
ब्रह्मबाबा झिझिया पर होइयो ना सबार...
(तिम्रै लागि ब्रह्मबाबा झिझिया बनायौ । अब झिझियामा हुनु सवार)
प्वालैप्वाल पारिएको माटोको घैंटोमा दियो बलिरहन्छ । घैंटोमाथि आगोको ज्वाला दन्किरहन्छ । त्यही घैंटो टाउकोमा बोकेर फनफनी नाचेर झिझिया नृत्य अहिले हरेक साँझ जनकपुरमा नाचिन्छ ।

दसैंका बेला जनकपुरको शक्तिपीठमा झिझिया नृत्य हेर्नेको भीड लाग्छ । लोकगीतमा महिला समूह मुग्ध भएर नाच्छन् ।

विजया दशमीको सुरुवातसँगै मधेसमा झिझिया नृत्यको आरम्भ हुन्छ । सुरिलो स्वरमा गाइने झिझिया गीतले मधेसमा चाडपर्वको रौनकता बढाएको छ । जनकपुरको शक्तिपीठमा दलित महिलाको समूहले राति झिझिया नाच्ने गर्छन् । पुरानो धुन लोकशैलीका गीतबाट महिलाले बोक्सीलाई गाली गर्दै ताान्त्रिक नृत्य झिझिया नाच दसैंको रमझमसँगै जनकपुरसहित मधेसमा सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरका मुसहर समुदायका महिला, वृद्ध, बालबालिकालाई दसै सुरु भएयता भ्याइनभ्याइ छ । समयमै काम सकाएर साँझ खाना खाएर सबै भेला भएर झिझिया नाच्न चटारो हुन्छ । ढोलक, झ्यालीसहितका टोलीहरू जनकपुरको रमानन्द चोक, देवी चोक, रजौल, मुरली चोक, भ्रमरपुरा चोकमा झिझिया नाच्छन् ।

सभा–समारोहमा सीमित झिझिया नृत्य लोप हुन लागेको छ । तर, दसैंका बेला दलित महिलाले यसलाई जीवन्त राखेका छन् । जनकपुरसहित आसपासका दलित महिला, वृद्धाले झिझियाको संरक्षण गरेका छन् । दसैंको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा ताान्त्रिक नृत्य झिझिया हो । विशुद्ध तान्त्रिक विधिमा आधारित झिझिया नृत्य हेर्न दर्शक पनि लय र तालको मधुर नृत्यमा झुम्छन् भने राति महिलाले सुरिलो भाकामा गाउने दोहोरी गीतको माधुर्यले झन् रौनक बढाउँछ । मधेसको सांस्कृतिक झलक प्रदर्शन गर्ने झिझिया नृत्यको मौलिकताले विशेष महत्त्व राख्छ ।

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिन्छ । झिझियामा दलित महिलाको बढी सहभागिता हुन्छ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्र प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा घैंटोमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् । मधेसमा व्याप्त बोक्सीप्रति तिखो व्यंग गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गीत गाउँदै परिक्रमा गर्छन् र घरघर डुल्छन् । झिझिया नाच्ने घरमा आउँदा घरधनीले मट्टीतेल र रकम दिने परम्परा छ ।

गीत गाउँदै र नृत्य गर्दै महिला छमछमी नाचिरहेको दृश्य हेर्दा सबैलाई एकछिन स्तब्ध तुल्याइदिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भए ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने गरिन्छ ।

झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । सामूहिक एकतालाई सबल तुल्याउने झिझिया नृत्यलाई सबैले बचाउने प्रयास गर्नु अपरिहार्य रहेको जनकपुरका बुद्धिजीवी नवलकिशोर शरण बताउँछन् । झिझिया तन्त्रमन्त्रमा आधारित योगनी नृत्य भए पनि पछिल्लो समय जनकपुरमा झिझिया खेलमा परिणत भएर व्यापारमा परिणत भएको उनी बताउँछन् । आस्था र विश्वास, तन्त्रमन्त्र, भावना र संस्कृतिसँग झिझिया जोडिएको हुन्छ ।

प्रकाशित : आश्विन १८, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाका शक्तिपीठमा जमरा चढाउने र दर्शन गर्नेको भीड

माधव अर्याल

पाल्पा — दसैंको नवौं दिन महानवमीको दिन मंगलबार बिहानैदेखि पाल्पाका शक्तिपीठहरूमा देवीको दर्शन गर्ने, जमरा चढाउनेको भीड लागेको छ । पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

जमरा चढाउनुका साथै दर्शन गर्नेको भीड लागेको हो । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुको भीड छ । मन्दिरमा बोका, पाडा, कुखुरा चढाउन आउनेको भीड लागेको मन्दिर व्यवस्थापन समितिकाक अध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए । भैरवस्थान मन्दिरमा साथै पञ्चवलीसमेत दिने गरिन्छ । 

पाल्पाका विभिन्न स्थानमा रहेका देवीका मन्दिर, कोतघरमा पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा देवी-देवताका मन्दिर, कोतघर, शक्तिपीठमा श्रद्धालुले लगेर चढाउने परम्परा रहेको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिए । नवमीका दिन देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिइएको छ । 

पाल्पाका अग्ला डाँडामा रहेका कोतहरुमा हर्षबढाइँका साथ अग्ला डाँडामा रहेका देवीका मन्दिरमा पूजा गरिन्छ । तानसेनस्थित निशान घरमा निशान भगवती, ऐतिहासिक दसैंघरमा पूजा गरिएको छ । जिल्लाकै मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले, लिपिन्देवी, बतासे, ख्याहालगायत गाउँका कोतघर र देवीको मन्दिरमासमेत नवमीका दिनमा दर्शनार्थीको भीड लागेको छ ।


प्रकाशित : आश्विन १८, २०७९ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×