कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठौना–कटैया सडक निर्माण सुस्त

रासस

सप्तरी — सप्तरीको हुलाकी सडकको सहायक सडक खण्डको रुपमा निर्माण भइरहेका कठौना– पातो–फत्तेपुर–कटैया सडक निर्माण सुस्त छ । २०७५ जेठ ४ मा भएको सम्झौताअनुसार २०७७ मंसिर १७ सम्म सडक निर्माण सक्नुपर्नेमा हालसम्म ४८ प्रतिशत मात्रै काम सकिएको हुलाकी सडक आयोजना कार्यालयका इटहरीका इन्जिनियर सञ्जयकुमार ठाकुरले जानकारी दिए ।

अहिलेसम्म तेस्रो पटक म्याद थप भइसके तापनि सडक निर्माणले गति लिएको छैन ।

वर्षामा हिलाम्मये र हिउँदमा धूलाम्ये हुने यो सडक हुँदै दैनिक एक दर्जनभन्दा बढी यात्रुबाहक बस गुड्ने गर्छन् । डाक्नेश्वरी नगरपालिका–१ अमरलति चौकका धुव्र चौधरीले भने, ‘स्थानीयमा धुलोबाट श्वासप्रश्वासको रोग देख्न थालेको छ । अहिले सडक निर्माण भएको छैन ।’ ७० करोड ४४ लाख भ्याटसहित रकममा निर्माण भइरहेको सडकको कुल लम्बाइ १८ किलोटिर चौडाइ ११ मिटर छ ।

सात मिटर चौडाइ मात्र कालोपत्र हुने र कठौना बजारमा एक किलोमिटर र पातो बजारमा आठ सय मिटर नाला निर्माण हुने इन्जिनियर ठाकुरले जानकारी दिए । उनले ग्रामीण बस्तीमा थप नालाको आवश्यकता रहेको बताए । फत्तेपुर, कटैया गाउँमा दुई किलोमिटर सडकमा स्थानीयले मुआब्जा मागिरहेको तर कार्यालयमा उक्त सडक खण्डका लागि कुनै किसिमको मुआब्जा व्यवस्था निर्धारण नभएकोले माग पूरा गर्न नसकेको ठाकुरले बताए ।

उक्त सडक हुलाकी सहायक खण्डको रुपमा पूर्व–पश्चिम राजमार्गको कठौना बजारदेखि दक्षिण भारतीय सीमासम्म बन्ने भएको छ । तर, अहिले कठौनादेखि पातो बजारसम्म ग्राभेल मात्र भएको छ । सडक निर्माणको जिम्मा जेभीमा कान्छाराम–वाग्मती—देव एन्ड सायरले पाएका थिए ।

प्रकाशित : आश्विन १५, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?