कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा घरदैलो स्वास्थ्य कार्यक्रम

रासस

पर्सा —  वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अभियानलाई निरन्तरता दिएको छ । गत भदौदेखि वडा नम्बर ३० बाट कार्यक्रम सुरु गरिएको हो । 

वीरगन्जमा घरदैलो स्वास्थ्य कार्यक्रम

हालसम्म महानगरका वडा नं. ३०, ३१ र ३२ मा गरी तीन हजार एक सय ८२ स्थानीयको जाँच गरिएको अभियानमा सहभागी चिकित्सक उमेश सर्राफले बताए । वडा नं. ३२ मा एक हजार एक सय १० जनाको स्वास्थ्य जाँच गरिएको छ । स्थानीय तहको निर्वाचनका बेला आफूले गरेको चुनावी प्रतिबद्धताअनुसार, ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु गरी निरन्तरता दिइको नगर प्रमुख राजेशमान सिंहले बताए ।

घरदैलोमै सबै खालका जाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि जाँच गराउन आउने सेवाग्राहीको भीड लाग्ने गरेको अभियानमा सहभागी स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहाले जानकारी दिए । खासगरी वृद्धवृद्धा, गर्भवती तथा अन्य स्वास्थ्य समस्या भएका महिला कार्यक्रमस्थलमा जाँच्न आउने गरेको चिकित्सक जिन्नतुन नेशाले बताए ।

ग्रामीण भेगबाट वीरगञ्ज आउजाउ गर्न आर्थिक खर्चलगायत अन्य व्यवस्थापनमा समस्या भइरहेको बेला घरआँगनमै व्यवस्थित र सबै सुविधासहित स्वास्थ्य जाँच सुविधा पाउँदा खुसी लागेको स्थानीयले बताएका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नगरवासीलाई चिकित्सकीय परामर्श, प्रयोगशाला सेवा तथा औषधि निःशुल्क वितरण भइरहेको छ । घरदैलो स्वास्थ्य अभियान ३२ वटै वडामा सञ्चालन गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?