कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै मासु पसल

शिव पुरी

रौतहट — बजार अनुगमनका क्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले धुलाम्मे सडक छेउमा खसीको मासु झुड्याएर बिक्री गरिरहेको भेट्टायो । मासु पसल मापदण्डविपरीत रहेको भन्दै कारबाही थाल्ने चेतावनी दिइयो । तर, रौतहटमा चाडपर्वको मुखमा बजार अनुगमन गरे पनि मापदण्डविपरीतका पसललाई कारबाही गर्न सकेको छैन । 

सडकमै मासु पसल

चन्द्रपुर नगरक्षेत्रका बजारमा खसी, कुखुरा, सुंगुर, बंगुर, राँगालगायतका मासु पसल व्यवस्थित नरहेको सरकारी दाबी रहे पनि उनीहरूलाई चेतावनी दिएर मात्रै अनुगमन समिति फर्किने गरिएको छ । धुलाम्मे सडक छेउमै थापिएको पसलमा मासुमा झिँगा लागिरहेको हुन्छ । केही पसलेले त खसीको भनेर बाख्राको मासुसमेत बेचेको अनुगमनका क्रममा भेटिएको छ ।

चन्द्रपुर नगरपालिकाको पशु शाखा अधिकृत उद्धव चिमसिरयाले मासु व्यापारीलाई पसल व्यवस्थित गर्न धेरैपटक भने पनि अटेरी गरिरहेको बताए । ‘मानिसको स्वास्थ्यसित सरोकार राख्ने पसल सफा र व्यवस्थित हुनुपर्छ,’ उनले भने, ‘अनुगमनका क्रममा व्यवस्थित गर्छौं भनेर प्रतिबद्धता जनाउँछन् । तर, पछि वास्तै गर्दैनन् । जथाभावी फोहोर पारेर मासु बिक्री गर्छन् ।’

रौतहटका अधिकांश फ्रेस हाउसले मापदण्ड पालना गरेको छैन । चन्द्रपुरको पुरानो बजार र आसपासका क्षेत्रका साथै सन्तपुर, बालचनपुर, डुमरिया बजारमा अव्यवस्थित तरिकाले मासु बेच्छन् ।

स्थानीय तहले समयमा अनुगमन नगर्दा मासु व्यवसायी हौसिएका हुन् । मासु बिक्रीस्थल जालीले घेरेको हुनुपर्छ । फ्रिज राख्नुपर्छ । मासुमा पानी मिसाउन पाइँदैन । नगरपलिकामा स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार पशु वधशालाको स्थापना अनिवार्य छ । तर, यसको कार्यान्वयन भएको छैन । यहाँको अधिकांश नगरपालिकामा वधशाला नै छैन ।

चन्द्रपुर नगरपालिकाबाट खटिएका अनुगमन टोलीले मापदण्ड पूरा नगरे कारबाहीको चेतावनी मात्रै दिएर छाडिदिन्छन् । ‘व्यापारीले गल्ती स्विर्कान्छन् तर सुधार्नेतिर अग्रसर देखिन्नन्,’ चिमरियाले भने । अनुगमन टोलीले चन्द्रपुर ५ र ६ स्थित देउराली चोकका मासु पसलमा लापरबाही र अव्यवस्थित भेट्टाएको थियो । व्यापारीले बाहिर, धूलो उड्ने ठाउँमा डोरीले झुड्याएर खसी र खाट वा टेबलमा राखेर कुखुराको मासु बेच्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्लाभरिका बजारमा अनुगमन भइरहेको बताए । ‘उद्योग वाणिज्य संघमार्फत सडकका बजारमा राखिने खाद्यान्नलगायत मासु पसल व्यवस्थित गर्न भन्दै आएका छौं,’ उनले भने, ‘व्यापारीहरू हुन्छ भन्छन् । तर नियमसंगत काम गर्दैनन् । अब कडाइका साथ नियम लागू गर्छौं ।’

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?