गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ- मधेस - कान्तिपुर समाचार

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले भने- 'चुनाव जितेपछि ममाथि तेस्रोपल्ट आक्रमण भएको छ ।'
भूषण यादव

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

गाउँपालिका कार्यालयबाट आइतबार साँझ घर फर्किने क्रममा अध्यक्ष यादवमाथि आक्रमण भएको थियो । अध्यक्ष चढ्ने गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सीसा पनि फुटेको छ ।

सँगै रहेको ना २ च ८६६ नम्बरको निजी कार तोडफड गरी आगजनी गरिएको बताइएको छ । यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव पनि घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको छ ।

प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार तोडफोड र आगजनीमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ । अध्यक्षमाथि आक्रमण भएको सूचना पाउनासाथ एसपी बस्नेत घटनास्थल पुगेका थिए ।

‘आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएका छौं,’ एसपी बस्नेतले भने । गाउँपालिका अध्यक्ष यादवले कार्यालयबाट घर फर्किने क्रममा आइतबार साँझ करिब ६ बजे २०/२५ जनाको समूहमा आएको भीडले गाडी रोकेर आक्रमण गरेको बताए ।

‘आक्रमण हुन थालेपछि पछाडि निजी गाडीमा रहेका सहयोगीहरू बाहिर निस्केर रोक्ने प्रयास गरे,’ अध्यक्ष यादवले भने, ‘अनि हामी त्यहाँबाट निस्कियौँ, गाउँपालिकाको गाडीको सीसा फुटेको छ, निजी कार आगजनी गरेका छन् ।’ आइतबारको आक्रमणसँगै अध्यक्ष यादवमाथि तीनपटक सांघातिक हमला भइसकेको छ ।

‘गाउँपालिका कार्यालयमा मेरो कोहीसँग पनि वादविवाद भएको छैन,’ अध्यक्ष यादवले भने, ‘ममाथि किन आक्रमण गरे ? यो राजनीतिक विवाद हैन, यो सांघातिक हमला हो, चुनाव जितेपछि ममाथि तेस्रोपल्ट आक्रमण भएको छ ।’


प्रकाशित : आश्विन १०, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

फेरियो चन्दननाथमा ५२ हाते लिंगो [फोटोफिचर]

डीबी बुढा

जुम्ला — कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो परिवर्तन गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा यस मन्दिरमा पूजा गरेर लिंगो फेर्ने चलन छ । रातो, सेतो, रङ्गीविरङ्गी कपडाले लिंगो पुरै ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । एक वर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिंगो खडा गर्ने प्रचलन छ ।

देवताको जयघोष र पूजा आरती, भजनकिर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले जानकारी दिए । चन्दननाथ मन्दिरसँगैको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ । मन्दिरमा विजय स्तम्भसहित दुई वटा लिंगो ठड्याइने परम्पराअनुसार घटस्थापनाकै दिन खडा गरिदै आएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीहरु र सर्वसाधारणको सहभागितामा लिंगो ठड्याइन्छ । लिंगो ठड्याइसकेपछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।

जुम्लावासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन् । मार्सीधान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । मार्सी धान भित्र्याएर चन्दननाथलाई चढाएपछि घर परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठको भनाइ छ ।वि.सं. ६७० सालमा चन्दननाथ बाबालाई मूर्ति चढाएको दिनलाई विशेष महत्वका साथ हेरिन्छ । चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजा लैजान्छन् । पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ ।

विक्रम संवत् ६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य दुई हजार ९ पटक भएको देखिन्छ् । एउटा पल्टने लिंगो, (जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरुले ल्याउने) अर्को थपाले लिंगो (जो गाउँलेहरुले मात्र ल्याउने) र तेस्रो कमसले लिंगो जो सबै दलितहरु मिलेर ल्याइने गरिन्छ ।चन्दननाथ मन्दिर सिद्ध सादगी बस्ने ठाउँ हो । यहाँ लसुन, प्याज, कोदो,भट्ट, मसुरोको दाल प्रयोग गर्न पाइँदैन । बासी खानेकुरा खान हुँदैन । प्रत्येक बिहान ८ माना चामलको भोक लाग्छ । भोकको चामल पकाएर भात खानु पर्ने चलन छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी फुक्यो ल्याइन्थ्यो । अहिले सबै रोकिएको छ । मन्दिरमा अनिवार्य गाईपालन गर्नुपर्छ । यसअघि घोडी र गाईवस्तु पालिएका थिए । चन्दननाथ मन्दिरमा निष्ठाका साथ पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिर निर्माण गरेका थिए । १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।


प्रकाशित : आश्विन १०, २०७९ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×