कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीप सिकेर स्वदेशमै काम

पर्सा — पटेर्वासुगौली गाउँपालिका–२ का २७ वर्षीय अजयकुमार महतो धाँगड निरन्तर ६ वर्ष रोजगारीका लागि मलेसियामा बसे । सन् २०१५ देखि २०२१ सम्म मलेसियामा रोजगार उनी गत वर्ष स्वदेश फर्किए । मलेसिया हुँदा उद्योगदेखि शौचालय सफा गर्ने र कुखुराको प्वाँख उखेल्नेसम्मका काम पनि उनले गरे ।

सीप सिकेर स्वदेशमै काम

जाँदा लागेको १ लाख ५० हजार रुपैयाँ ऋण तिर्नेबाहेक खासै कमाउन सकेनन् । कारण थियो, हातमा कुनै सीप नहुनु ।

‘कुनै सीप वा तालिम नलिई वैदेशिक रोजगारीमा जाँदा निकै हन्डर खाएँ,’ उनले भने, ‘अहिले एक महिने प्लम्बर तालिम लिएपछि मेरो आत्मविश्वास बढेको छ, ५ दिनयता दैनिक १ हजार रुपैयाँ पारिश्रमिक पाउने गरी काम पनि पाएको छु, अब स्वदेशमै रोजगारी गर्ने हो ।’ रोजगार तथा सीप विकास तालिम केन्द्र वीरगन्जले सञ्चालन गरेको उक्त तालिममा सहभागी भएपछि आफ्नो आत्मविश्वास बढेको उनले बताए ।

अजयजस्तै अनुभव सुनाए पर्सागढी नपा–४ बर्वाटाडीका ४२ वर्षीय बृजकिशोर चौरसियाले । १२ वर्ष मलेसियामा स्टोर किपरदेखि सेल्स म्यानसम्मको काम गरेका उनले त्यहाँ खासै कमाउन सकेनन् । बरु भाइ सिकेन्द्रकुमार चौरसियालाई उतै गुमाए । दाजुको सिको गरेर परवानीपुरको एक बैंकको जागिर छाडेर रोजगारीका लागि मलेसिया हानिएका सिकेन्द्रको त्यहाँ पुगेको १४ महिना नपुग्दै कोरोना संक्रमणले मृत्यु भएको थियो । उतिबेला बृजकिशोर मलेसियामा भए पनि भाइको शवसमेत हेर्न पाएनन् । ‘मलेसियामै निधन भएको भाइको अन्तिम पटक मुखसमेत हेर्न पाइनँ, उसका २ सन्तान यहाँ टुहुरा भए, बुहारी अझै सामान्य अवस्थामा फर्किन सकेकी छैनन्,’ उनले भने, ‘अब विदेश जान्नँ, यहीं आल्मुनियम फेब्रिकेटरको तालिम लिएको छु, मसँगै तालिम लिइरहेका २० जनाको समूह बनाएर कम्पनी खोलेर यहीं व्यवसाय गर्ने योजना छ ।’

युरोपियन युनियनको आर्थिक सहयोगमा दक्षता प्रोजेक्टको व्यवस्थापनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यूएनडीपी स्किल्सको सहयोगमा पर्सा, बारा, सर्लाही र धनुषाका वैदेशिक रोजगारीबाट फर्किएका १ सय २० युवाले तालिम लिएका छन् । बिल्डिङ इलेक्ट्रिसियन, आल्मोनियम फेब्रिकेटर र नेपाली कुजिन कुकको तालिम दिइएको आयोजक संस्था रोजगार तथा सीप विकास तालिम केन्द्र वीरगन्जका कार्यकारी निर्देशक विजयकुमार श्रीवास्तवले बताए ।

‘वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः रोजगारीका लागि विदेश जानबाट रोकेर स्वदेशमै सीपमूलक तालिम दिएर रोजगारीको अवसर दिनु तालिमको उद्देश्य हो,’ उनले भने, ‘हामी सफल भएका छौं, एकमहिने तालिम लिएका युवा अब अनेक हन्डर खाएर रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमै काम गर्ने मनस्थिति बनाइसकेका छन् ।’

प्रकाशित : आश्विन ८, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?